काँकडभिट्टाबाट ५४ करोड ७९ लाख भन्दा बढी मूल्यको अम्रिसो निर्यात



भद्रपुर ।

काँकडभिट्टाबाट भएर ५४ करोड ७९ लाख ७५ हजार रुपियाँ मूल्य बराबरको १० हजार ९ सय ५९ मेट्रिक टन अम्रिसो निर्यात भएको छ । प्लान्ट क्वारेनटिन एवम् विषादी व्यवस्थापन केन्द्रको तथ्याङ्कले यस्तो देखाएको हो। तथ्याङ्क अनुसार अम्रिसोको निर्यात अघिल्लो चार आर्थिक वर्षयताकै यो उच्च हो ।

निर्यात व्यपार आर्थिकवर्ष २०७४÷०७५ देखि आर्थिक वर्ष २०७७÷०७८ सम्मको अवधिभन्दा निक्कै उच्च हो । आर्थिक वर्ष २०७७÷०७८ मा काँकडभिटा नाका भएर ३२ करोड ८९ लाख रुपैयाँ रुपियाँ मूल्य बराबरको ६ हजार ५ सय ७८ मेट्रिक टन अम्रिसो निर्यात भएको कार्यालयका बाली संरक्षण अधिकृत देविन्द्र साहुले जानकारी दिनुभयो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा भारत र बंगलादेशमा अम्रिसोको माग बढ्नु तथा नाका सहज हुनुले पनि अम्रिसोको निर्यात उच्च भएको बाली संरक्षण अधिकृत साहुको भनाई छ ।

भारतसहित बंगलादेशमा नेपालमा उत्पादित अम्रिसोको माग बढेको बढ्यै भएपनि विगत चारवर्षदेखि पूर्वी काँकडभिट्टानाका हुदँैं भारततर्फ जाने अम्रिसोको निर्यात बर्षेनी घट्दो क्रममा रहेको थियो । केही समय अघि हरेक बर्ष यसको निर्यात बृद्घिले माग बढ्ेसँगै निर्यात व्यपार पनि सन्तोषजनक थियो । तर,पछिल्लो समय माग बढे पनि निर्यात भने कम थियो । तर, गत आर्थिक वर्षमा भने निर्यात निक्कै उच्च रहेको साहूको भनाई छ ।

पूर्वी पहाडी जिल्लामा मुख्यः नगदेवालीको रुपमा रहेको अम्रिसो कोभिड १९ का कारण पूर्वीनाका सहज र नियमितरुपमा सञ्चालनमा आउन नसक्दा अघिल्ला आर्थिक वर्षमा निर्यात घटेको व्यवसायीहरुको भनाई छ । आर्थिक वर्ष २०७६÷०७७ मा काँकडभिट्टा नाका भएर ३४ करोड २५ लाख ८६ हजार रुपैयाँ मुल्य बराबरको १० हजार १ सय ९६ मेट्रिक टन अम्रिसो निर्यात भएको थियो । आर्थिक वर्ष २०७५÷०७६ मा ३७ करोड ४० लाख २ हजार रुपैयाँ मुल्य बराबरको ११ हजार १ सय ३१ मेट्रिक टन अम्रिसो निर्यात भएको थियो । आर्थिक वर्ष २०७४÷०७५ मा यो नाका हुदैं ४२ करोड २६ लाख ५६ हजार मुल्य बराबरको १३ हजार २ सय ८ मेट्रिक टन अम्रिसो निर्यात भएको सरकारी तथ्याङ्क छ ।

नेपालका पूर्वी पहाडी जिल्ला ताप्लेजुङ पाचथर, ईलाम र झापाका केहि केहि तथा संखुवासभा, सिन्धुली, वनेपा, हेटौडा लम्जुङ्गमा उत्पादित अम्रिसो वार्षिक रुपमा अढाईदेखि तीनलाख वण्डल भारततर्फ निर्यात हुने गरेको व्यवसायीहरुको भनाई छ । नेपाली अम्रिसो भन्दा सिलङ्गमा उत्पादित अम्रिसोले भारतीय बजार बढी ओगटेको नेपाली व्यवसायीको भनाई छ ।

सिलङ्गबाट मात्र बर्षेनी पाँच देखि साढे पाँचलाख वण्डल अम्रिसो भारतका विभिन्न बजारमा पुग्ने गरेको बताइएको छ । नेपालबाट निर्यात हुने अम्रिसोले भारतको दिल्ली, बम्बै, कलकत्ता, राजस्थान, हैदरावादलगायतको बजार लिने गरेको छ । अम्रिसोको निकासी प्रकृया कुनै झण्झटिलो नभएका कारण व्यवसायीहरुले सहजैरुपमा निर्यात गर्ने गरेको कुचो व्यवसायी राजेश्व मण्डलको भनाई छ ।

निर्यात वापत सरकारले कृषिजन्य वस्तु भएका कारण भ्याट छुट गरेको छ । झापामा मात्र तीनदर्जन बढी कुचो व्यबसायी रहेका छन् । झापाली कुचो व्यवसायबाट प्रत्यक्ष अप्रत्यक्षरुपमा दुईहजार बढीले रोजगार पाएका छन् । कुचो व्यवसायीले बिभिन्न स्थानबाट काँचो अम्रिसो ल्याएर भण्डारण गर्ने, तीन चार घाम सुकाउने त्यसपछि दुई अढाई केजीको मुठ्ठा बनाई ५० केजीको बण्डल बनाएर निर्यात गर्ने गरेको छन् । यसले गर्दा धेरैलाई रोजगारको अवसर मिलेको नेपाली व्यवसायीहरुको भनाई छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्