ढुवानीको बेथिति रोक्न ट्रक व्यवसायी आफैं सडकमा



यमलाल भुसाल, बुटवल ।

नेपाल ट्रक व्यवसायी महासंघ लुम्बिनी प्रदेश कमिटीमा क्रियाशील ट्रक व्यवसायी संघ संस्था र समितिहरू आन्दोलित भएका छन् । ट्रक व्यवसायीहरू महंगिएको इन्धनको बचत दुर्घटना रोकथाम र नेपाल सरकारले तोकेको ढुवानी भाडा प्राप्त गर्न सडकका उत्रिएका छन् । सरकारले गर्ने काम व्यवसायीले आफैं गर्न थालेका छन् ।

व्यवसायीले भारतीय तथा नेपाली गाडीको ओभर लोडलाई पुरै नियन्त्रणका लागि सडकमै गाडी रोकेर ओभरलोड आएका गाडीको सामान पल्टी गर्न थालेका छन् । उनीहरूले ओभरलोडका कारण सडक तथा पुलपुलेसा ध्वस्त हुने गरेको र नेपाली ट्रक व्यवसायको पेशा नै चौपट हुँदै गएकाले ओभर लोड नियन्त्रणलाई कडाई गरिएको बताएका छन् ।

सरकारले भन्सार बिन्दुमै भारतीय गाडीको ओभरलोड नियन्त्रण गर्नु पर्नेमा सो नगरेकाले व्यवसायीहरूले सडकमै उत्रिएर ओभरलोड नियन्त्रणमा जुटेको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष प्रतापबहादुर कार्कीले बताउनुभयो ।

समितिका पदाधिकारीहरू र व्यवसायीहरू गण्डकी प्रदेशको पूर्वी नवलपरासीको झरहीमा रहेको धर्मकाटाअगाडि जम्मा भएर ओभर लोड नियन्त्रणका साथै इन्धनको बचतका लागि लामो दूरीका ढुवानीका साधन ४ दिनको १ ट्रिप र छोटो दूरीको स्थानका लागि ३ दिनको १ ट्रिप हुने गरी सञ्चालनको व्यवस्था मिलाएको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका महासचिव हरिप्रसाद कंडेलले बताउनुभयो ।

व्यवसायी संघसंस्थाले गरेको निर्णयअनुसार सञ्चालन नहुने गाडीलाई सडकमै रोकी भार मिलान गर्ने र ट्रिपअनुसार सञ्चालनको व्यवस्था मिलाउन सडकमा आएको व्यवसायी गणेश मल्लले बताउनुभयो ।समितिले गरेको निर्णय पालना नगर्ने गाडी धनीलाई तथा चालकलाई समितिले प्रदान गर्ने दुर्घटना बिमाको सुविधा उपलब्ध नगराउने निर्णय गरेको नवलपुर उपाध्यक्ष पर्शुराम भण्डारीले बताउनुभयो ।

ओभर लोड ढुवानी गर्दा एकातिर गाडीको पार्टपुर्जा ध्वस्त हुने चालकको ज्यान जोखिममा पर्ने र सडक तथा पुलपुलेसा बिग्रिने भएकाले गाडी धनी र चालकलाई ओभर लोड घातक हुने हुनाले यस्ता गलत काम नर्गन पूर्वी नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भीमसेन घिमिरेले बताउनुभयो ।

जेहोस समितिले गरेको अभियानले एकातर्फ इन्धनको बचत हुने अर्कोतर्फ सडक पुलपुलेसा जोगिने, नेपाली गाडीले काम पाउने र सरकारले तोकेको भाडा व्यवसायी पाउने कुरामा सबै व्यवसायीको साथ रहन जरुरी देखिएको छ । आन्दोलनमा समितिका उपाध्यक्ष गणेश घिमिरे राजु केसीलगायतले समितिको निर्णय मुलुकभरका यातायात समितिले लागु गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्