देख्ने, सुन्ने, भन्ने र गर्ने वडा बनाउने किरणको योजना

स्थानीय तह निर्वाचन



पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर १३ का वडाध्यक्षका आकांक्षी किरण बराल मतदाताको घरदैलो कार्यक्रममा व्यस्त छन् । गत सोमबार मनोनयन दर्ता गराएका बरालले नेपाली कांग्रेसबाट वडाध्यक्षको टिकट पाएका छन् ।

पोखराको मेयरमा उनको दलले नेकपा एकीकृत समाजवादीका धनराज आचार्यलाई मेयरमा सघाउँदैछ । निर्वाचन आउन दुई हप्ता बाँकी रहँदा बरालको व्यस्तता पनि उत्तिकै देखिन्थ्यो । पोखरा १३ स्थित बीपी मार्गका विभिन्न टोलमा बराल आफ्ना वडासदस्यका उम्मेदवारसँग घरघर पुग्दै थिए ।

उनले मत माग्ने शैली बेग्लै थियो । घरमा पुग्ने, सबैलाई भेट्ने अनि आशीर्वाद लिने । दुःखसुख सोध्ने, वडाबाट तपाईंलाई के अपेक्षा छ भनेर सोध्थे । मतदाताले सोध्नुपूर्वै उनले वडामा देखिएका समस्या सुनाउँथे । र, त्यही समस्या समाधान गर्न आफू वडाध्यक्ष बन्न लागेको बताउँथे ।

“वडामा तपाइले भोगेका र मैले भोगेका समस्या एउटै हुन, म तिनै समस्या समाधान गर्न हजुरहरुको वडाध्यक्ष बन्न चाहेको छु, मलाई आशिर्वाद दिनुहोस् ।” बरालको वाक्यमा मतदाता भन्थे, “आशीर्वाद छ, तर प्रतिबद्धता पूरा होस नि ।”

कास्कीमा गठबन्धन गर्ने भनेता पनि कांग्रेस कास्कीले मेयरमा समाजवादीलाई सघाउने अन्यत्र चाहिँ मैत्रीवत प्रतिष्पर्धा गर्ने निर्णय गरेको छ । सोही निर्णय अनुसार पोखराका ३३ वटै वडामा कांग्रेस, माओवादी लगायतका दलहरुले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् ।

त्यही उम्मेदवारी दिएको भोलिपल्टबाटै बराल घरदैलोमा निस्किएका हुन् । घरदैलोकै क्रममा उनले आफ्नो राजनीतिक सक्रियता सुनाए ।

वडालाई जनताको देख्ने, सुन्ने, भन्ने र गर्ने गराउँछु भनेर अठोटमा निस्किएका बराल १३ वर्षको उमेरदेखि नेविसंघ हुँदै अहिलेसम्म क्रियाशील छन् ।

प्रतिक्रिया दिनुहोस्