आफ्नो जीवनमा वास्तविक आवश्यकताको पहिचान



यो संसार आवश्यकताको आधारमा सञ्चालन हुन्छ । मानिसले नै यी आवश्यकताको सृजना गर्छ अनि त्यसलाई पूरा गर्ने कोशिश गर्दछ । हामी जीवनमा एकैपटक सबैथोक पाउने अपेक्षा गर्छौँ । हाम्रो प्रवृत्ति नै यस्तो छ । अनि, आफ्नै विचार लिएर दुनियाँमा अघि बढ्छौँ । कुनै बेला हामी आफ्नै विचारका आधारमा संसारका हरेक कुरालाई बुझ्न खोज्छौँ । तथापि, कतिपय चीजलाई केवल अनुभवमात्रै गर्न सकिन्छ ।

दुईवटा कमिलाका बारेमा एउटा कथा छ । एउटा कमिलो गुलियो पहाडमा बस्ने गथ्र्यो । अर्को कमिलो नुनको पहाडमा बस्ने गथ्र्यो । एक दिन गुलियो पहाडमा बस्ने कमिलो कतै गइरहेको थियो । त्यसै क्रममा बाटोमा त्यो नुनको पहाडमा बस्ने कमिलोसँग उसको भेट हुन पुग्छ । त्यसपछि गुलियो पहाडमा बस्ने कमिलोले नुनको पहाडमा बस्ने कमिलोसँग सोध्छ, ‘तिमी को हौ अनि कहाँबाट आयौ ?’ त्यसपछि नुनको पहाडमा बस्ने कमिलोले भन्यो, ‘म त नुनको पहाडमा बस्ने गर्छु ।’ गुलियो पहाडमा बस्ने कमिलोले केवल गुलियो स्वादका बारेमा जान्दथ्यो । उता नुनको पहाडमा बस्नेले पनि नुनको मात्रै स्वाद चाखेको थियो । ती दुवै एक–आपसमा कुराकानी गर्न थाले ।

नुनको पहाडमा बस्ने कमिलोले सोध्यो, ‘यो गुलियो भनेको कस्तो हुन्छ ?’ तब गुलियो पहाडमा बस्ने कमिलोले उसलाई सम्झाउँदै भन्यो, ‘यो एकदमै गुलियो हुन्छ । यसको स्वाद असाध्यै मीठो हुन्छ ।’ तथापि, नुनको पहाडमा बस्ने कमिलोले बुझ्न सकेन । त्यसपश्चात् गुलियो पहाडमा बस्ने कमिलोले भन्यो, ‘तिमीलाई अब म आपूm बस्ने पहाडमा लिएर जान्छु । किनभने, मैले जतिसुकै समय लगाएर वर्णन गरे पनि त्यसको कुनै अर्थ हुँदैन । तिमी आपैmँले चाख्यौ भने तिमीले नै यो के हो भन्ने कुरा थाहा पाउनेछौ ।’

जाने दिनमा नुनको पहाडमा बस्ने कमिलोलाई शङ्का लाग्यो । के थाहा, मलाई गुलियो मन नपर्न पनि सक्छ । यसर्थ केही नुन आफ्नो साथमा लिएर जान्छु । त्यसपछि उसले जति मुखमा अड्याएर राख्न सक्थ्यो त्यति नै नुनलाई मुखमा च्यापेर राख्यो । उसले आफ्नो मुखमा अटाएसम्म मुखभरि हुने गरी च्यापेर त्यहाँबाट हिँड्यो ।

गुलियो पहाडमा बस्ने कमिलोले उसलाई आफ्नो पहाडतिर लिएर गयो । त्यहाँ गुलियै गुलियो थियो । मिस्री नै मिस्री नै थियो ! उसले भन्यो, ‘खाऊ अनि यसको स्वादका बारेमा बताऊ ।’ नुनको पहाडमा बस्ने त्यो कमिलोले अलिकति गुलियो चीजलाई लियो अनि आफ्नो मुखमा हाल्यो । त्यसपछि उसले भन्यो, ‘यसको स्वाद त मेरो नुनकै जस्तो छ । यसमा त केही फरक पाइनँ मैले त ।’गुलियो पहाडमा बस्ने कमिलोले भन्यो, ‘यस्तो त नहुनुपर्ने हो ।’ उसले नुनको पहाडमा बस्ने कमिलोलाई भन्यो, ‘तिमी आफ्नो मुख खोलेर देखाऊ त !’ उसले आफ्नो मुख खोलेर देखायो । उसको मुखमा एउटा निकै ठूलो नुनको टुक्रो राखेको रहेछ । यसकारण उसले जतिसुकै गुलियो खाए पनि मुखमा रहेको नुन पग्लिएर नुनिलो भएको महसुस गर्दथ्यो ।

