नभएको प्रचण्ड–मोदी भेट



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हालैको भारत भ्रमणलाई लिएर विभिन्न कोणबाट टीकाटिप्पणी शुरु भएको छ ।

उत्साहका साथ भारत भ्रमणमा गएका प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट नदिएपछि उहांँको भ्रमणका बारेमा प्रश्न शुरु भएको छ । सत्तारुढ भारतीय जनता पार्टीको निमन्त्रणामा तीन दिने भारत भ्रमणमा गएका प्रचण्डलाई अन्तिम समयमा आएर भारतीय प्रधानमन्त्री मोदी भेट ‘क्यान्सिल’ गरेर सम्बन्ध विस्तारको थप अवसरको सदुपयोगमा चुकेको निष्कर्ष निस्किन्छ ।

अनुमान र आँकल जसले जे गरे पनि अध्यक्ष प्रचण्डले भारत भ्रमण फलदायी रहेको बताउनुभएको छ । उहाँंले भारत जानुअघि आफू चीन भ्रमण गर्न इच्छुक रहेको पनि बताउनु भएको छ । यस अभिव्यक्तिले उहाँ भारत भ्रमण गरेपनि चीनलाई प्राथमिकता दिनुहुन्छ भन्ने आँकलन पनि गर्नसकिन्छ । कतै भारतीय प्रधानमन्त्री मोदीले सोही कारण देखाएर भेट नदिएको हो कि भन्ने एकथरि विश्लेषकहरुले बताउँदै आएका छन् ।

स्वयम् प्रचण्डले भने आफू प्रधानमन्त्री भएर भारत भ्रमण गर्दाजस्तो आतिथ्यता यस पटकको भ्रमणमा पाएको बताउनु भएको छ । यद्यपि उहाँको यस भनाइलाई कूटनीतिक चातूर्य मात्र भएको र मोदीसँंग भेट नहुनुले भने उहाँको भारत भ्रमण अपुरो भएको टिप्पणी गर्नेहरु कम छैनन् ।

भारत र चीनबीचको सत्रुतापूर्ण सम्बन्ध रहेको बेला प्रचण्डले आफू भारत भ्रमण लगत्तै चीन जाने कुरा बताउनुले पनि भारतले प्रचण्डलाई खासै महत्व नदिएको परराष्ट्र मामिलाका जानकारहरु बताउँछन् । भेटको समय समेत निर्धाण भएर पनि भेट नदिनु भनेको भारतले नेपालका नेताहरुलाई अपमान गरेको अर्काथरि विज्ञहरुको भनाइ छ ।

भ्रमण के उद्देश्यको लागि थियो यो स्वयम् प्रचण्डले जान्ने विषय हो तर पछिल्लो समय नेपाल र भारतबीच प्रगाढ बन्दै गएको सम्बन्धलाई अझै मझबुत बनाउने उद्देश्य सहितको भ्रमण हो भने भारतीय समकक्षीले नेपाललाई कुन कुन कुरामा सहयोग गर्ने बचन दिए त्यसको बारेमा प्रचण्डले प्रष्ट पार्नु जरुरी देखिन्छ ।

चिनिया कम्युनिष्ट पार्टीका उच्च स्तरका नेताको नेपाल भ्रमण र नेपालका विभिन्न कम्युनिष्ट पार्टीका नेतासंँग भएको भेट तथा नेपालमा एकीकृत कम्युनिष्ट पार्टी हुनुपर्ने बताउँदै आएको चीनले नेकपा एमाले, माओवादी केन्द्र, नेकपा समाजवादीलाई पुनः एक ठाउँंमा उभ्याउने प्रयास गरिरहेको भन्ने समाचार बाहिरिरहेको बेला प्रचण्डको भारत भ्रमणप्रति चीन पनि सशंकित हुनु स्वाभाविक छ ।

नेपाली राजनीतिमा किङ मेकरको उपाधि पाएका प्रचण्डले आफ्नो पार्टीको परराष्ट्र नीतिलाई सन्तुलनमा राख्ने प्रयास गर्नैपर्दछ । पाँच दलीय गठबन्धनलाई टिकाउने मुख्य पात्र नै प्रचण्ड भएका कारण नेपालको राजनीतिलाई दुई धारमा विकसित भएको हेर्नचाहने मित्र शक्तिहरुका लागि पनि उहाँको सम्मान गर्नु आवश्यक छ ।

नेपाल–भारतबीचको जनस्तरको सम्बन्ध र मित्रतालाई ख्याल गरेर पनि भारतीय प्रधानमन्त्री मोदीले अध्यक्ष प्रचण्डसँग भेटघाटको समय मिलाउनैपर्ने थियो । नेपालको सरकारमा पाँच दलीय गठबन्धनको पक्षमा देखिएको भारतले निर्वाचनको मुखमा मित्र ठानेर आफूकहाँ आएका प्रभावशाली पाहुनालाई निराश बनाएर पठाउनु कूटनीतिक रुपमा राम्रो मान्नसकिन्न । पहिला नै भेटको कार्यक्रम नबनाएको भए कुरा बेग्लै थियो !

प्रतिक्रिया दिनुहोस्