अर्थमन्त्रीसँग नाडा प्रतिनिधिमण्डलको भेट



काठमाडौं (नेस) ।

नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेको छ । मन्त्री शर्माले निजी सवारी साधन आयातमा केही समयका लागि मात्रै कडाई गरिएकाले नअत्तालिन सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो– ‘अहिले देशको अर्थतन्त्र अलि दबाबमा छ । यो बेला सबैले मिलेर अर्थतन्त्र विकासको काम गर्नुपर्ने बेला हो । निजी सवारी साधन आयातमा गरिएको कडाईप्रति आपत्ती नजनाउनुहोला । यो केही समयका लागि मात्र हो । अर्थतन्त्रका बारेमा अनावश्यक टिप्पणी भइरहेको भन्दै सुदृढ आर्थिक व्यवस्थाका लागि सरकार क्रियाशील भइरहेको उहाँले बताउनुभयो ।

अहिले अर्थतन्त्रका नाममा राजनीतिकरण भइरहेको छ । यो सर्वथा गलत हो भन्नु हुँदै मन्त्री शर्माले नाडा प्रतिनिधिलाई संस्थागत ढङ्गले नै अर्थतन्त्रको वास्तविक अवस्थाबारे प्रकाश पार्न पनि आग्रह गर्नुभयो । उक्त भेटघाटमा अध्यक्ष थापाले हालै नाडाले संकलन गरेको तथ्याङ्क प्रस्तुत गर्दे ३ खर्ब ५० अर्बभन्दा बढीको लगानी रहेको, हरेक बर्ष १ खर्ब ५० अर्बभन्दा बढी राजस्वमा योगदान पुर्याउँदै आएको र देशको प्रत्यक्ष रोजगारीमा हाल ९८ हजारभन्दा बढीलाई अवसर दिएको उहाँले बताउनुभयो ।

सोही क्रममा अध्यक्ष थापाले प्रतितपत्र खोल्ने सम्बन्धमा बैंक तथा वित्तीय निकायहरूले गरिरहेको अवरोध खुलाउन आग्रह गर्नुभएको थियो । त्यसै गरी उहाँले काठमाडौंमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादनहरूको प्रदर्शनीका लागि उपयुक्त स्थानको अभाव रहेको हुँदा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न प्रर्दशनी स्थलको निर्माणका लागि बजेट विनियोजन गरिदिनसमेत अनुरोध गर्नुभएको थियो ।

उक्त छलफलमा उपाध्यक्ष राजनबाबु श्रेष्ठले सवारी साधनहरूको आयात बन्द हुँदा देशमा पर्न सक्ने असरहरूबारे माननीय मन्त्रीलाई विस्तृत रूपमा जानकारी गराउनुभएको थियो । त्यसै गरी सो छलफलमा अर्का उपाध्यक्ष सुनिल रिजालले नेपालका सीमा नाकाहरूबाट हुने स्पेयर पार्टस्को चोरी पैठारीलाई नियन्त्रण गर्न विशेष निगरानीको व्यवस्थाको लागि समेत आग्रह गर्नुभएको थियो ।

सोही छलफलका क्रममा महासचिव सुरेन्द्र उप्रेतीले नेपालमा अटोमोबाइल उद्योग स्थापनाका लागि उपयुक्त वातावरण तयार गरिदिन आग्रहसमेत गर्नुभएको थियो । उक्त छलफलमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्यद्वय आकाश गोल्छा, अभिक ज्योति, निशान ढकाल र एसोसिएसन सचिव सुरेन्द्र प्रधानसमेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्