रासायनिक मल सम्झौता: कृषकले राहत पाउलान् ?



स्याङ्जा ।

नेपालको कुल जनसंख्याको ६० प्रतिशतभन्दा बढी कृषिमा आबद्ध छन् । बर्सेनि बाली लगाउने समयमा रासायनिक मलको अभावले पीडित हुने गरेका स्याङ्जाका किसानलाई भैरहवाबाट मल ल्याउने पछिल्लो समझदारीले केही राहत दिने देखिन्छ । रासायनिक मलको अभाव खेपिरहेका यहाँका कृषक सोमबारदेखि मल पाइने खबरले खुसी देखिएका छन् । स्याङ्जाको वालिङमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको डिपोमार्फत रासायनिक मल (डीएपी) वितरण हुने खबर पाएर कृषक खुसी भएका हुन् ।

लामो समयदेखि रासायनिक मलको चर्को अभावका कारण तरकारी खेती, धान, मकैको उत्पादनमा कमी हुँदै आएको बेला स्याङ्जाको वालिङमा रहेको साल्ट ट्रेडिङको डिपोमार्फत् सोमबारदेखि रासायनिक मल (डीएपी) वितरण हुने भएपछि आफूलाई खुसी लागेको वालिङ–८ का कृषक युक्तनारायण रेग्मीले बताउनुभयो । रोपाइँ शुरू भइसक्दा पनि रासायनिक मल नहुँदा चिन्ता लागेको थियो उहाँले भन्नुभयो – ‘सोमबारबाट मल पाइन्छ भन्ने सुनेको छु, अब सहज होला ।’ धान रोपाइँ गर्ने तयारीमा रहनुभएका स्याङ्जाका कृषकलाई लक्षित गरी भैरहवामा करिब ९०० बोरा डीएपी आइसकेकोमा आइतबारसम्ममा उक्त मल वालिङ आइपुगेको कार्यालय प्रमुख नगेन्द्र थापाले जानकारी दिनुभयो ।

डिपोले यहाँ आएको मल सूचीकृत भएका डिलरहरूलाई उपलब्ध गराउने छ । वालिङमा रहेको डिपोमा हालसम्म पालिकाको बैठकबाट छनोट भई आएका कृषि सहकारी, बहुउद्देश्यीय सहकारी तथा छनोट भएका आठवटा संघसंस्थालाई डिलरका रूपमा मान्यता दिई सोहीमार्फत् कृषकलाई मल उपलब्ध गराइने उहाँले बताउनुभयो ।कृषक तथा डिलरबाट आएको मागका आधारमा र यसअघि खरिद बिक्री भएको अनुपातलगायतका आधारमा मल वितरण गरिने कार्यालयले जनाएको छ । धानका लागि करिब करिब पुग्ने गरी मल आएको छ । उहाँले भन्नुभयो – ‘केही मात्रामा नपुगेको खण्डमा केही दिनमै युरियासहितको अन्य मल पनि आउने भएकाले आफूलाई चाहिनेभन्दा बढी भण्डारण नगर्न पनि कृषकलाई आग्रह गर्दछु ।

स्याङ्जाको वालिङमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको डिपो र पुतलीबजारमा रहेको कृषि सामग्री केन्द्रमार्फत् डिलरलाई रासायनिक मल वितरण हुँदै आएको छ । जमिनको उर्वराशक्ति दीर्घकालसम्म कायम राख्न, पर्यावरण जोगाउन र स्वास्थ्यकर कृषि उत्पादनका लागि नेपालले बिस्तारै जैविक खेतीलाई जोड दिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्