बजेट निर्माणका विषयमा विभिन्न मन्त्रालयसँग छलफल



काठमाडौं (नेस) ।

आगामी आर्थिक वर्ष २०७९–८० को बजेट निर्माणलाई तीव्रता दिइरहेको अर्थ मन्त्रालयले सोमबार बिहान वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गरेको छ ।

त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल भएको थियो ।वन मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री जनार्दन शर्माले वनको विनास नगरी अधिकतम प्रयोगमा जोड दिनुपर्ने बताउनु भएको थियो । उहाँले विदेशबाट ठूलो परिमाणमा काठ आयात भएको भन्दै नेपालकै वनमा रहेको काठको उपयोग गरी विदेशबाट हुने आयात रोक्ने कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।

वन तथा वातावरण मन्त्रालयले मधेश प्रदेशमा वृक्षरोपण कार्यक्रमको अभियान चलाउने गरी नीति–कार्यक्रम र बजेटमा समावेश गर्न आग्रह गरेको थियो । त्यसक्रममा मन्त्री शर्माले ठूलो संख्यामा बेर्ना उत्पादन गरी मधेसमा वितरण गर्ने प्रस्ताव आए बजेटमा समावेश गरिदिने बताउनुभएको थियो ।स्थानीय सहकारी र समूह परिचालन गरी जडिबुटी उत्पादन र प्रशोधनमा लगानी गर्ने कार्यक्रम ल्याउन उहाँले निर्देशन दिनुभएको थियो ।

‘हामीले दाँत कोट्याउने सिन्का विदेशबाट आइरहेको छ । अनि हाम्रा वनका रूख र काठहरू कुहिएर खेर गइरहेका छन् । अबका दिनमा यस्ता नीति सच्चिने गरी अगाडि बढ्नु जरुरी छ’ मन्त्री शर्माले भन्नुभयो ।छलफलमा अर्थ सचिव मधुकुमार मरासिनीले वनको विनाश नगरी अधिकतम उपयोग गरे ठूलो मात्रामा सरकारले राजस्व पाउने स्थिति देखिएको बताउनुभयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री शर्माले केन्द्र, प्रदेश र स्थानीय तहले कस्ता सडक आयोजना निर्माण गर्ने भन्ने विषयमा यकिन गरी बजेट र कार्यक्रम प्रस्ताव गर्न निर्देशन दिनुभयो ।निर्माणधीन पुल, सडकलाई टुङ्गाउने गरी यसपाली बजेट राखौं । सबै केन्द्रले पनि बनाउने होइन । छोटा पुलहरू प्रदेशलाई बनाउन दिए पनि हुन्छ उहाँले भन्नुभयो– ‘प्रदेशले ट्रयाक खोलेका र नयाँ बनाएका सडक मर्मतको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्छ ।’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग भएको बैठकमा मन्त्रालयको तर्फबाट उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडू, उद्योग सचिव अर्जुनप्रसाद पोख्रेल, वाणिज्य तथा आपूर्ति सचिव डा. गणेशप्रसाद पाण्डेलगायतको उपस्थिति थियो ।उद्योग मन्त्रालयले नीति–कार्यक्रम र बजेटमा समाावेश गर्नुपर्ने विषयहरूको प्रस्तुतीकरण दिएको थियो ।

त्यसक्रममा प्रस्तावित कार्यक्रमबाट २५ हजार ४ सयलाई रोजगारी सिर्जना हुने, नयाँ ठाउँमा विशेष औद्योगिक क्षेत्र स्थापना गर्नुपर्ने, भएका औद्योगिक क्षेत्रलाई मर्मत सम्भार गर्ने, पेट्रोलियम पाइपलाइन बिस्तार गर्नेलगायतका प्रस्ताव गरिएको थियो ।सो छलफलमा अर्थमन्त्री शर्माले निर्यात प्रतिस्थापनका लागि उत्पादन वृद्धि र रोजगारी सिर्जनाका कार्यक्रम थपेर ल्याउन आग्रह गर्नुभएको थियो ।कुन क्षेत्रका उद्योगले कति उत्पादन वृद्धि र कति रोजगारी सिर्जना गर्छन् भन्ने तथ्यांकसहित अर्को बैठकमा उपस्थित हुन उहाँले निर्देशन दिनुभएको थियो ।

समयमै किसानको धान सरकारले किनेर उत्पादन वृद्धिको लक्ष्य हासिल हुने गरी कार्यक्रम प्रस्ताव गर्न वाणिज्य तथा आपूर्ति सचिव पाण्डेलाई उहाँले निर्देशन दिनुभएको थियो ।छलफलमा उद्योग मन्त्री बडूले निर्यात हुने वस्तुको उत्पादन वृद्धिका लागि सम्बन्धित मन्त्रालयहरूको संयुक्त कार्यादल बनाएर काम गर्नुपर्ने प्रस्ताव गर्नुभएको थियो ।‘स्वदेशी वस्तुको उत्पादन वृद्धिमा संलग्न निकायको एउटा एकिकृत संयन्त्र बनाउनुपर्छ । यसै वर्षबाट यस्तो संयन्त्र बनाई काम शुरू गरौं’ उहाँको प्रस्ताव थियो ।

अर्थ सचिव मधुकुमार मरासिनीले निर्यात भइरहेका र सम्भावना बोकेका वस्तुको सूची बनाई उत्पादन वृद्धिको कार्यक्रम बनाउनुपर्ने बताउनुभएको थियो । तीन वटै मन्त्रालयसँग पुन छलफल हुने गरी बैठक सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्