विश्व बैंकले १५ करोड डलर ऋण सहायता दियो


काठमाडौं ।

नेपालको वित्तीय क्षेत्रलाई सुदृढ बनाउन विश्व बैंकले १५ करोड अमेरिकी डलर १८ अर्ब ३६ करोड रूपैयाँ बराबरको ऋण सहायता उपलब्ध गराएको छ ।

वित्तीय क्षेत्रको स्थायित्व वृद्धि गर्न, वित्तीय समाधानको विविधीकरण गर्न र नेपालमा वित्तीय सेवामा पहुँच बढाउन नेपाल सरकार र विश्व बैंकबीच बुधबार अर्थ मन्त्रालयमा ऋण सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरे ।

यो सहायताबाट कोभिड १९ र जलवायु परिवर्तनका उदयमान जोखिम सम्बोधन गर्न सहयोग पुग्ने अर्थसचिव मरासिनीले बताउनुभयो । उहाँले डिजिटल भुक्तानी र वित्तीय समावेशीकरणलाई मुल प्रवाहमा ल्याउनसमेत सहयोग केन्द्रित रहेको बताउनुभयो ।यो आयोजनालाई विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले गत १० चैतमा अनुमोदन गरेको थियो ।