सडक निर्माणका लागि ३ करोड विनियोजन



विनोदसिंह विष्ट, बैतडी

संघीय सरकारले बैतडीका ५ सडकलाई प्राथमिकतामा राखेको छ । आर्थिक वर्षमा काम हुने गरी सरकारले वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमअन्तर्गत ५ सडकका लागि बजेट विनियोजन गरेको हो ।

जिल्लाको पाटन–कैलपाल–देवल सडकका लागि ५० लाख, धामीगाउँ–बाइम–मनकुडा –पुर्चौंडी सडकका लागि ५० लाख, देउझाडी–नगराउँ–धामीगाउँ–डिलाशैनी सडकका लागि ५० लाख, सकार–बयलचौर–पाटन सडकका लागि ५० लाख र सतबाँझ –श्रीभावर सडकका लागि १ करोड बजेट विनियोजन भएको छ ।
संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत् यी सडकहरू निर्माण हुने बताइएको छ ।

यसअघि संघीय सरकारको अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत बैतडीका लागि पनि बजेट विनियोजन भएको थियो । पाटन नगरपालिकाका लागि ४९ करोड ३६ लाख बजेट विनियोजन भएको छ । यस्तै दशरथचन्द नगरपालिकाका लागि ४७ करोड २९ लाख, पुर्चौंडी नगरपालिकाका लागि ४८ करोड ४९ लाख र मेलौली नगरपालिकाका लागि ३८ करोड १५ लाख बजेट विनियोजन भएको छ ।

यस्तै गाउँपालिकामा सबैभन्दा बढी दोगडाकेदार गाउँपालिकाका लागि ३८ करोड ९० लाख बजेट विनियोजन भएको छ । यस्तै डिलाशैनी गाउँपालिकाका लागि ३६ करोड ४४ लाख, पञ्चेश्वर गाउँपालिकाका लागि ३० करोड ८४ लाख, सिगास गाउँपालिकाका लागि ३२ करोड ३७ लाख, सुर्नया गाउँपालिकाका लागि ३२ करोड ४० लाख र शिवनाथ गाउँपालिकाका लागि २५ करोड ९९ लाख विनियोजन भएको छ ।
बैतडीमा ६ गाउँपालिका र ४ नगरपालिका गरी १० स्थानीय तह रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्