ग्लोबल आईएमई बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर



काठमाडाै‌ं ।

ग्लोबल आईएमई बैंक लिमिटेडले ‘ग्लोबल आईएमई स्वस्थ नारी पहल अभियान’अन्तर्गत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ६ स्थानमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

बैंकले पश्चिम रूकुमको मुसीकोट नगरपालिका–७ स्थित साँख स्वास्थ्य चौकी, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१६ स्थित सानीलेख स्वास्थ्य चौकी, बैतडीको पञ्चेश्वर गाँउपालिका–५ स्थित गिरेगाडा स्वास्थ्य चौकी, डोटीको पूर्वी चौकी गाँउपालिकास्थित सानागाँउ स्वास्थ्य चौकी, दार्चुलाको महाकाली नगरपालिका–७ स्थित धाप स्वास्थ्य चौकी र दैलेखको नारायण नगरपालिका–५ स्थित त्रिवेणी स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर आयोजना गरेको हो ।

बैंकद्वारा आयोजित स्वास्थ्य शिविरमा स्त्रीरोग विशेषज्ञले ७५७ जना महिलालाई स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरू निःशुल्क रूपमा उपलब्ध गराएका थिए ।नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोग तथा सम्बन्धित गाँउपालिका-नगरपालिकाको समन्वयमा बैंकले स्वास्थ्य शिविरहरू आयोजना गरेको हो ।शिविरमा महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सरको परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार तथा निशुल्क औषधि वितरण गरिएको थियो ।

शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्तालागेका १ जना बिरामी र पाठेघरको क्यान्सरको गम्भीर अवस्था भएका ६ जना बिरामी पहिचान गरिएका छन् । जसलाई स्वस्थ नारी पहल अभियान कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।

यसअघि बैंकले १५औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा सातवटा शिविर सञ्चालन गरेको थियो । बैंकले यो आर्थिक वर्षमा देशभर १४ वटा शिविर सञ्चालन गरेको छ जसबाट देशका ग्रामीण तथा अर्धशहरी क्षेत्रका १ हजार ६६० महिला लाभान्वित भएका छन् । प्राथमिक स्वास्थ्य सेवाको पहुँच सीमित वा पहुँच नभएका दुर्गम स्थानहरूमा बैंक पुगी यस्ता किसिमका स्वास्थ्य शिविरको आयोजना गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्