नेपाल टेलिकमले ई–सिम उपलब्ध गराउने



काठमाडौं  ।

नेपाल टेलिकमले निकट भविष्यमै ई–सिम कार्ड उपलब्ध गराउने भएको छ । यससम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र मोन्टी युके ग्लोबलको स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिज प्रालिका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दका बीच सम्झौता सम्पन्न भएको छ ।

सम्झौताअनुसार मोन्टी युके ग्लोबलले नेपाल टेलिकमका ग्राहकहरूलाई ई–सिम सेवा उपलब्ध गराउनका लागि आवश्यक प्लेटफर्म उपलब्ध गराउने छ ।सो अवसरमा प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीले नेपाल टेलिकमले नयाँ नयाँ प्रविधि भित्र्याउने क्रममा ई–सिमसमेत उपलब्ध गराउने भएको र यसका लागि आवश्यक कार्य छिट्टै नै प्रारम्भ हुने विश्वास व्यक्त गर्नुभयो ।

अल्टिमेट होराइजन टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दले ई–सिमका लागि आवश्यक सम्पूर्ण प्राविधिक कार्य समयमै सम्पन्न गरी कम्पनीलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।ई–सिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रूपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता नपर्ने टेलिकमले जनाएको छ ।

ई–सिम प्रयोगमा आएपश्चात् सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसहरूमा समेत प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्