यार्सा संकलनबाट २५ लाख राजस्व संकलन



मुगु ।

मुगुको कार्मारोङ गाउँपालिकामा यार्सागुम्बा संकलनबाट २५ लाख राजस्व संकलन भएको छ । अझै उठाउने क्रम जारी रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले पाटन क्षेत्रमा यार्सा टिप्न जाने जिल्लाभित्रका प्रतिव्यक्तिबाट दुई हजार र जिल्लाबाहिरबाट भित्रिएका प्रतिव्यक्ति दुई हजार पाँच सय रुपियाँका दरले राजस्व उठाउने गरेको छ ।

अझै बढी राजस्व उठाउन गाउँपालिकाको टोली पाटन क्षेत्रमै पुगेर यार्सा टिप्ने व्यक्तिबाट राजस्व असुलउपर गरिरहेको गाउँपालिकाका लेखा अधिकृत जनराज शाहीले बताउनुभयो । अवैध बाटो प्रयोग गरेर यार्सा संकलक पाटन क्षेत्रमा पहिले नै प्रवेश गरिसकेकाले यसपटक कम राजस्व असुली हुने अनुमान गरिएको उहाँको भनाइ छ ।

‘विगत वर्षहरूमा कम्तीमा पाँचदेखि ६ हजार यार्सा संकलकबाट राजस्व असुली हुने गथ्र्याे भने यसपटक स्थानीय निर्वाचनले गर्दा कम मानिस यार्सा टिप्न गएको हुँदा राजस्व पनि कमी उठ्ने अनुमान गरेका छौं’ – उहाँले भन्नुभयो ।मुगु कार्मारोङ गाउँपालिका–२ मा पर्ने विभिन्न पाटन रिमार, ठूलो कोइकी, सानो कोइकी, छापाखोला, चार्कुलगायत वनमा सुरक्षाकर्मीसहित राजस्व संकलन टोली खटाइएको छ ।

कोरोना महामारीका कारण विगत तीन वर्षदेखि मुगु कार्मारोङ गाउँपालिकाले यार्साको राजस्व उठाउन पाएको थिएन । गाउँपालिकाको पाटन क्षेत्रमा यार्सागुम्बा संकलनका लागि १५ जेठदेखि प्रवेश खुला गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्