पनौती नगरमा कर्मचारी खटाएर अमानतबाट राजस्व उठाउन शुरु

अनियमितता रोक्न सबै उपाय अपनाइने नगरप्रमुख भण्डारीको भनाई



पनौती ।

पनौती नगरपालिकाले ढुंगा, गिट्टी, बालुवा, वेश ग्राभेल माटो आदिको विक्रि स्रोत उपयोग शुल्क सम्बन्धी ठेक्का व्यवस्थापनको लागि पटक पटक सूचना गर्दा पनि ठेक्का नपरेपछि कर्मचारी मार्फत राजस्व संकलन गर्न थालेको छ ।

पनौती नगरको आम्दानीको मुख्य स्रोत रहेको खानीजन्य वस्तुको निकासी कर उठाउने ठेक्काको पछिल्लो समयसिमा श्रावण १० गते तोकिएको छ । यो समयसिमा भित्रमा पनि ठेक्का पर्ने सम्भावना न्यून रहेको अवस्थामा नगरले व्यवस्थित तरिकाले राजस्व संकलन गर्न तीन सिफ्टमा कर्मचारी खटाएको छ ।

पनौती नगरपालिका क्षेत्र भित्रबाट उतपादन हुने खानीजन्य बस्तुको कर संकलन गर्न वार्षिक ३२ करोड ७६ लाखको ठेक्का आव्हान गरेपनि ठेक्का नपरेपछि कर्मचारी खटाएर अमानतबाट राजस्व संकलन शुरु गरिएको प्रमुख प्रशासकिय अधिकृत प्रणराज न्यौपानेले बताए ।

कर्मचारी मार्फत कर संकलन गर्दा अनियमितता हुने गुनासो आइरहेको बेला आइतवार नगरप्रमुख रामशरण भण्डारी प्रमुख प्रशासकिय अधिकृत न्यौपाने, वडा नम्बर ८ का अध्यक्ष वेदप्रसाद वञ्जारा लगाएतको टोलिले अनुगमन गरेका छन् । कर रकममा हुने अनियमितता हटाउन कर संकलन केन्द्र वरिपरि देखिने गरी सिसि क्यामरा जडान गरिएको भन्दै प्रमुख प्रशासकिय अधिकृत न्यौपाने भन्छन् – सम्भावित अनियमितता रोक्न हामिले कर संकलनमा खटिएका कर्मचारीलाई कडाइका साथ निर्देशन दिएका छौं ।

क्रस चेकको लागि नगर प्रमुखसँग समन्वय गर्ने गरी प्रहरी समेत परिचालन गरेको स्रोतको भनाई छ । खानिजन्य बस्तु बोकेर आउने यातायातको संख्या उल्लेख गर्नेगरी कर संकलन केन्द्र भन्दा केहि तल प्रहरीको चेकपोष्ट समेत राखिने भएको छ । साथै श्रीखण्डपुर नजिक रहेको तौलपुल क्षेत्रमा छड्के चेकजाचको लागि नगरका कर्मचारी र प्रहरी परिचालन गर्ने योजना नगरले बनाएको छ ।

कर संकलन गर्दा विलमा गाडी नम्बरका साथै समय पनि उल्लेख गरिएको छ । व्यवसायीहरुले भने सडकको मर्मत सुधार नभएको बारे नगरमा गुनासो गरिरहेका छन् । सडकको मर्मत सुधार जायज गुनासो भएको भन्दै नगर प्रमुख भण्डारीले आइतवार नै बोटोको मर्मत सुधारको लागि प्राविधिक खटाएर तत्काल मर्मत गर्न निर्देशन दिएका छन् । एकसाता भित्र सडक मर्मत भैसक्ने भन्दै उनले व्यवसायीको गुनासो सम्बोधन हुने बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्