हस्तकलाको समस्या बोकेर चुनावमा होमिदै



न्युज अफ नेपाल,ललितपुर     ।

ललितपुरलाई विश्वको ३५ औं कला नगरी घोषणा गरेपछि यस दिशामा धेरैथोरै काम हुनेमा ललितपुरका कालिगढहरुले निकै आशा गरेका थिए ।

आश गर्दागर्दै झन्डै चार वर्ष बित्यो । अर्काको आश, भोकै बास भने झै बसेका ती नै कालिगढहरुलाई उत्साह भर्ने अठोट गर्दै रुपेन्द्र शाक्य ललितपुर महानगरपालिकाको – ६ वडाको अध्यक्षका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।नेपाली काँग्रेसका तर्फबाट वडाअध्यक्षका लागि चुनावमा होमिएका शाक्य स्वयं कालिगढ हुनुहुन्छ ।

एक कालिगढले मात्र कालिगढको समस्या भित्री मनदेखि बुझ्न् सक्दछ । ’ वडाअध्यक्ष भई कालिगढहरुका समस्या समाधानका लागि सक्रिय हुने उद्देश्य लिएको बताउँदै उम्मेदवार शाक्यले भन्नुभयो ।शाक्यसंग ललितपुर उद्योग वाणिज्य संघको दुई पटक कार्यसमिति सदस्य र नेपाल हस्तकला महासंघको उपसमिति सदस्य रही हस्तकला र कालिगढहरुको विकासको लागि लागि काम गरेको अनुभव छ ।

वल्र्ड क्राफ्ट काउन्सिलले २०७५ साल कार्तिक २८ गते ललितपुरलाई विश्वको ३५ औं कला नगरी घोषणा गरेको थियो । घोषणा गराउन नेपाल हस्तकला महासंघको वर्षोदेखि पहल गरेको थियो । सो कार्यमा ललितपुर उद्योग वाणिज्य संघले समेत सघाएको थियो। ‘ घोषणा त भयो।यस दिशामा खासै काम भएन ।

हस्तकला नगरीको घोषणा अनुरुप त्यसलाई सदुपयोग गर्ने काम गर्न सकेन ।’ आम कालिगढहरुको अनुभूति सुनाउँदै उम्मेदवार शाक्यले भन्नुभयो।यही अनुभूतिले कालिगढबाट प्रत्यक्ष्ँ राजनीतितर्फ आफूलाई डोह-याएको शाक्यको कथन छ । यसले गर्दा शाक्यको प्रतिबद्धतापत्रमा हस्तकला सम्बन्धी कामको छुट्टै शीर्षक सूची राखिएको छ । ’ प्रतिबद्धतापत्र कालिगढहरुको समस्यालाई भित्री मनदेखि बुझेको प्रमाण हो ।’ हस्तकला व्यवसायी उदीप शाक्यले भन्नुभयो ।

प्रतिबद्धतापत्रको संस्कृति, सम्पदा, पर्यटन र हस्तकला व्यवसायको शीर्षकमा भनिएको छ ‘ हस्तकला क्षेत्रमा विद्यमान विभिन्न ऐन, नीति, नियम र कार्यान्वयनमा भएका समस्यालाई छलफल गरी समाधानका लागि पहलकदमी गरिने छ ।

हस्तकला बजारको अनुसन्धान तथा विश्लेषण गर्न पुस्तक प्रकाशन, मेला, महोत्सव आयोजना गर्ने कार्यलाई प्राथमिकतामा राखिने पनि प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । मौलिक हस्तकला सम्बन्धी प्रतिलिपिको अधिकार,जाँचपासको झन्झट, उद्यमशीलता क्षेत्रमा देखापरेका समस्याहरु समाधान गरिने छ ।

प्रतिबद्धतापत्रमा शाक्यले लामो समयदेखि खट्किएको वल्र्ड क्राफ्टको काउन्सिलको घोषणालाई पनि समावेश गरेका छन् । प्रतिबद्धतापत्रमा घोषणा अनुरुप फरक धारको पहिचानलाई सही अर्थमा मूर्त रुप दिनको लागि हरसम्भव कदम चालिने उल्लेख गरिएको छ । मतदातालाई यस बुँदालाई महत्वाकांक्षीको रुपमा प्रतिक्रिया दिएपनि अहिलेलाई प्रतिबद्धतापत्र मार्फत बहसको घेरामा ल्याउनुलाई सकारात्मक रुपमा लिएका छन् ।

हस्तकला सम्बन्धी सामग्रीको प्रदर्शनी र बिक्री वितरणको लागि छुट्टै संरचना बनाउने, कोरोनाबाट थला परेका हस्तकला व्यवसायलाई उत्थान गर्ने, हस्तकला सम्बन्धी ज्ञान, सीप र क्षमतालाई पुस्तान्तरण गर्ने पनि प्रतिबद्धतापत्रमा भनिएको छ । कालिगढहरुको ज्ञान, सीप र प्रतिभालाई प्रर्वद्धन गर्ने, हस्तकला व्यवसायको प्रर्वद्धन गर्न संघ, प्रदेश र स्थानीय तहसंगै सरोकारवाला मिलेर एकिकृत योजना बनाउन पहल गर्ने विषयमा समावेश गरेको उम्मेदवार शाक्यले बताउनुभयो ।

हस्तकला काम गर्ने क्रममा आफूले भोग्दै आएका समस्याहरु सम्झेर प्रतिबद्धतापत्रमा उतारेका हौं । हिजो यो समस्या समाधान भए राम्रो हुने थियो भन्ने लागेका जम्मै आज समाधानको लागि पहल गर्ने संकल्प गरेर आएका छौं । उम्मेदवार शाक्यले भन्नुभयो ‘ हिजो समस्या अरुले समाधान गर्ने आश थियो ।

आज समस्या हटाउन राजनीतिमा उत्रिएको हुँ ।’यसका अतिरिक्त शाक्यको प्रतिबद्धतापत्रमा भौतिक पूर्वाधार,विद्युत, खानेपानी र सरसफाई, शिक्षा, स्वास्थ्य, रोजगारी र सूचना प्रविधि, ज्येष्ठ नागरिक, महिला, बालबालिका र युवा र सीप विकास सम्बन्धी विषयहरु प्रतिबद्धतापत्रमा समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्