नबिल बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सम्झौता



काठमाडाैं  ।

नबिल बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच नवीकरणीय ऊर्जा आयोजनाको प्रवद्र्धनका लागि केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग ऋण नोक्सान ग्यारेन्टी सम्झौता भएको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कार्यालय, मध्यबानेश्वरमा आयोजित एक कार्यक्रमकाबीच उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको तर्फबाट कार्यकारी निर्देशक मधुसूदन अधिकारीले हस्ताक्षर गर्नुभयो ।

सम्झौताका मुख्य विशेषता कुनै पनि नवीकरणीय ऊर्जा आयोजनालाई दिएको ऋण कर्जाको भुक्तानी नभएमा त्यस ऋणमा नवीकरणीय ऊर्जा कोषले २० प्रतिशत साँवा रकमसम्मको सुरक्षण प्रदान गर्ने भएको छ । यसअन्तर्गत शुरूमा यस जमानतले १० करोडसम्मको सुरक्षण प्रदान गर्ने छ ।वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको वित्तीय संयन्त्र केन्द्रीय नवीकरणीय ऊर्जा कोषले युके एडको सहयोगमा सस्टेनेबल एनर्जी च्यालेन्ज फन्डको स्थापना गरेको छ । एसइसीएफले नवीकरणीय ऊर्जा परियोजनाहरूलाई वित्तीय व्यवहार्यता र दिगो सञ्चालन सुनिश्चित गर्न वित्तीय र प्राविधिक सहायता प्रदान गर्ने गरेको छ । सम्झौतासँगै बैंकले दिगो ऊर्जा स्रोतको प्रवद्र्धन गर्ने र नवीकरण ऊर्जामा बलियो लगानी निर्माण गर्ने उद्देश्य लिएको छ ।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, केन्द्रीय नवीकरणीय ऊर्जा कोष, नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम तथा बैंकका उच्चपदस्थ कर्मचारीको उपस्थिति रहेको थियो ।नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले गत असार १५ गते धान दिवसमा दिगो बैंकिङ कार्यक्रमको शुरूवात गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्