विमानस्थल भरपर्दो र व्यवस्थित सञ्चालनमा चुनौती



  • शिशिल चित्रकार

नेपालभर सञ्चालित अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलको विस्तार, दैनिक कार्य सञ्चालन एवं कार्य अनुगमनमा जोड दिनुपर्ने देखिन्छ । विमानस्थल सञ्चालनमा यससँग सम्बद्ध विभिन्न निकायहरुको बेग्लाबेग्लै भूमिका रहन्छ । मूलतः सबैको प्रयासमा सुरक्षित, भरपर्दो र नियमित हवाई सेवाबाट यात्रालाई सहज र सुगम बनाउनुपर्छ । परन्तु देशमा विद्यमान विमानस्थलहरुमा विभिन्न समस्याहरु आइपर्ने गरेका छन् । यात्रुले हैरानी बेहोर्नुपरेका कुरादेखि दुर्घटनाका समाचार पनि बैला–बेलामा आइरहेकै छन् । भर्खरकै कुरा गर्ने हो भने, गत जेठ महिनामा मानवीय क्षतिसहितको हवाई दुर्घटना व्यहोर्नुपरेको अवगत नै छ । त्यसैले हरेक क्षेत्रमा सुधारको गुञ्जायस रहेजस्तै विमानस्थल सञ्चालनमा पनि समयसाक्षेप परिवर्तन गर्नुपर्ने देखिन्छ । यसमा शायद कसैको विमति नहोला ।

गैरसैनिक हवाई उडान (सिभिल एभिएसन) ऐनको प्रस्तावनामा उल्लेख छ– ‘हवाई यातायातबाट राष्ट्रलाई अधिकतम फाइदा प्राप्त हुने गरी सिभिल एभिएसनको विकासलाई प्रोत्साहन हुने परिस्थिति सिर्जना गर्न सिभिल एभिएसनलाई नियन्त्रित र व्यवस्थित गरी शान्ति र व्यवस्था एवं सर्वसाधारण जनताको सुविधा कायम राख्न वाञ्छनीय भएकोले….।’ यस प्रस्तावनाले हवाई उडान व्यवस्थित र सुविधासम्पन्न हुनुपर्नेमा जोड दिएको स्पष्ट छ । त्यस्तै विभिन्न परिभाषाहरुमध्ये विमानस्थल क्षेत्र भन्नाले ‘विमानस्थल वा हवाई उडानको सुरक्षित सञ्चालन तथा नियन्त्रण गर्ने वा तत्सम्बन्धी आवश्यक सूचना तथा जानकारी आदानप्रदान गर्ने कामको निमित्त प्रयोग हुने कुनै यन्त्र तथा सञ्चार वा उड्डयन सहाय (नेभिगेसनल एड) उपकरणहरू जडान भएको वा नभएको जुनसुकै स्थान, भवन, टहरा, टावर, जहाज, डुङ्गा र घाट सम्झनुपर्छ’ भन्ने उल्लेख छ । यो कुरा पनि विशेष मनन योग्य छ ।

सुरक्षित र भरपर्दाे तथा सुव्यवस्थित विमानस्थल सञ्चालनका हेतु विमानस्थलहरुमा कार्यरत सबै निकायहरुको आधिकारिक र सम्बद्ध सेवाका जनशक्ति भए-नभएको बारे विवेचना आजको प्रथम आवश्यकता हो । सेवाको पूर्णताविना सुव्यवस्थित विमानस्थल सञ्चालनको परिकल्पना गर्नु शायद व्यर्थै होला । यस परिवेशमा नेपाली शब्दकोषमा दिइएको आयोजनाको परिभाषा उल्लेख गर्न सान्दर्भिक हुन्छ– ‘विशेष कार्य वा कार्यक्रमका लागि गरिने प्रबन्ध, बन्दोबस्त, आयोजना’, ‘निश्चित अवधिमा पूरा हुने विकासको योजना वा कार्यक्रम, योजना, परियोजना ।’यो परिभाषाबमोजिम विशेष कार्य वा कार्यक्रमअन्तर्गत विमानस्थल निर्माणको शुरुआती चरणमै गर्नुपर्ने आवश्यक गृहकार्य, विमानस्थल सञ्चालनार्थ चाहिने आवश्यक जनशक्ति (सबै क्षेत्र र संख्यात्मकसमेत), सम्बद्ध निकाय (सरकारी, गैरसरकारी निकाय) सँगको सहकार्य, समन्वयको पहिचानसमेत आयोजनाका अंग हुन् कि होइनन् ? आयोजना भन्नाले निर्माण मात्र नभई यसको सञ्चालनसम्मको सम्पूर्ण प्रक्रियागत कार्यविधिसम्म समेटिने हो भने यसको व्यापकता अझ वृद्धि भई आजोजना सम्पन्नपश्चात् सही सञ्चालनमा समेत टेवा पुग्न जाने निश्चित छ ।

यस परिवेशमा आशंका गर्न सकिन्छ– परिपूर्ण र परिपक्व कार्यक्रमहरु तथा एकीकृत आयोजना, योजनाविना भिन्नाभिन्नै कार्यक्रमहरु निर्माण गरी सम्रगतामा सुरक्षित विमानस्थल सञ्चालनभन्दा फरक परिवेशमा रमाउने प्रवृत्ति त विकास भइरहेको छैन ? यी र यस्ता तथा यात्रु सरोकारका अन्य प्रश्नहरुमा समेत गहन विवेचनाको आवश्यकता नकार्न सकिँदैन । यदि सबै निकायको पूर्णताविना तथा आवश्यक र सम्बन्धित सेवाअन्तर्गतको सूचना प्रदान गर्न नसकेमा हवाई यातायात खतराजन्य अवस्थामा उडान भरिरहेको अवस्था मान्न सकिन्छ कि सकिँदैन ?

