‘बालमैत्री उद्यानदेखि वयोबृद्धाका लागि वृद्धाआश्रमसम्म’



जाजरकोट ।

भेरी नगरपालिका–४ को वडाअध्यक्ष पदमा वसन्तप्रसाद शर्माले नेकपा (माओवादी केन्द्र)बाट मनोनयन दर्ता गराएका छन् । यही वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि शर्माले अध्यक्ष पदमा मनोनयन दर्ता गराएका हुन् ।

उनले मनोनयन दर्ता गराएको केही दिन पश्चात् घोषणापत्र पनि सार्वजनिक गरेका छन् । घोषणापत्रमा शर्माले बालबालिकाको मनोरञ्जनका लागि सुन्दर उद्यान निर्माणदेखि वयोबृद्धाका लागि भजनकृतन गर्ने बृद्धाश्रमको व्यवस्था गर्ने लगायतका प्रतिबद्धता घोषणा गरेका छन् । यसका साथै उनले शिक्षा, स्वास्थ्य, सरसफाइ, खानेपानी, विद्युतलगायत वडाका महत्वपूर्ण कार्य निर्माणका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेका हुन् ।

शर्माले वडालाई प्रविधिमैत्री बनाउनका लागि सार्वजनिक स्थलमा फ्रि–वाइफाई, चोरी–डकैती नियन्त्रण तथा रोकथामका लागि सीसी क्यामरा जडान, दलित, गरिब बालबालिकालाई छात्रवृत्तिको व्यवस्था, वयोबृद्धाका लागि सुविधा सम्पन्न वृद्धाआश्रमको व्यवस्था, प्रत्येक घरघरमा खानेपानी, फोहर, ढल निकासको व्यवस्था आदि कार्य गर्ने घोषणापत्रमा समेटेका छन् ।

उनले घोषणापत्रमा दुई दर्जनभन्दा बढी प्रतिवद्धता गरेका छन् । भेरी नगरपालिका–४ मा २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले जितेको थियो । यस पटकको निर्वाचनमा पनि सो वडामा दलहरूबीच भारी प्रतिस्पर्धा हुने निश्चित छ ।

तथापि उक्त नगरपालिका वडा नम्बर–४ मा नेकपा (माओवादी केन्द्र)बाट अध्यक्षका उम्मेदवार वसन्तप्रसाद शर्मा पढे, लेखेका बौद्धिक, शान्त, सुशिल र भद्र स्वभावका छन् । उनले यसअघि उद्योग बाणिज्य संघमा रहेर सवल सांगठानिक भूमिका निर्वाह गरिसकेका छन् । यसका साथै शर्माले जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी संघ, संस्था, पार्टीको अहम् भूमिका निर्वाह गरेका छन् ।

यस्तो छ शर्माको घोषणापत्र :

१. वडा नं. ४ का विभिन्न स्थानमा बालबालिकाकालाई मनोरञ्जनका लागि बाल उद्यान निर्माण गरिनेछ ।

२. वडा नं ४ भित्रका विभिन्न चोक तथा स्थानमा शान्ति सुरक्षाका लागि स्टेट लाईटको व्यवस्था गरिने छ ।

३. वडा भरिमा फ्रि–वाईफाईको व्यवस्था गरिने छ ।

४. गरिव तथा विपन्न परिवारका बालबालिकाको पठनपाठनमा छात्रवृत्ति अनुदान सहयोग गर्ने व्यवस्था मिलाइने छ ।

५. वडा नं ४ को गैरीखाली आसपासका क्षेत्रबाट निस्कने फोहोर पानीलाई ढल निकासका माध्यामबाट शान्तिचौतारा बसपार्कमा झारेर बोहोरा मुलपानीको खानेपानी मुहानलाई संरक्षण गरी पेल्टीसेटको निर्माण गरी विद्युत उत्पादन तथा सिंचाई सुविधाको व्यवस्था मिलाइने छ ।

६. वडा नं ४ मा व्याप्त खानेपानी समस्यालाई निर्माणाधीन वृहत खानेपानीलगायत अन्य अपुरो खानेपानी योजनालाई यथाशीघ्र सम्पन्न गर्नका लागी जोड दिँदै खानेपानीको समस्यालाई समाधान गरिने छ ।

