ई–सेवाको अध्यक्षमा कुँवर नियुक्त



काठमाडौं  ।

भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवा प्रालिको अध्यक्षमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त हुनुभएको छ । बैंक तथा वित्तीय क्षेत्रमा सफल मानिएका कुवँरलाई सञ्चालक समितिले कम्पनीको अध्यक्षमा नियुक्त गरेको हो ।नवनियुक्त अध्यक्ष कुवँरले बुधबार नेपाल राष्ट्रबैंक भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेल समक्ष पद तथा गोपनियताको सपथ लिनुभयो ।

बैंकिङ क्षेत्रमा करिब साढे तीन दशक लामो अनुभव सम्हाल्नुभएका कुँवरले सन् १९८६ देखि तत्कालीन ग्रिन्डलेज ( हाल स्टान्डर्ड चाटर्ड ) बैंक लिमिटेडबाट आफ्नो बैंकिङ्ग करियर शुरू गर्नुभएको थियो । त्यसपछि, उहाँले नेपाल बैंक र सिटिजन्स् बैंक इन्टरनेसनलमा वरिष्ठ पदमा कार्यरत हुँदै बैंक अफ एसिया, जनता बैंक र ग्लोबल आइएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।
सन् २०२० को जुलाईमा ग्लोबल आइएमई बैंंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकास लिनुभएका उहाँले पछिल्ला दिनमा बैंक तथा वित्तीय क्षेत्रका विभिन्न तहका कर्मचारीलाई कर्जा र जोखिम सम्बन्धी तालिम प्रदान गर्दै आउनुभएको छ ।

इसेवामा अध्यक्षको रूपमा आफ्नो कार्यभार सम्हाल्दै नवनियुक्त अध्यक्ष कुवँरले भन्नुभयो–‘डिजिटल भुक्तानीको क्षेत्रलाई अगाडि बढाउन इसेवाले नेतृत्वदायी भूमिका निभाउँदै आएको छ ।’डिजिटल भुक्तानीको क्षेत्रमा पायोनियर मानिएको ई–सेवामा आबद्ध हुन पाउँदा म निकै नै खुसी छु । मैले इसेवाको कर्पोरेट गभर्नेन्स्, रणनीतिक मूल्य र कम्प्लायन्स्को क्षेत्रमा आफ्ना अनुभव सेयर गर्दै कम्पनीलाई अझ धेरै उचाइमा पुर्याउन भूमिका खेल्नेछु ’ ।

स्थापनाकालदेखि नै प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेर इसेवालाई आजको दिनसम्म ल्याइ पु¥याउन सफल हुनुभएका र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा अत्यन्तै महत्वपूर्ण योगदान दिनुभएका अस्गर अलीलाई कम्पनीले विशेष धन्यवाद दिएको छ । उहाँ पछिल्लो समय इसेवाको बोर्ड अध्यक्षका रूपमा रहनुभएको थियो । बोर्ड अध्यक्षबाट उहाँले दिनुभएको राजीनामा कम्पनीको सञ्चालक समितिले स्वीकृत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्