नेपालमा बोसको बिक्री सम्पर्क कार्यालय



काठमाडौं  ।

मोबिलिटी इकोसिस्टममा नेतृत्वदायी प्रविधि तथा सेवा प्रदायक कम्पनी बोस लिमिटेडले काठमाडौंको नक्सालमा सम्पर्क कार्यालय खोलेको छ ।

भारतमा सय वर्षभन्दा लामो विरासतपछि यो सम्पर्क कार्यालयमार्फत् बोसले नेपालमा सशक्त उपस्थितिको प्रयास गरेको हो । नेपाल सरकार पूर्वाधार विकासका कार्यमा केन्द्रित भइरहेका तथा विकास निर्माणका क्रियाकलापमा भएको वृद्धिले सवारी साधन उद्योगमा माग उच्च बनाएका बेला बोसले नेपालमा नयाँ कदम चालेको छ ।

एसिया र प्रशान्त क्षेत्रमा इन्जिनियरिङ तथा उत्पादनमूलक क्षेत्रको विस्तार र स्थानीयकरणमा गतिशील विकासले गर्दा प्रगतिका अवसरहरू बढेका छन् । यस क्षेत्रमा लामो इतिहास र परम्परा बोकेको बोसले स्थानीय बजारमा आफ्ना उत्पादनको सशक्त उपस्थिति गराएर पदचाप बलियो बनाउने प्रयास निरन्तर जारी राखेको छ ।

नेपालमा बोसका क्रियाकलाप विशेष गरी अटोमोटिभ पार्टपुर्जाको बजार, पावर टुल्स, निर्माण प्रविधि, बोस रेक्सरोथ र बोस साइमेन्स होम अप्लाइन्सेस सेग्मन्टका वस्तु र सेवा प्रदानमा केन्द्रित हुनेछ ।११ सर्भिस पार्टनर र २५ कर्मचारीको बलमा बोसले सन् २०२४ सम्ममा आफ्नो बिक्री पहुँच तेब्बर बनाउने लक्ष्यसाथ नेपालभरका हजारभन्दा बढी सेकेन्डरी रिटेल ग्राहकलाई सेवा दिने छ ।

सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै बोस लिमिटेडका म्यानेजिङ डाइरेक्टर तथा भारतमा बोस ग्रुपका प्रेसिडेन्ट सौमित्र भट्टाचार्यले भन्नुभयो–‘सञ्चालनको आकार विस्तार गर्ने अभियानमा रहेका हामी प्राकृतिक सुन्दरता र समृद्ध संस्कृतिका लागि प्रशिद्ध मुलुक नेपालमा सेवा शुरू गर्ने पर्खाइमा छौं ।बोसले श्रीलंका, बंगलादेश र भारतमा प्राथमिक कार्यालय र भुटानमा आपूर्ति कार्यालयका साथ सार्क मुलुकसँग सदैव सहयोगपूर्ण सम्बन्धको लाभ लिइरहेको छ ।

हामीले हाम्रा अत्याधुनिक र विशिष्ट रूपमा निर्मित उत्पादन तथा सलुसन्सका साथ नेपालको मोबिलिटी र त्यसबाहिरको क्षेत्रमा जर्मन इन्जिनियरिङको अब्बल उत्पादनमार्फत सेवा दिने लक्ष्य राखेका छौं । हामीलाई प्राप्त निरन्तर सहयोगका लागि हामी नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौं र नेपाल र बोसबीच लामो साझेदारी विकासको प्रतीक्षा गर्दछौं ।’

नेपालमा कार्यालय उद्घाटनसँगै बोसले सामाजिक सहभागिताको आफ्नो प्रतिबद्धता लगायत ओखलढुंगा र पोखरामा स्वास्थ्य सचेतना र बालिकाहरूका लागि कार्यक्रम शुरू गर्नुका साथै आफ्नो सेकेन्डरी सेल्समा संलग्न जनशक्तिलाई सीप सिकाउन शुरू गरेको छ ।समय क्रममा बोसले जीवनस्तरलाई अझ माथि उकास्ने लक्ष्य लिएर उपयोगी र रोमाञ्चक उत्पादन तथा समाधान विकास गर्ने उद्देश्य प्राप्तिका लागि अनुसन्धान र विकासमा अर्बौं युरो लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्