तानसेनले शुरू ग-यो ई–पे सेवा



पाल्पा । 

तानसेन नगरपालिकालाई तिर्नुपर्ने कर अब विद्युतीय माध्यमबाट समेत सम्भव भएको छ । नगरपालिकाले नगरपालिकाले जिल्लामै पहिलोपटक ई–पेमेन्ट सेवा शुरू गरेपछि यो कार्य सम्भव भएको हो ।

कर भुक्तानी प्रणालीबाट करदाताहरूले आफ्नो करदाता पोर्टल र इन्टरनेटको मध्यमबाट घरमै बसेर कनेक्ट आईपीएस, खल्ती, प्रभु पे र आईएमई पेजस्ता अनलाइन भुक्तानीको मध्यमबाट कर तिर्न सक्ने नगरपालिकाका सूचना प्रविधि अधिकृत प्रकाश गैरेले बताउनुभयो । यो सुविधापश्चात् सेवाग्राहीलाई कर बुझाउनका लागि सहज भएको छ ।

ई–पेमेन्ट सेवा शुरू भएपछि समय र श्रमकोसमेत वचत हुने भएको छ । नगरवासीले वार्षिक रूपमा तिर्नुपर्ने कर घरमै बसेर भुक्तानी गर्नसक्ने तथा विभिन्न शीर्षकमा तिर्नुपर्ने करका लागि समय र अतिरिक्त खर्च गर्नुपर्ने झन्झट अब हटेको नगरपालिकाका प्रवक्ता यादवसिंह कार्की बताउनुहुन्छ । नागरिकलाई सहजता र समय अनुसारको प्रविधि प्रयोगमार्फत् सेवा प्रवाहलाई चुस्त दुरुस्त गर्न नगरपालिका लागिपरेको समेत उहाँले जनाउनुभयो ।

ई–पेमेन्टबाट तानसेन नगरपालिकाको एकीकृत कर प्रणालीमा दर्ता भएका करदाताले सम्पत्ति तथा भूमिकर र व्यवसाय कर साथै अन्य कर अनलाइनबाट बुझाउन सक्ने नगरपालिकाले जनाएको छ ।

सूचना प्रविधि अधिकृत गैरेका अनुसार तानसेन नगरपालिकाको एकीकृत कर प्रणालीमा दर्ता भएका कर दाताले आफ्नो कर आईडी लिँदा फोन नम्बर र इमेल आईडी एकपटक रजिस्ट्रेसन गरी नगरपालिकाको अनलाइन करदाता पोर्टलमा दर्ता गर्न सक्ने र उक्त फोनमा करदाता प्रमाणीकरण र इमेलमा कर तिरेको बिलसमेत प्राप्त हुने जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्