बिमा कम्पनीलाई मर्जरमा जान सिलवालको आग्रह



काठमाडौं ।

बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले मुलुकको समग्र अर्थतन्त्र र बिमकको हितमा पुँजी वृद्धिको निर्णय भएकाले एक वर्षभित्र बिमा कम्पनीहरूले चुक्ता पुँजी बढाउनै पर्ने बताउनु भएको छ ।

बिमा समितिको आयोजनामा काठमाडौंमा आयोजित बिमकको पुँजी वृद्धिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले भन्नुभयो– बिमा समितिले बिमा बजारको अध्ययन एवम् विश्लेषण गरेर पुँजी वृद्धिको निर्णय गरेको हो ।‘बिमा कम्पनीको व्यवसाय बढोस् र अर्थतन्त्रमा पनि योगदान पुगोस् भन्ने समितिको चाहना हो । बिमा कम्पनीले एक वर्षभित्र चुक्ता पुँजी बढाउनै पर्छ । त्यसमा सहजीकरण गर्न बिमा समिति तयार छ’– उहाँले भन्नुभयो ।

पुँजी बढाउन सक्ने बिमा कम्पनीले बढाउनुपर्ने र नसक्नेले विकल्प खोज्नुपर्ने उल्लेख गर्नुहुँदै अध्यक्ष सिलवालले भन्नुभयो– ‘मर्जरको कुरा बिमा कम्पनीबाटै आएको हो, बिमा समितिले मर्जरमा जान दबाब दिएको छैन, समितिले त मर्जरमा जान बाटो खोलिदिएको मात्र हो । समितिले जारी गरेको जोखिममा आधारित पुँजीसम्बन्धी निर्देशिका आगामी २०८१ सालदेखि पूर्णरूपमा लागु हुन्छ र त्यसका लागि पनि थप पुँजी आवश्यक पर्नसक्छ ।’

बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले तोकिएको एक महिनाको अवधिमा करिब करिब सबै बिमा कम्पनीबाट पुँजी वृद्धिको योजना समितिमा प्राप्त भइसकेको जानकारी दिनुहुँदै पँुजी वृद्धिका लागि कतिपयले हकप्रद सेयर, कतिपयले बोनस सेयर, कतिपयले मर्जर र कतिपयले समयावधि थपको विषय योजना समावेश गरेको जानकारी दिनुभयो ।

कार्यकारी निर्देशक पौडेलले बिमा कम्पनीको सङ्ख्या धेरै भए पनि बिमा प्रतिको विश्वसनीयता बढ्न नसकेको र दाबी भुक्तानीमा समस्या देखिएको औंल्याउनुहुँदै बिमा बजारलाई मर्यादित, सुशासित र दिगो बनाउने उद्देश्यले पुँजी वृद्धिको निर्णय भएको बताउनुभयो ।कार्यक्रममा बिमा समितिका चार्टर्ड एकाउन्टेन्ट गोपाल पँगेनीले बिमकको पुँजी वृद्धिसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्