तानसेन सिमेन्ट भारत निर्यात शुरू



यमलाल भुसाल, बुटवल ।

नेपाली बजारमा आत्मनिर्भर बन्दै गरेको सिमेन्ट देश बाहिर पनि बजारीकरण हुन थालेको छ । पाल्पा सिमेन्टको उत्पादन तानसेन सिमेन्टले आफ्नो उत्पादन पहिलोपटक छिमेकी देश भारत निर्यात शुरू गरेको छ । स्थानीय र राष्ट्रियस्तरमा बजारीकरण गर्दै आएको पश्चिम नवलपरासीको सुनवलमा रहेको पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको उत्पादन तानसेन सिमेन्ट भारतमा बिक्रीका लागि शुक्रबार एक कार्यक्रम गरी शुभारम्भ गरेको हो ।

सिमेन्टको बजारीकरण र प्रर्वद्धन गर्नुपर्ने हालैको बजेटमार्फत् सरकारले सहुलियत दिने घोषणा गरेसँगै पाल्पा सिमेन्टको उत्पादन तानसेन सिमेन्टले भारत निर्यात गर्ने शुरू गरेको हो । भारततर्फको निकासीले आर्थिक गतिविधिलाई क्रियाशील गराउने र यसले सिमेन्टमा मात्र नभई सबै क्षेत्रलाई सहयोग पु¥याउने पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडका जनसम्पर्क अधिकारी जीवन निरौलाले बताउनुभयो ।

नेपाल आयत गर्ने देशको सूचीमा रहे पनि सिमेन्टमा आत्मनिर्भर भई भारततर्फ पनि निर्यात गर्नु ठूलो उपलब्धि भएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो ।
पाल्पा सिमेन्ट इन्डष्ट्रीजद्वारा उत्पादीत तानसेन सिमेन्ट भारततर्फ निकासी गर्नु गर्वको विषय भएको सुनवल नगरपालिका प्रमुख विमला अर्यालले बताउनुभयो । सुनवलमा रहेको सिमेन्ट नेपालमा मात्रै नभई भारतमा पनि निकासी हुनु सुनवलको लागि गौरवको कुरा भएको नगर प्रमुख अर्यालको भनाइ छ ।

नेपालमा ५० भन्दा धेरै सिमेन्ट उद्योगहरू सञ्चालनमा रहेका छन् । जसमध्ये पाल्पा सिमेन्ट इन्डस्ट्रिजसहित १५ वटा सिमेन्ट उद्योगकले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएका छन् ।नेपालमा सिमेन्ट उद्योगहरूको वार्षिक उत्पादन क्षमता करिब २ करोड २० लाख टन रहेकोे छ । जसमध्ये पाल्पा सिमेन्टले दैनिक १८ सय टन उत्पादन सिमेन्ट उत्पादन गर्दै आएको छ । पाल्पाको माथागढी ७ रहबासमा आफ्नै चुनढुंगा खानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्