चालु आर्थिक वर्षमा आयात २० खर्ब पुग्ने



काठमाडौं (नेस) ।

सरकारले व्यापार घाटा घटाउन विभिन्न उपाय अवलम्बन गरिरहेको बताइरहेका बेला केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा आयात २० खर्ब रुपियाँमा पुग्ने प्रक्षेपण गरेको छ ।विभागले निर्यात ३ खर्ब २० अर्ब पुग्ने अनुमान गरेको छ । यो अनुमानअनुसार वैदेशिक व्यापार भएमा व्यापार घाटा मात्रै करिब १७ खर्ब पुग्ने देखिन्छ ।

विभागले वैदेशिक व्यापारले पनि आर्थिक वृद्धिमा सघाउने भन्दै बढेको आयात र निर्यातले पनि प्रक्षेपित आर्थिक वृद्धि हात पार्न सघाउने विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले बताउनुभएको छ । यो वर्ष सरकारले ५ दशमलव ८४ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।
चालु आर्थिक वर्ष २०७८-७९ को ९ महिनासम्म आइपुग्दा व्यापार घाटाको आंकडा १३ खर्बभन्दा माथि रहेको छ । भन्सार विभागको तथ्यांकअनुसार कुल वस्तु आयात १४ खर्ब ६६ अर्ब ६६ करोड रूपियाँ बराबरको भएको छ । यो अवधिमा निर्यात भने १ खर्ब ६० अर्ब ५७ करोड रूपियाँ बराबरको मात्र भएको छ ।

नेपालको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९०दशमलव १३ प्रतिशत र निर्यातको हिस्सा ९ दशमलव ८७ प्रतिशत रहेको छ । ९औं महिनासम्म आइपुग्दा निर्यातमा देखिएको उच्च वृद्धिका कारण निर्यातको हिस्सासमेत बढ्दै गएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्