सूचना प्रविधिमा महिलाको सहभागिता बढाउन जोड



काठमाडौं । 

सूचना प्रविधिमा महिलाको सहभागिता बढाउन सरोकारवालाहरूले जोड दिएका छन् । अन्तर्राष्ट्रिय गल्स इन आईसीटी दिवसको अवसरमा वुमन इन इन्फर्मेसन टेक्नोलोजी (डब्लुआईआईटी) आयोजना गरेको एक कार्यक्रममा सरोकारवालाहरूले यस्तो बताएका हुन् ।

उक्त दिवसको अवसरमा डुब्लुआईआईटीले ‘सेफर इन्टरनेट एक्सेस फर गल्र्स’ सम्मेलन आयोजना गरेको थियो । सुरक्षित इन्टरनेट पहुँचको नारामा बोकेर सम्पन्न भएको उक्त कार्यक्रममा सूचना प्रविधि क्षेत्रमा आवद्ध करिब ५० महिलाको सहभागिता थियो ।कार्यक्रममा सूचना प्रविधि क्षेत्रमा स्थापित अब्बल महिलाहरूले सुरक्षित इन्टरनेट पहुँचका विषयमा कार्यपत्रसमेत प्रस्तुत गरेका थिए ।

जसमा साइबर सुरक्षा कम्पनी मुनाल टेक प्रालिकी संस्थापक सीईओ मोना न्याँचो, एनसेलको इन्फर्मेसन सेक्युरिटी युनिट हेड यास्मिन भट्टराई र नेपाल प्रहरीकी प्राविधिक तथा इन्जिनियर दिपा भट्टराईले साइबर सुरक्षाका विविध आयाम, थ्रेट र जनचेतनामूलक कार्यपत्र प्रस्तुत गरेका थिए ।यसै गरी २०२० की आईसीटी आईकन प्राध्यापक तिमिला यामी थापाले आईसीटी क्षेत्रको आफ्नो यात्रा अनुभव सुनाउनुभएको थियो ।
कार्यक्रममा साइबर सुरक्षामै आधारित रहेर एउटा प्यानल छलफल कार्यक्रमसमेत आयोजना गरिएको थियो ।

उक्त प्यानलमा साइबर सेक्युरिटी कम्पनी इमिनेन्स वेजकी विजनेस डेभलपमेन्ट हेड निशा उपाध्याय, नेपाल बैंक लिमिटेडकी इन्फर्मेसन सेक्युरिटी अफिसर आईएसओ बन्दना शर्मा, नेपाल टेलिकमकी निर्देशक विनिता श्रेष्ठ र साइबर सुरक्षा सेवाप्रदायक कम्पनी लग पोइन्टकी सेक्युरिटी अनुसन्धानदाता शुष्मा शर्मा रहनुभएको थियो ।प्यानल छलफललाई क्यान महासंघकी वरिष्ठ उपाध्यक्ष तथा डब्लुआईआईटीकी कार्यकारी सदस्य रत्न तारा वैद्यले मध्यस्थता गर्नुभएको थियो । छलफलमा महिलाहरूले आफ्नो क्षेत्रमा हुँदै आइरहेको साइबर सुरक्षाका कार्यहरूको बारेमा बोल्नुभएको थियो ।

यसै गरी कार्यक्रममा प्रमुख अतिथिका रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्याल उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा बोल्दै सचिव अर्यालले आईसीटी क्षेत्रमा महिलाको सहभागिता बढाउन र साइबर सुरक्षा कायम गर्न आगामी वर्षको बजेट तथा नीति कार्यक्रममा समेत व्यवस्था गर्ने बताउनुभयो । त्यसका लागि आईसीटी क्षेत्रका विज्ञ महिलाहरूको परामर्शको खाँचो मन्त्रालयलाई सदैव रहेको उहाँले जानकारी गराउनुभयो ।

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको समेत उपस्थिति थियो । कार्यक्रममा बोल्दै खनालले आईसीटीमूलक कार्यक्रम शहर केन्द्रित भएको भन्दै उपत्यका बाहिरका दुरदराजमा समेत यस्ता किसिमका कार्यक्रमलाई पु¥याउन सुझाव दिँदै प्राधिकरण सहयोगका लागि सदैव तयार रहने प्रतिवद्धता जनाउनुभयो ।

यसै गरी कार्यक्रममा बोल्दै डब्लुआईआईटीकी अध्यक्ष गुनाकेशरी प्रधानले ९ जनाबाट शुरू भएको डब्लुआईआईटीले आयोजना गरेको यस्तो कार्यक्रमले प्रविधिको क्षेत्रमा संलग्न महिलाहरूलाई एकैथलोमा ल्याएर सम्बन्ध सञ्जाल विस्तार गर्न सहयोग पु¥याएको बताउनुभयो ।कार्यक्रममा डब्लुआईआईटीले देशव्यापी रूपमा आयोजना गरेको ग्राफिक्स डिजाइन प्रत्योगिताका तीन विजेतालाई समेत सम्मान पुरस्कार प्रदान गरेको थियो । जसमा प्रथम हुने सेन्ट जेभियर्सकी सरिता शाक्यले १० हजार, दोस्रो हुने इस्लिङटन कलेजकी स्तुती श्रेष्ठले ५ हजार र तेस्रो हुने अरनिको उच्च माध्यमिक विद्यालयकी प्रतीक्षा प्रधानले ३ हजार रूपियाँ राशिको पुरस्कार र सम्मानपत्र प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्