निर्माण कार्य सपन्न नहुँदै उपभोक्ता समितिलाई भुक्तानी



रौतहट ।

निर्माण कार्य सम्पन्न नहुदै बृन्दाबन नगरपालिकाले एक उपभोक्ता समितिलाई भुक्तानी दिएको खुलेको छ । प्रदेश सरकार पर्यटन पूर्वाधार कार्यक्रम अन्तर्गत सिमसार क्षेत्र बृन्दाबन–१ बल्लेरीको लागि बिनियोजित बजेटबाट प्रतिक्षालय, सडक ढलान लगायतका निमार्ण कार्य सम्पन्न नहुदै भुक्तानी दिएको खुलेको छ ।

निर्माण कार्य समेत मापदण्ड अनुसार नभएको गुनासो स्थानीयको रहेको छ । बृन्दाबन नगरपालिकाका ईन्जिनियर दिलिप यादबले बजेट फ्रिज हुन नदिन नगरप्रमुख बिनोद प्रसाद कुर्मीको निर्देशनमा लागत मुल्याङकन बनाइदिएको बताउनु भयो । काम सम्पन्न नहुदै मूल्याङकन गरी भुक्तानी हुनुमा मिलेमत्तोको आंशका गरिएको छ ।

उक्त योजनाको भुक्तानी कोष तथा लेखा नियन्त्रक कार्यालय गौरबाट भएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालय गौरका प्रमुख अर्जुन बरालले भुक्तानी आदेश माग भई आएकाले भुक्तानी गरिएको बताउनु भयो । प्राबिधिक स्टीमेट तयार भएपछि भुक्तानी आदेशको लागि सिफारिस गरिएको लेखापाल सीताराम पालले बताउनु भयो । उक्त स्थानमा निर्माण भैरहेको सडक ढलानमा बालुवा, ग्रयाबेलको मात्रा बढी भएको र पानी नराख्दा ढलान सुख्खा भएको छ । यस्तै दुई वटा प्रतिक्षालयको छत ढलान नभएको अबस्थामानै उपभोक्ता समितिको खातामा भुक्तानी भएको छ ।

निर्माण कार्यका लागि गठन भएको उपभोक्ता समितिका अध्यक्ष संजय पटेलले समेत आफू अध्यक्ष भएको समितिको नाम थाहा नभएको बताउनु भयो । सो कार्यको लागि गठन भएको उपभोक्ता समितिको बिषयमा आफू अनविज्ञ रहेको बृन्दाबन नगरपालिका वडानम्बर १ का अध्यक्ष रामनाथ सहनीले बताउनु भयो । उहाले भन्नु भयो उक्त स्थलमा माटो भर्ने, ग्राबेल, ढलान लगायतको कार्य गरिनेछ ।

सो सिमसार क्षेत्रको बिकासका लागि बृन्दाबन सिमसार क्षेत्र संरक्षण तथा बिकास समिति क्रियाशिल रहेपनि नगरपालिकाले छुट्टै उपभोक्ता समिति बनाएर निर्माण कार्य गराइएको हो ।

प्रतिक्रिया दिनुहोस्