अप्पर सोलुको आईपीओ खुला



काठमाडौं ।

अप्पर सोलु हाइडो« इलेक्ट्रिक कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले बिहीबारदेखि प्रतिकित्ता १०० अंकित १३ करोड ५० लाख मूल्य बराबरको १३ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गरेको हो ।

आयोजनाले प्रभाव पार्ने सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका (साविकको टाकासेन्दु, बेनी, तामाखानी, सल्लेरी, गार्मा, केरुङ्ग, गोराखानी, टाप्टिङ्ग र तिङ्गला गाविस)का बासिन्दाले आगामी जेठ ५ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे जेठ २० सम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ ।
कम्पनीले सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका हुँदै बहने सोलुखोलामा २३ दशमलव ५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।साथै, एनएमबी बैंक र लक्ष्मी बैंकको सल्लेरी शाखा, ग्लोबल आईएमई बैंकको सोलुखुम्बु शाखा, प्राइम कमर्सियल बैंकको नेचा सल्यान शाखा कार्यलयबाट आवेदन दिन सकिने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्रनपी–आइआर बिबी प्लस इस्युअर’ ग्रेडिङ प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्