ढल निकासीलाई ध्यान नदिँदा बस्ती डुबानमा



पोखरा  । 

देशमा वर्षेनी बाढी–पहिरो र डुबानका घटना हुने गरेकै छन् । अघिल्लो बर्खामा पोखरा उपमहानगरपालिका–२० भलाममा डोजरे विकासका कारण नै ८ जनाले ज्यान गुमाएका थिए । त्योभन्दा अघि पनि सराङकोटमा पाँच जनाले ज्यान गुमाएका थिए ।

गत शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका–२५ हेम्जास्थित सुइँखेत क्षेत्र डुबानमा प¥यो । लगातारको वर्षाले सुइँखेतको चौरासी नहर बढेपछि भत्किँदा पानी बस्तीमा पसेको थियो । आसपास रहेका खोल्साबाट समेत बगेर आउने पानीले निकासा नपाउँदा पुरा फाँट डुबाएको हो । यसको मुख्य कारण भने मध्यपहाडी लोकमार्गअन्तर्गत हेम्जामा पर्ने सडक रहेको स्थानीयहरुले बताएका छन् । यसअघि पुरानो सडक हुँदा उचित नहर निकासीको बाटो रहे पनि अहिले भने साघुँरो हुँदा नहर फुटेको उनीहरुको आरोप छ ।

सडक मात्रै नभई अव्यवस्थित रूपमा खेतमा घर निर्माण गर्ने क्रम बढेकाले पनि समस्या आएको हो । केही वर्ष अघिसम्म धानखेत हुने स्थानमा प्लटिङ गर्दै घर ठडिनु र राजमार्ग विस्तार हुँदा खोलासम्म पुग्ने पानीको निकासीलाई अलपत्र पारिनु यसको मुख्य समस्या रहेको छ । डुबानबाट सुइँखेतको म्याग्दीचोक, सुन्दरपुरी चोकका करिब ७० घर डुबानमा परेको वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले बताउनुभयो । उहाँका अनुसार स्थानीयलाई राति नै उद्धार गरी सुरक्षित स्थानमा सारिएको थियो । यस्तै, सुन्दरपुरी चोकमा पहिरो खसेपछि दुई घरमा क्षति भएको छ ।

स्थानीय लक्ष्मी विक र रिभना विकको घर पहिरोले पुरेको हो । अन्य १५ घरमा पहिरो पसेर आंशिक क्षति पु-याएको छ । फाँटमा पानी थुनिने र पहिरो आउने भएपछि शुक्रबार राति नै स्थानीय घरबाहिर निस्किएर सुरक्षित स्थानमा सरेकाले मानवीय क्षति हुन नपाएको वडाध्यक्ष तिमिल्सिनाको कथन छ । फेरि बाढीपहिरो आउने हो कि भनेर स्थानीय त्रसित अवस्थामा छन् ।
स्थानीयको उद्धारमा रातिदेखि नै प्रहरी परिचालन गरिएको थियो । स्थानीयको उद्धार गरी कसैलाई आफन्तकोमा पठाइएको थियो भने कसैलाई सामाजिक भवन, मन्दिरमा राखिएको थियो ।

वडाले सहयोगका लागि सिँचाइ, महानगरलगायत सम्बन्धित स्थानलाई गुहारे पनि आएर हेर्ने बाहेक अन्य काम नभएको बताए वडाध्यक्षको कथन छ । ‘अहिले भयभित अवस्था छ । सम्बन्धित निकायहरुबाट भ्रमणचाहिँ भएको छ । सहयोगचाहिँ भएको छैन । हामीले विपद् व्यवस्थापनलाई भनेका छौं, सिँचाइतिर भनेका छौं, तर उहाँहरुले आएर हेर्नुभयो काम गर्नुभएन ।’ –उहाँको कथन छ । उक्त क्षेत्र यसअघि पनि सामान्य रूपमा डुबानमा पर्दै आइरहेको थियो ।डुबानका कारण करिब ३–४ सय परिवार विस्थिापित भएको वडाध्यक्ष तिमल्सििनाले सुनाउनुभयो । पहिरो र डुबानले सुन्दरपुरी चोकको दुई कृषि फर्ममा समेत क्षति पु¥याएको छ ।

खेती गर्ने जमिन पछिल्लो समय मासिँदै गइरहेका छन् । खेतमा प्लटिङ गर्ने र घर बन्न थालेपछि बर्खाको पानी सोही घरमा पस्न थालेको छ । पहिला धान रोप्दा धानमा जाने पानी अहिले घर रोप्न थालेपछि घरमा जान थालेको हो । यो मानवीय गल्तीकै कारण आएको विपद् भन्दै स्थानीय डोलराज पौडेलले मध्यपहाडी लोकमार्ग निमार्णको भएको कारण समस्या आएको बताउनुभयो ।

‘पहिला जुन बाटो थियो त्योभन्दा माथिबाट डाँडा काटेर बाटो बनाइयो । त्यहाँ पाखापखेरो थियो, नहर थियो त्यो नहर पहिला खोलामा निस्किन्थ्यो । के भयो भन्दा बाटोको उचाइ गहिरो जमिन जुन थियो त्योभन्दा उचाइको बनाइयो । पहिला सडक बराबरमै घर थियो अहिले त्यो कम उचाइमा छ र अर्को कुृरा भनेको राखेको ढल साँघुरो भएको कारणले पनि हो’, उहाँ थप भन्नुहुन्छ– ‘अहिले क्षति भएको मुख्य कारण भनेको पहिरो खस्नाले र नहर फुट्नाले भएको हो ।

