भिडियो गेम प्रतियोगिताको स्वरूप बन्दै



काठमाडौं ।

नेपालमा पब्जीका साथै अन्य भिडियो गेम खेल्नेहरू प्रशस्तै भेटिन्छन् । प्रायजसो देशमा उमेरको कुनै मापदण्ड नै छैन ।

सानो उमेरदेखि पाका उमेरका मान्छेले समेत भिडियो गेम खेलिरहेका छन् । नेपालमा पनि स–साना भाइबहिनीहरूले खेलिरहेका हुन्छन् । लकडाउनले गर्दा पनि स–साना भाइबहिनीहरूले मोबाइल धेरै प्रयोग गरिरहेका छन् । उनीहरूमा पढाइमा भन्दा पनि भिडियो गेममा लगाव बढ्दै गएको छ ।
त्यसो त भिडियो गेमको पनि छुट्टै प्रतियोगिता आयोजना भइरहेको छ ।

भिडियो गेमलाई खेल प्रतियोगिताको स्वरूप दिएको छ नेपाल ई–स्पोर्टस् संघले । हालै तेस्रो संस्करणको नेपाल ई–स्पोर्टस् च्याम्पियनसिप आयोजना पनि गरियो । तर, यो नियम कानुनअनुसार आयोजना भएको छ । नियम कानुनअनुसार खेलिने नेपाल ई–स्पोर्टस् संघका प्रमुख प्रतिनिधि सुमिन श्रेष्ठले बताउनुभयो ।प्रमुख प्रतिनिधि श्रेष्ठले नेपाल समाचारपत्रलाई भन्नुभयो—यसमा नियम छ, आजभोलि बच्चाहरूले खेलिरहने भिडियो गेमका लागि उमेरको मापदण्ड रहेको छ । त्यसैले, हाम्रो प्रतियोगितामा उमेर किटान गरेर मात्र भाग लिन दिन्छौँ ।

भिडियो गेमका लगि १६ वर्ष मुनिका भाइबहिनीलाई खेल्न अनुमति दिइँदैन, यो अन्तर्राष्ट्रिय नियममा पर्छ । त्योभन्दा बढी उमेरकाले भने खेल्न पाउँछन् । बढी उमेर भनेर ५०–६० वर्षका ले समेत खेल्न पाउने प्रावधान रहेको छ । केवल १६ वर्षमुनिकाले सहभागिता जनाउन पाउँदैनन् ।

हिंसा पनि देखाउन पाइँदैन

भिडियो गेममा गोली हान्ने, मान्छे मार्नेजस्ता हिंसात्मक दृश्य धेरै नै हुन्छन् । यस विषयमा पनि केही नियम लागू गरिएको छ । श्रेष्ठले यसबारे बताउनुभयो—‘आईईएसएफमा सामान्य खेल नै खेलिन्छ । तर, एसियन गेममा भने केही नियम लगाउने गर्छ । सामान्य खेलमा मान्छे मार्ने, गोली हान्नेजस्ता दृश्य हुन्छन् । तर, एसियन गेममा भने गोली हानेको, मान्छे मरेको, रगत निस्केको जस्ता गम्भीर दृश्य देखाउन मिल्दैन ।

तेस्रो संस्करण सम्पन्न

शनिबार सम्पन्न च्याम्पियनसिप २०२२ सम्पन्न भयो । सन् २०१८ देखि शुरू भएको यो प्रतियोगितामा ५ वटा विधा राखिएको थियो । उक्त विधामा डोटा २, सीएस–गो, एमएलबीबी, टेक्केन ७ र पब्जी रहेका छन् । डोटा २ मा ८ टोलीको प्रतिस्पर्धा भएकोमा भेडोसले फाइनल जितेको थियो । भेडोसले टेन्जीकु ग्याङलाई हराएको थियो । भेडोस टोलीबाट अभिनव मेल शाक्य, प्रजोल इन्कागनिटो विष्ट, रमन आरथ्रीएन श्रेष्ठ, सेसन सेसन कार्की र लुजा डी एसएच रेया महर्जनले खेलेका थिए ।

यस्तै, सीएस गोमा लिजन टोली जितेको थियो । दुई टोलीले मात्र भाग लिएको उक्त विधामा लिजनले ख्याक टोलीलाई हराएको थियो । उक्त टोलीलाई विजय तुल्याउन अभियान गौतम डिलर एक्स, आरम्भ अधिकारी शार्प वाई, रियाल सिंह, औरास कोइराला, स्वर्णिम शाक्य र सौरब डंगोल थीनले शानदार प्रदर्शन गरेका थिए ।

यसैगरी, मोबाइल लिजेन्डस् बेंग बेंग (एमएलबीबी) तर्फ एभेन्जर्स टोलीले पिङ पङ टोलीलाई हराएको थियो । एभेन्जर्सबाट आयुष राई याहिको, यावेश सुनवार डिभाइन, कबिन कार्की ली, सुदेश राई लेमन र किशोर गुरुङ हाइब्रिडले खेलेका थिए । यो विधामा १७ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

अर्को विधा टेकेन ७ मा जम्मा तीन खेलाडीको सहभागिता थिए । यो विधाको विजेता दुर्गेश घर्तीमगर भएका थिए । पब्जीमा भने सबैभन्दा बढी २ सय ८४ जनाको सहभागिता रहेको थियो । यसमा ५७ टोलीको सहभागिता थियो । विश्वमै लोकप्रिय रहेको भिडियो गेम पब्जीमा हाई भोल्टेजले डीआरएस गेमिङ टोलीलाई हराएको थियो । हाइ भोल्टेजका विजेता खेलाडी मलिक कार्की, प्रवीण तामाङ, सुप्रीम अधिकारी, कुशल खत्री र दिवस कुमार श्रेष्ठ रहेका छन् । यसपटक प्रतियोगितामा १ सय ७० टोलीबाट ४ सय ५० प्रतिस्पर्धीले खेलेका थिए ।

बालीमा खेल्ने मौका

पाँचै विधाका विजेता खेलाडीले यसै वर्षको अन्त्यमा इन्डोनेसियामा हुने १४औँ विश्व ईस्पोर्टस् च्याम्पियनसिप २०२२ मा खेल्न पाउनेछन् । तर, यसको लागि क्षेत्रीय छनोटमा प्रतिस्पर्धा गर्नुपर्छ । यसमा खेलेर छनोट भएमा बालीमा खेल्न पाउनेछन् । श्रेष्ठले प्रतियोगितामा खेल्न सकिने बताउनुभयो-‘हाम्रा खेलाडी राम्रा छन् । जहाँसम्म हुन्छ नेपाली खेलाडीले बालीमा खेल्न पाउनेछन् । यो अनलाइनमा खेल्नुपर्ने हुन्छ ।’ बालीमा प्रतियोगिता शायद नोभेम्बर, डिसेम्बरमा आयोजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्