जोगियो निगमको ३५ लाख फजुल खर्च



काठमाडौं । 

नेपाल वायुसेवा निगमको वाइडबडी विमान मर्मतको बाहानामा निलम्बित नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षले आफूनिकट कर्मचारी र आसेपासेलाई १७ दिनका लागि डलर भत्तासहित पठाउने योजना संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले तुहाइदिभएका छन् ।

निगमको वाइडबडी विमान अन्नपूर्ण (ए३३०, ९एल एएलवाई) जहाज नियमित सी–चेक जाँचका लागि बिहीबार इन्डोनेसियाको जार्कता पठाइँदै थियो । उक्त विमान त्यहाँको पीटी जीएमएफ एरो एसिसा टीबीकेका प्राविधिकहरूको निगरानीमा १७ दिन रहनेछ । सी–चेकका क्रममा जहाज पूर्णतया विदेशी एमआरओ कम्पनीको निगरानीमा रहन्छ । तर, निलम्बित कार्यकारी अध्यक्ष अधिकारीले आफ्नो चाकरी गर्ने एक दर्जन हाराहारी आसेपासे कर्मचारीलाई दैनिक डलरमा भत्ता, होटल खर्च निगमले व्यहोर्ने गरी पठाउँदै गरेको उजुरी परेपछि मन्त्री आलेले फजुल खर्च रोक्नुभएको हो ।

यो निर्णयले कोभिड महामारीका कारण घाटा ब्यहोरीरहेको निगमको रु ३५ लाख जोगाइएको छ । निगमका अनुसार २१ जनाकोे जम्बो टोली इन्डोनेसिया पठाउँदा कम्तीमा पनि रु ५० लाख लाग्थ्यो । निलम्बित अध्यक्ष अधिकारीले २१ जनालाई बिनाउद्देश्य भम्रणमा पठाउँदा रु ५० लाख खर्च लाग्ने भएपछि मन्त्रीसमक्ष केही दिनअघि उजुरी परेको थियो । अनावश्यक सङ्ख्यामा कर्मचारी लैजाने निर्णयलाई मन्त्री आलेले रोक लगाएसँगै उक्त रकम वचत भएको हो ।

अब आवश्यक पर्ने ६ जना टोलीको खर्च रु १५ लाख ७४ हजार हाराहारी हुनेछ । यसरी मन्त्री आलेले गरेको निर्णयबाट नेपाल वायुसेवा निगमको रु ३४ लाख २५ हजार ६ सय २५ जोगिने भएको छ । अधिकारीलाई मन्त्री आलेले यसअघि पनि थुप्रैपटक फजुल खर्च नगर्न निर्देशन दिनुभएको थियो । तर, अधिकारीले मन्त्रीको निर्देशन लत्याउँदै खर्चहरू गर्ने गरेको उजुरी मन्त्रालयमा परेका छन् ।

पर्यटन मन्त्रालयले वैशाखमा स्पष्टीकरण सोधेपछि अधिकारीले विभागीय प्रमुखसँग समन्वय नै नगरी जहाजको सी–जाँचका लागि जम्बो टोलीको सूची तयार पार्नुभएको थियो । मन्त्री आलेले नेपाल वायुसेवा निगमको अर्थ विभाग प्रमुख अनिसा खड्कालाई बुधबार मन्त्रालयमा बोलाउनु भई आर्थिक मितव्ययी अनुसार, रकम निकासा गर्न निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्