पहिला बाटोबाट खोलामा पानी निकासी हुने ठूलो ढल थियो । अहिले त्यो कुराको ख्याल नगर्नाका कारण पानी निकास नभएर बस्ती डुबानमा परेको हो ।’यस्तै, पोखरा–१६ सालघारी देउरालीमा बाढीले रामबहादुर मगरको घर बगाएको छ । भने अन्य १३ वटा घरमा आंशिक क्षति पुगेको छ ।

हेम्जा खहरेटारी बस्ने सुरेमबहादुर गुरुङले पालेका ११ वटामध्ये ९ वटा बाख्रा मरेका छन् । पोखरा–२३ हर्पनका नरबहादुर क्षेत्रीको भैंसी गोठमा चट्याङ पर्दा एउटा ब्याउने भैंसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिनुभयो ।

सुरक्षा निकायसँग छैन आपत्कालीन सामग्री

राति अचान परेको अविरल वर्षापछि एक्कासि पहिरो आउँदा र नहर फुटेर बस्ती डुबान पर्नासाथ नेपाल प्रहरी पुगेको थियो । नेपाल प्रहरीले डुबानमा परेको बस्तीबाट रातभर स्थानीयको उद्धार गरिरहँदा भने प्रहरीसँग आपत्कालीन उद्धारका सामग्री नै थिएन ।

उनीहरु अँध्यारोमा नै उद्धार गर्न बाध्य थिए । संयोगवश सवारी पुग्ने क्षेत्र भएकाले प्रहरीले सवारी इन्जिन अन गरी लाइट बालेर काम गरेका थिए । राज्यले विपद्का लागि वर्षेनी बजेट विनियोजन गरिरहँदा विपद्को समयमा आवश्यक पर्ने आपत्कालीन उद्धार सामग्री नहुनु लाजमर्दो कुरा हो । सामान्यतया विपद्का लागि प्रत्येक वडामा समेत आपत्कालीन उद्धार सामग्री हुनुपर्ने हो, तर कास्की जिल्लामा भने त्यो छैन । न त वडासँग छ न त वडामा रहेका प्रहरी चौकीमै ।

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य प्रहरीले रातभर अँध्यारोमै उद्धार गरेको बताउनुहुन्छ । उहाँले प्रहरीसँग आवश्यक लाइट नहुँदा समस्या आएको सुनाउनुभयो । ‘हिजो राति प्रहरी बिनाटचलाइट नै पुगेको थियो । अँध्यारोमा गर्न प-यो । त्यस्तो बेलमा बत्ती गएको हुनसक्छ वा पोल ढलेको हुन सक्छ । त्यस कारण सामान नजिकको प्रहरी चौकीमा राख्नका लागि महानगर वा पालिकासँग समन्वय गरेका थियौं । –उहाँले भन्नुभयो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी सुन्दर तिवारी भने विपद्को समयमा आवश्यक पर्ने उद्धार सामग्री भइदिएको भए राम्रो हुने बताउनुहुन्छ । आफूहरु लाइटबिना नै काम गर्न बाध्य भएको उहाँको कथन छ । ‘हामी स्रोत साधन सम्पन्न होइनौं । संयोगवस गाडी पुग्ने स्थान भएकाले फोकस लाइट बालेर नै काम गरेका थियौं । हामीसँग मात्रै होइन सशस्त्र प्रहरी र नेपाली सेनासँग पनि त्यो सामग्री छैन’, उहाँ भन्नुहुन्छ– ‘हामीसँग इच्छा शक्ति छ तर सामान छैन । सामान छैन भनेर बस्ने अधिकार हामीलाई छैन र हामी काम गर्छांै । विपद्का बेलामा चाहिने साधन स्रोतको कमी नभए उद्धार कार्यमा छिटो हुने थियो ।’

शनिबार जिल्ला प्रशासन कार्यालयमा भएको विपद् सम्बन्धी बैठकमा सुरक्षा निकायले उक्त कुरा उठाएको तिवारीले जनाउनुभयो । बैठकले विपद्को समयमा तत्कालै खटिने गरी सहायक जिल्ला अधिकारीको संयोजकत्वमा कमान्ड पोस्ट बनाएको छ । यस्तै, २४ घण्टा नै तयारी अवस्थामा रहने गरी ३ सुरक्षादलका ७५ जना जनशक्ति तैनाथ रहेका छने । बैठकले मेसिनरी सामान रहेका सरकारी कार्यालयले समेत त्यो उपलब्ध गराउनेगरी निर्णय गरेको छ ।

‘हामीले विपद् आउँदा कुन–कुन समस्याहरु रहन्छन र त्यसमा केके चाहिन्छ भन्ने जनशक्तिको परिचालन , नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी परिचालन गर्न कमान्ड पोस्ट बनाएका छौं’, प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले भन्नुभयो– ‘३ सुरक्षा निकायबाट कम्तीमा पनि २५–२५ जनाको दरले गरी ७५ जना २४ घण्टा नै तयारी अवस्थामा रहनेछन् । जनशक्ति परचालन, मेसिनरी सामान परिचालन तथा सहयोग सम्बन्धमा छलफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्