ई–सेवा र लुलु एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता



काठमाडौ ।

ई–सेवा मनी ट्रान्सफर र विदेशी मुद्रा एक्सचेन्ज तथा विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको यूएई स्थित लुलु इन्टरनेसनल एक्सचेन्जबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।

सम्झौतासँगै, युएईका प्रमुख स्थान अबुधाबी, दुबई र सारजाहलगायत युएईका सातैवटा इमिरेट्समा बस्दै आएका नेपालीहरूले लुलु इन्टरनेसनल एक्सचेन्जमार्फत नेपालमा रेमिट्यान्स् पठाउन सक्ने भएका छन् ।

यूएईभरि रहेका लुलुका ८४ वटा शाखामध्ये कुनै पनि शाखामा गई ई–सेवा मनी ट्रान्सफरको माध्यमबाट नेपाल पैसा पठाउन सक्ने भएका छन् । यसका साथै, लुलु इन्टरनेसनल एक्सचेन्जको मोबाइल एप (लुलु मनी) मार्फत पनि छिट्टै नेपालमा पैसा पठाउन सकिने व्यवस्था गर्न लागेको ई–सेवाले जनाएको छ ।

लुलु इन्टरनेसनल एक्सचेन्जका शाखाबाट नेपालमा पैसा पठाउँदा, पठाउने व्यक्तिले ६० भन्दा धेरै बैंकका खातामा सीधै रकम पैसा पठाउन सक्ने भएका छन् । ६० लाखभन्दा बढी प्रयोगकर्ता रहेकोे ई–सेवा वालेटमा पनि सोझै रकम पठाउन सकिने भएको छ ।

लुलु इन्टरनेशनल एक्सचेञ्ज हुँदै युएईबाट पठाएको रेमिट्यान्स्, नेपालका अधिकांश ठाउँमा रहेका ई–सेवा मनी ट्रान्सफरका १२ हजारभन्दा बढी रकम भुक्तानी केन्द्र तथा एक लाखभन्दा बढी ई–सेवाका क्यास प्वाइन्टमार्फत पनि रकम झिक्न मिल्ने जानकारी ई–सेवाले गराएको छ ।

यसका साथै, पठाएको नगद रेमिट्यान्स् भुक्तानी केन्द्रमा नगई सोझै ई–सेवा वालेटमा प्राप्त गरी अतिरिक्त ७७ रुपियाँ बोनस रकमसमेत प्राप्त गर्न सकिने ई–सेवाले उल्लेख गरेको छ ।

यसैगरी, हाल ई–सेवा मनी ट्रान्सफरको ‘रेमिटोत्सव’ योजना चलिरहेकाले यूएईस्थित नेपालीले लुलु इन्टरनेसनल एक्सचेन्जबाट ई–सेवा मनी ट्रान्सफरमार्फत नेपाल रकम पठाई दैनिक पाँच हजार तथा बम्परमा ५० हजार जित्न सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्