दोबिल्ला–पामे सुरुङमार्ग अध्ययनका लागि स्वीकृति



पर्वत ।

पर्वत र कास्कीलाई जोड्नेगरी निर्माण हुने दोविल्ला–घाँटीछिना–पामे सुरुङमार्ग अध्ययनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक विभागलाई स्वीकृति दिएको छ ।

पर्वतको कुश्मा नगरपालिका–८ दोविल्लादेखि कास्कीको पोखरा महानगरपालिकाको पामेसम्म सुरुङमार्ग निर्माणका लागि अध्ययन गर्न स्वीकृति दिएको हो । प्रस्तावित सुरुङमार्गले साविक धौलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई प्रदेश मुकाम पोखरासँग छोटो दूरीमा जोड्ने छ ।

सुरुङमार्ग निर्माणको लागि सम्भाव्यता अध्ययनको लागि मन्त्रालयले सडक विभागलाई स्वीकृति प्रदान गरेसँगै काम अघि बढ्ने भएको छ । जेठ २६ गतेको सचिव स्तरको बैठकको निर्णय अनुसार विभागलाई स्वीकृति प्रदान गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका शाखा अधिकृत रामजी घिमीरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्त्रालयबाट स्वीकृत भएसँगै सडक विभागलाई काम अघि बढाउन पत्राचार समेत गरिसएिको छ ।सुरुङमार्ग आयोजनाको अध्ययन आगामी आर्थिक वर्षबाटै शुरू हुने भएको छ । छिमेकी जिल्ला बागलुङ निवासी मेघनाथ शर्माको पहलमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले गएको चैत ६ गते उक्त सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न पत्र पठाउनुभएको थियो ।

सोही पत्रसहितको फाईललाई सचिवस्तरीय बैठकको निर्णयले स्वीकृति प्रदान गरेको अभियन्ता मेघनाथ शर्मा पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यो सुरुङमार्ग बनेपछि ६० किलोमिटर लामो सडक जम्मा १० देखि १२ किलोमिटरमा पामे, घाटीछिनामा जोडिने भएको छ । यसका लागि आगामी आर्थिक वर्षमा मन्त्रालयले आवश्यक बजेट व्यवस्थापन गर्ने जानकारी दिएको छ ।

उक्त सुरुङमार्ग निर्माण भएपछि पर्वतवाट अहिले २ घण्टा लाग्ने यात्रा अवधि आधा घण्टामै छोटिने अनुमान गरिएको छ । यस अघि केपी ओली नेतृत्वको सरकारले हेम्जा–नयाँपुल सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न बजेट विनियोजन गरे पनि कोभिडका कारण अघि बढ्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्