विमानस्थलभित्र संलग्न हुने सबै सरकारी एवं गैरसरकारी निकाय, वायुसेवालगायत सबै निकायहरुले गैरसैनिक हवाई उडान ऐन २०१५ का प्रावधानहरुको सही कार्यान्वयनतर्पm दत्तचित्त भई सुव्यवस्थित विमानस्थल सञ्चालन र सुरक्षित हवाई यातायात सेवा प्रदान गर्न सत्प्रयास गर्नुपर्ने आजको आवश्यकता महसुस भएको छ ।

विभिन्न विमानस्थलको भौगोलिक भिन्नताबमोजिम हुने पशुपक्षीको व्यवस्थापन, भवितव्य दुर्घटना हुँदा चाहिने भौतिक उपकरणहरुको तर्जुमा, उपयुक्त जनशक्तिको व्यवस्थापन, निजी, सरकारी एवं गैरसरकारी निकायहरुसँग गर्नुपर्ने सहकार्य तथा समन्वयका लागि संयन्त्र विकास, कथंकदाचित अप्रिय दुर्घटना भई जनधनको क्षति भएमा शोकाकूल परिवारप्रतिको दायित्व निर्वाहमा समेत जोड दिनुपर्ने देखिन्छ । यी कुराहरुलाई विमानस्थलको कार्यक्षेत्रका अपरिहार्य अंगका रुपमा विकास गर्नुपर्ने खाँचो देखिन्छ ।

यस सन्दर्भमा मुलुकी फौजदारी कार्यविधि (संहिता ऐन) २०७४ दफा २ अन्तर्गत बुँदा (घ) र (ठ) मा उल्लेख भएका उजुरी तथा फौजदारी मुद्दा र सो सम्बन्धी अनुसूची १ बमोजिम गैरसैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन दफा ९ (क) को अपराध र सजाय लागू हुने उल्लेख भएको यहाँ स्मरणीय छ । त्यसैले हवाई दुर्घटनामा जनधनको क्षति हुनबाट बचाउन, फौजदारी मुद्दाबाट बच्न, स्तरीय एवं भरपर्दो सेवा प्रदान गर्न, सही र आवश्यक सूचनाको प्रवाह गरी विश्वसनीय सेवा दिन सबै निकायको कर्तव्य हुन आउँछ ।
गैरसैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन दफा ९ (क) मा अपराध र दण्ड सजायका प्रावधान अनुरुप अनधिकृत प्रवेश, हवाई क्षेत्र अतिक्रमण,

वायुयानको गैरकानुनी कब्जा र अपहरण तथा उडानमा रहेका वायुयानभित्र कुनै व्यक्तिविरुद्ध हिंसात्मक काम कारबाही गरेमा, सेवामा सञ्चालित वायुयानलाई नष्ट गरेमा वा त्यस्तो वायुयानलाई उडानको लागि असक्षम बनाई वा उडानमा त्यसको सुरक्षामा खतरा हुने सम्भावना पारी क्षति पारेमा, असत्य हो भन्ने जानी–जानी कुनै सूचनाको सञ्चार गरेर उडानमा रहेको वायुयानको सुरक्षामा खतरा पैदा भएमा ती कार्यहरुलाई हवाई उडानको सुरक्षाविरुद्धको अपराधअन्तर्गत राखिएको छ । यस्ता कार्य गर्ने-गराउनेका विरुद्ध विभिन्न दण्डात्मक व्यवस्थासमेत गरेको देखिन्छ ।

यस प्रसंगमा कुनै सूचना अपुरो भयो वा दिनुपर्ने सूचना नदिएको अवस्थामा विमानस्थल क्षेत्रमा कार्यरत सबै निकायहरु अझ चनाखो र आवश्यक समन्वयतर्पm थप क्रियाशील रहनुपर्ने प्रस्ट हुन्छ । यी सबैको सन्दर्भमा दुईवटा उक्तिहरु प्रस्तुत सान्दर्भिक ठान्दछु । (१) ‘वृक्ष काट्नका लागि तपाईं मलाई ६ घन्टा दिनू र म पहिलो चार घन्टा बन्चरोमा धार तेज गर्न लगाउँछु’ –अब्राहम लिंकन । (२) ‘यदि शिक्षाबाट जीवनको आदर्श केही उच्च हुँदैन भने पढाइ बेकार हो’ –महात्मा गान्धी ।

यी प्रसंगहरुलाई समेत मनन गर्ने हो भने आज विमानस्थल सञ्चालनमा भइरहेको चुनौती, राम्रो वा नराम्रो भइरहेको, समस्याग्रस्त रहेको वा नरहेको, सञ्चालन ठीक भइरहेको वा बेठीक भइरहेको बारे भएका मत–मतान्तरहरुलाई व्यक्तिगत इच्छा, पढाइको भिन्नता, विनापूर्वतयारी आदिको प्रतिफलसिबाय अरु के मान्न सकिन्छ र ? सुरक्षित र भरमर्दो विमानस्थल सञ्चालनका लागि आज भौतिक, मानवीय, कार्यप्रविधि आदिमा विशेष विश्लेषणको जरुरी महसुस हुन्छ ।

समयसाक्षेप परिवर्तन अनिवार्यता हो भने यसको लागि पनि विमानस्थल निर्माणदेखि सञ्चालनसम्मको एकीकृत एवं विहङ्गम दृष्टिसहितको आयोजना नै सुरक्षित विमानस्थल सञ्चालनको लागि अपरिहार्यता हो ।
(लेखक चित्रकार नेपाल नागरिक उड्डयन प्राधिकरणका भू.पू. कर्मचारी (निर्देशक) हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्