त्यसपछि गुलियो पहाडमा बस्ने कमिलोले भन्यो, ‘तिमी यो नुनको टुक्रोलाई फ्याँकिदेऊ अनि यो मीठो चीजलाई खाएर हेर । त्यसपछि उसले त्यो नुनको टुक्रोलाई फ्याँकिदियो अनि उसले गुलियो चीजलाई चाख्यो । तबमात्रै उसलाई गुलियो चीजको स्वादका बारेमा महसुस भयो । त्यसपश्चात् उसले भन्यो, ‘साँच्चै नै यसको स्वाद त निकै अद्भूत रहेछ ।’

हाम्रो अवस्था पनि त्यो कमिलोकै जस्तो छ । जबसम्म हामी त्यो परमानन्दको सुखको अनुभव गर्दैनौँ तबसम्म हामीलाई त्यो परमानन्द, त्यो वास्तविक सुखको आवश्यकता छ या छैन भन्ने कुराको ज्ञान नै हुँदैन ! दुनियाँले हामीलाई हाम्रो पनि केही आवश्यकता छ भन्ने कुराका बारेमा बताएको हुन्छ । त्यसकारण हामी सबै तिनै आवश्यकताहरूलाई पूरा गर्नका लागि हरेक दिन केही न केही गरिरहेका हुन्छौँ । तथापि, मानिसको आफ्नो निजी आवश्यकतालाई पूरा गर्नका लागि उसले कहिल्यै पनि चिन्ता गर्दैन । ठीक विपरीत हाम्रो समाजले हामीमाथि थोपरेको आवश्यकतालाई पूरा गर्नका लागि हामी चिन्तित हुन्छौँ ।

मानिसहरू आफ्नो आवश्यकतालाई नै पूरा गरूँ भनेर लागिपरेका हुन्छन् । तथापि, उनीहरूले एउटा कुरा सोच्दैनन्, ‘यो मेरो जीवन हो, म जीवित छु । मभित्र श्वास आइरहेको छ अनि गइरहेको छ । एउटा समयमा म जीवित हुनेछैन तर त्यो समय पनि आउने नै छ । मलाई त्यो समय कहिले आउँछ भन्नेसमेत थाहा छैन तर अवश्य पनि आउनेछ भन्ने कुराचाहिँ पक्कै पनि थाहा छ । मेरा सबै आवश्यकताहरू त कहिल्यै पनि पूरा हुँदैनन् तर आफ्नो जीवनमा म जीवित रहेसम्म आफ्नो वास्तविक आवश्यकतालाई पूरा गरिरहन सकूँ ।’ यथार्थमा त्यो वास्तविक आवश्यकता भनेकै परमानन्दले भरिएको सुख र परम शान्तिको अनुभूति गर्नु हो । किनभने, यदि सारा चीजको अनुभव गरेर पनि वास्तविक चीजकै अनुभव भएन भने त यो संसारमा खाली हात आएका थियौँ अनि खाली हात नै जानुपर्ने हुन्छ । आजको दिनमा प्राप्त भएको अनमोल चीजलाई जोगाउनुभएको छ कि छैन ?

पानीको कमी नभएको स्थानमा मानिसहरू पानी खेर पनि फालिरहेका हुन्छन् । पानीको अभाव भएका क्षेत्रमा त्यो धारोको मुनि पनि एउटा कुनै भाँडो थापिएको हुन्छ पानी खेर नजाओस् भनेर । तपाईँको श्वास पनि यस्तै कुरा हो । एकदिन आयो । त्यो पहिलो श्वास थियो । अनि, एकदिन जानेछ र त्यो अन्तिम श्वास हुनेछ अनि बीचमा रहेको दिन नै आजको दिन हो ! यही आजको दिनलाई तपाईँ संसारका सबै काम सम्हाल्नका लागि खर्चिनुहुन्छ । तथापि, जुन अनमोल श्वास पाइएको छ नि, त्यसमा ध्यानै दिनुहुन्न । वास्तवमा हामी त व्यापार वृद्धि भएको दिन, राम्रो जागिर प्राप्त भयो भने, यस्ता कुराका आधारमा त्यस दिनलाई उत्तम समय मान्छौँ । तर, सबैभन्दा उत्तम दिन त कुन हो भने जुन दिनमा तपाईँले भन्नुहुनेछ– ‘आजको दिनमा मैले यो जीवन पाएको छु । मेरो श्वास चलिरहेको छ । म जीवित छु । मसँग यो मौका प्राप्त भएको छ । म यसलाई खेर फाल्न चाहन्न । आजको दिनमा मैले त्यस कुरालाई बुझ्न पाएको छु, जसका बारेमा ठूला–ठूला विद्वान्हरूले आफ्नो पूरा जीवनभर चर्चा गर्दै आएका छन् ।’