७. लैंगिक हिंसा अन्त्यका लागि न्याय, सुरक्षा र सहयोग प्रणालीमा जोडिने छ ।

८. बृद्धबृद्धाका लागि दिउँसोको समयमा भजन किर्तन तथा मनोरञ्जन गरी समय विताउनेहरुका लागि बृद्धाश्रम निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने छ ।

९. टोल विकास संस्थालाई सामुदायिक सशक्तिकरणका काममा परिचालन गरिने छ ।

१०. वडा भित्र केहि स्थानमा सीसी टिभी क्यामरा जडान भएको भएपनि थप अन्य स्थानमा समेत सीसी क्यामरा जडान गरी अपराधिक क्रियाकलापलाई न्यूनीकरण गरिने छ ।

११. जातिय भेदभाव र छुवाछुतलाई २ वर्षभित्र मुक्त गर्न व्यापक अभियान सञ्चालन गरिने छ ।

१२. वडा भित्रका सरकारी विद्यालयलाई प्रविधिमैत्री विद्यालय बनाउनका साथै छानारहीत विद्यालय भवन निर्माण गरिने छ ।

१३. बजार क्षेत्रमा यातायातको साधन सुविधा अटो सेवा सञ्चालनका लागी पहल गरिनुका साथै सार्वजनिक सडकमा अव्यवस्थित रूपमा राखिने निर्माण तथा अन्य सामग्रीलाई व्यवस्थित रूपमा राख्ने व्यवस्था मिलाइने छ ।

१४. युवा तथा किशोरकिशोरी केन्द्रित सीप विकास कार्यक्रम सञ्चालन गरिने छ ।

१५. खानेपानीलाई गुणस्तर परिक्षण गरी विकार मुहानलाई शुद्धिकरण गरिने छ ।

१६. आधारभुत स्वास्थ्य केन्द्र बोहरामा बर्थिङ सेन्टर सेवा थप गरी यथाशीघ्र प्रभावकारी स्वास्थ्य सेवा सञ्चालन गरिने छ ।

१७. वडा क्षेत्रभित्र विद्युतिकरण विस्तार नभएका क्षेत्रमा विद्युतिकरण विस्तारका लागी पहल गरिने छ ।

१८. बजार क्षेत्रमा देखिने फोहोर व्यवस्थापन नभइरहेको अबस्थालाई व्यवस्थापन गर्न पहल गरिने छ ।

१९. खलंगा प्रवेशविन्दु शान्ति चौतारालाई सुन्दर, आकर्षक र मनमोहक बनाइने छ । खलंगा बजार क्षेत्रको जानकारी पाटी राखिने छ ।

२०. नेपाल सरकार, कर्णाली प्रदेश सरकारका कार्यालय आयोजना र विकास साझेदार संघ संस्थाहरूबीच
समन्वय र सहकार्य प्रवद्र्धन गरिने छ ।

२१. वडाभित्र रहेका कालिका मन्दिर÷रामजानकी मन्दिर÷राधाकृष्ण मन्दिर÷कृष्ण मन्दिर÷ईउरी र धल्लाका मन्दिर मर्मत सुधार गरिने छ ।

२२. सडक सञ्जालमा नजोडिएका वस्तीहरूलाई सडक सञ्जालमा जोडिने छ ।

२३. खोला नदीमा गिट्टी बालुवा संकलन र निकासी कार्यलाई नियमन गरिने छ ।

२४. वडाभित्र भ्रष्ट्राचार न्यूनीकरण र सुशासन कायम गर्ने बिषयमा पुर्ण रूपमा प्रतिबद्ध भई काम गरिने छ ।

२५. वडा अध्यक्ष निर्वाचित भएमा वडाअध्यक्षले पाउने मासिक पारिश्रमिक आफ्ना लागि नलिई विपन्न र
गरिव वालवालिकाको पठनपाठन तथा स्वासथ्य उपचारका लागी सहयोग गरिने छ ।

प्रतिक्रिया दिनुहोस्