इन्जिनियरिङ बिमा दरसम्बन्धी निर्देशिका स्थगन



काठमाडौं।

बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिबाट जारी इन्जिनियरिङ बिमा दरसम्बन्धी निर्देशिका,२०७८ हाललाई स्थगन गर्ने जानकारी दिनुभएको छ ।

बिमा समितिको आयोजनामा सोमबार काठमाडौंमा निर्माण व्यवसायी महासंघ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाललगायत विभिन्न सरोकारवालाहरूसँग भएको इन्जिनियरिङ बिमा दरसम्बन्धी छलफल कार्यक्रममा अध्यक्ष सिलवालले त्यस्तो जानकारी दिनुभएको हो ।उक्त छलफल कार्यक्रममा बिमा समितिबाट गत असोज ६ गते जारी भएको इन्जिनियरिङ बिमासम्बन्धी निर्देशिका हाललाई स्थगन गरी सुझावसहितको प्रतिवेदन बुझाउन बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा एक उपसमिति गठन गर्ने निर्णय भएको छ ।

कार्यकारी निर्देशक पौडेल संयोजक रहनुभएको उपसमितिमा निर्माण व्यवसायी महासंघ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (ईप्पान), नेपाल बिमक संघ र पुनर्बिमा कम्पनीका दुई दुईजना प्रतिनिधि तथा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल हेभिइक्युपमेन्ट व्यवसायी महासंघ, शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालय, सर्भेयर एसोसिएसन र पुनर्बिमा कम्पनीका एक एकजना प्रतिनिधि सदस्य तथा बिमा समितिका प्रतिनिधि सदस्य–सचिव रहनुभएको छ । उपसमितिले सात दिनभित्र प्रतिवेदन बुझाउने गरी समयावधि तोकिएको छ ।

यसैगरी, कार्यक्रममा इन्जिनियरिङ बिमा दरसम्बन्धी निर्देशिका विरूद्ध आन्दोलनरत निर्माण व्यवसायी महासंघ, ईप्पान लगायतले गर्दै आएका धर्नालगायतका विरोधका सम्पूर्ण कार्यक्रमहरू स्थगन गर्ने निर्णय भएको छ ।कार्यक्रममा अध्यक्ष सूर्यप्रसाद सिलवालले राष्ट्रिय सम्पत्तिको अन्तर्राष्ट्रिय क्षेत्रका उत्कृष्ट कम्पनीमा पुनर्बिमा हुन सकोस्, राष्ट्रिय सम्पत्तिको सुरक्षा होस्, कुनै कारणले केही भएमा तुरून्तै बिमा दाबी रकम भुक्तानी पाइयोस् र इन्जिनियरिङ बिमा गर्दा कार्टेलिङ हुन नपाओस् भन्ने नै समितिको चासोको विषय भएको उल्लेख गर्नुभयो ।

अध्यक्ष सिलवालले इन्जिनियरिङ बिमा दर निर्देशिकाका सम्बन्धमा सरोकारवाला सबैको राय, सुझावका आधारमा अगाडि बढ्न समिति तयार रहेको बताउनुभयो ।बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले इन्जिनियरिङ बिमा दरका सम्बन्धमा सरोकारवालाहरूसँगको छलफलबाट निष्कर्ष निकालेर सहमतिका साथ अगाडि बढ्न समिति प्रतिवद्ध रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्