यो श्वासको मूल्यलाई बुझ्न सकिन्छ । यो कुरालाई बुझेका दिनदेखि यो जीवन व्यर्थ हुनेछैन । त्यस दिन तपाईँले पनि त्यो हृदयरूपी भाँडोलाई त्यो धारोमुनि थाप्नुहुनेछ । त्यसै खेर गइरहेको पानी तबदेखि बचत हुन थाल्नेछ । जिन्दगी सुध्रिन थाल्नेछ । त्यो चीज प्राप्त हुनेछ, जसबाट हामीले आफ्नो जीवनलाई पूर्णता प्रदान गर्न सक्नेछौँ । हरेक दिन आभारयुक्त हृदयले, चैन अनि आनन्दले विभोर भएर भन्न सक्नुहुनेछ– ‘हे सृष्टिकर्ता, तपाईँलाई लाखौँलाख आभार ।’ त्यसपछि के भन्नुहुनेछ भने आजको दिन नै मेरो जीवनमा पहिलो दिन हो । यदि भोलि फेरि यो दिन आयो भने म यसलाई त्यसै खेर जान दिनेछैन । यसै गरी हामीले हरेक दिनलाई स्वागत गर्नु आवश्यक छ । आउने भोलिका लागि होइन, न त बितेको हिजोका लागि तर आजका लागि अनि सधैँका लागि । किनभने, यो जीवनमा जति पनि दिन आउँछन्, ती सबै ‘आज’ नै भएर आउँछन् । भोलि, पर्सि, निकोर्सि भएर आउँदैनन् । ‘आज’ मा नै आनन्द लुकेको छ ।

अहिले हामीसँग समय छ । हामीले भोलिलाई सपार्नतिर नभएर आजकै बारेमा सोच्नुपर्छ । आज नै आफ्नो हृदयलाई शान्ति र आनन्दले भर्नुहोस् । भोलि आओस्, नआओस् मैले यसलाई महत्त्व दिनु आवश्यक छैन । यदि भोलि आयो भने म त्यसलाई पनि आज स्वागत गरेजसरी स्वागत गर्नेछु । किनभने मेरो हृदयरूपी भाँडो दिन–प्रतिदिन भरियोस् र जीवन सफल होओस् । मूल कुरा त यो श्वासका बारेमा नै हो । यो श्वास कति ठूलो आशीर्वाद हो तर हामी यसलाई बिर्सन्छौँ ! मानिसमा कत्रो कृपा भएको छ किनभने उसले यो जीवन प्राप्त गरेको छ, यो शरीर प्राप्त गरेको छ अनि हरक्षण उसभित्र यो श्वास स्वतः चलिरहेको हुन्छ । जीवनको पहिचान नै के हो भने मानिसमा यो श्वास चलिरहेको छ या छैन ? यो श्वास त सृष्टिकर्ताको कृपाले आपैmँ आउँछ अनि आपैmँ जान्छ पनि । आफ्नो पछाडि उसले यस्तो समयलाई छोडेर गएको हुन्छ जुन कहिल्यै फर्केर आउँदैन ।

जब एउटा–एउटा श्वास लिनका लागि पनि सङ््घर्ष गर्नुपर्ने हुन्छ नि, तब त्यही अन्तिम समयमा मात्रै यसको महत्त्व थाहा हुन्छ । तपाईँको छेउछाउमा जे–जे भइरहेका छन्, तपाईँको जीवनमा जेसुकै भइरहेको भए पनि तपाईँ त्योभन्दा माथि हुनुहुन्छ । जसरी फोहोर पानीमा पनि कमलको पूmल रहन्छ तर त्यसभन्दा माथि नै रहन्छ । तपाईँ पनि त्यसरी नै रहनुभएको छ ।किनभने, तपाईँको जीवनको यात्रा तपाईँको पहिलो श्वासबाट भएको थियो । त्यस क्षणदेखि यो श्वासको आउने–जाने क्रम रोकिएको छैन ।

यो जीवनभरि नै तपाईँको साथमा रहनेछ । तपाईँको अन्तिम क्षणसम्म । यो श्वास तपाईँभित्र आइरहन्छ भन्ने कुरा तपाईँलाई थाहा छ । यसमाथि ध्यान दिनुहोस् । यदि तपाईँले यही आइरहेको श्वासलाई आफ्नो जीवनमा महसुस गर्नुभयो भने यसले आराम, चैन अनि सन्तुष्टि प्रदान गर्दछ । तपाईँ जीवित हुनुभएकोमा आभारी हुनुहोस् । यो अस्तित्व हुनुलाई प्रशंसा गर्ने गर्नुहोस् ।(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण:डा. प्रेमराज ढुङ्गेल

प्रतिक्रिया दिनुहोस्