नर्भिकको अत्याधुनिक भवन निर्माण शुरू



काठमाडौं ।

पब्लिक कम्पनीमा रूपान्तरण भई क्षमता विस्तारका लागि आक्रामक बनेको नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्नो महत्वाकांक्षी प्रोजेक्टको थालनी गरेको छ ।

नर्भिक अस्पतालले आफ्नो महत्वाकांक्षी प्रोजेक्ट ‘अत्याधुनिक भवन निर्माण’को कामलाई विधिवत रूपमा बिहीबारबाट शुरू गरेको छ । नयाँ वर्षको शुभमुहूर्तमा ८ तले अत्याधुनिक अस्पताल भवनको निर्माण थालिएको छ ।हालको अस्पतालको पार्किङस्थल क्षेत्रमा क्यान्सर उपचारको अत्याधुनिक सुविधासहितको सेवा विस्तार गर्ने उद्देश्यले भवन निर्माणको काम थालिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिनुभयो ।

नेपालमा आधुनिक स्वास्थ्य सेवाको जग बसालेको श्रेय पाउने गरेको नर्भिकको बिहीबार २९ औं वार्षिकोत्सवसमेत हो । वार्षिकोत्सवको अवसर पारेर भवन निर्माणको कामको सुरुआत गरिएको मिश्रले बताउनुभयो ।अस्पतालको भवन निर्माणको जिम्मा रोशन कन्स्ट्रक्सन प्रालिले पाएको छ । अबको एक वर्षभित्र भवन संरचना नर्भिकलाई हस्तान्तरण गरिने निर्माण कम्पनीले जनाएको छ । कुल १ लाख ६५ हजार स्क्वायर फिटमा बन्न लागेको नयाँ भवन कम्प्रिहेन्सिभ क्यान्सर ट्रिटमेन्टसहितको आधुनिक र सुविधा सम्पन्न हुने दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्