३५ वटा मोटरेबल पुलका लागि बजेट विनियोजन



लमजुङ ।

लमजुङमा ३५ मोटरेबल पुल निर्माणका लागि संघीय सरकारले बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानीय तहअन्तर्गतका खोला तथा नदीहरूमा मोटरेबल पुल बन्ने गरी बजेट विनियोजन गरेको हो ।

आगामी आर्थिक वर्षको बजेटमा जिल्लाका विभिन्न खोला तथा नदीहरूमा मोटरेबल पुल सम्भाव्यता अध्ययन, संरक्षण तथा निर्माणका लागि पाँच लाखदेखि एक करोडसम्मको बजेट विनियोजन गरेको हो ।जिल्लामा परेका मोटरेबल पुल योजनामध्ये २२ वटा मोटरेबल पुल निर्माण, रणनैतिक सडक पुल विस्तृत सम्भाव्यता अध्ययनका लागि तीनवटा मोटरेबल पुल र रणनैतिक सडक पुल निर्माण तथा संरक्षणका लागि १० वटा योजना परेको छ ।

आगामी आर्थिक वर्षमा निर्माण हुने मोटरेबल पुल मध्ये सातवटा योजनाका लागि एक÷एक करोडका दरले बजेट विनियोजन भएको छ । एक करोडका दरले बजेट विनियोजन भएका मोटरेबल पुल योजनामध्ये लमजुङ गोरखा सिमानाअन्तर्गत बडहरे खोला मोटरेबल पुल, गोरखा लमजुङ सिमानाको चेपे नदी मोटरेबल पुल, राइनास–४, चक्रतीर्थअन्तर्गत चेपे नदी मोटरेबल पुल, करापुटार नाल्मा सडकअन्तर्गत मिदिम खोला मोटरेबल पुल, लमजुङ र तनहुँ सिमानाअन्तर्गत सुन्दरबजारको पाउदी खोला छत्रै मोटरेबल पुल रहेका छन् ।

यसै गरी भोटेओडार बेलघारीअन्तर्गत मस्र्याङदी नदी मोटरेबल पुल, मस्र्याङदी गाउँपालका र बेंसीशहर नगरपालिका सिमाना ङादीखोला मोटरेबल पुलका लागि पनि एक-एक करोड बजेट विनियोजन भएको छ ।जिल्लाका अन्य सडक मोटरेबल पुलमध्ये बेंसीशहर–६ र १० जोड्ने मस्र्याङदी नदीमा बन्ने मोटरेबल पुलका लागि ८५ लाख रुपियाँ विनियोजन भएको छ । त्यस्तै बेंसीशहर–२ र ११ जोड्ने मस्र्याङदी नदी मोटरेबल पुलका लागि पनि ४७ लाख ५० हजार रुपियाँ विनियोजन भएको छ । सो बाहेकका जिल्लाका आठ वटा पुल निर्माण र १० वटा पुल निर्माण तथा संरक्षणका लागि ३०-३० लाखका दरले बजेट विनियोजन भएको छ ।

जिल्लामा पुमा खोला मोटरेबल पुलसहित मध्यनेपालको मादी नदी मोटरेबल पुल, करापु डढुवाअन्तर्गत मिदिम खोला मोटरेबल पुलका लागि २०-२० लाख रुपियाँ विनियोजन गरेको छ ।सोबाहेक जिल्लाको मध्यनेपाल नगरपालिकाअन्तर्गत लमजुङ तनहुँ सिमाना पर्ने मादि नदी मोटरेबल पुलका लागि पाँच लाख रुपियाँ विनियोजन भएको छ । रणनैतिक सडक पुलहरूको विस्तृत सम्भाव्यता अध्ययनका लागि भने तीनवटा मोटरेबल पुलका लागि पाँच-पाँच लाखका दरले बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्