१५ औं दरबारमार्ग महोत्सवको तयारी पूरा



काठमाडौं ।

नेपाली नयाँ वर्ष २०७९ को अवसरमा वैशाख ३ गते, शनिबार काठमाडौंको दरबारमार्गमा आयोजना हुने १५ औं दरबारमार्ग महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।

कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थानका लागि सहकार्य ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन’ भन्ने मूल नारासहित यो महोत्सव आयोजना हुन लागेको हो ।महोत्सव नेपाल उद्योग वाणिज्य महासंघ, महासंघको सदस्य रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) र दरबारमार्ग विकास बोर्डले एनसेलसँग महासंघको विशेष सहकार्य र मुख्य प्रायोजनमा यो महोत्सव आयोजना हुन लागेको हो ।

आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरी देशको पर्यटन विकासमा टेवा पु-याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने महोत्सवको मूल उद्देश्य रहेको छ ।सातै प्रदेशको संस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिहरूको प्रस्तुतिका साथ महोत्सवको औपचारिक शुुभारम्भ शनिबार बिहान ११ बजे हुने आयोजकले जनाएको छ । गीतसंगीतका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुति र महोत्सव आयोजना हुने क्षेत्रमा विविध रमाइला गतिविधिसहित महोत्सव बेलुका ८ बजेसम्म आयोजना हुने भएको छ ।

चर्चित गायक गायिका, कलाकार तथा सांगीतिक समूहको प्रस्तुति, विभिन्न नेपाली खानाका परिकार र स्वदेशी उत्पादनको विशेष प्रदर्शन-प्रस्तुतिका स्टलहरू, बालबालिकाका लागि छुट्टै किडस् जोन महोत्सवको विशेष आकर्षण रहने पनि अयोजकले जनाएको छ ।महोत्सवमा दीपक बज्राचार्य, कबवेब, समृद्धि राई वीथ व्यान्ड, सुवानी मोक्तान, शास्त्रीय सांगीतिक समूह सुरसुधालगायत अन्य कलाकार तथा समूह एभरेस्ट क्रु, महेश काफ्ले, र भेकले आ–आफ्ना प्रस्तुति दिने भएका छन् । साथै मोटिभेसनल स्पिकर र ब्लाइन्ड रक्स संस्थाकी सृष्टि केसी र कमेडियन भरतमणि पौडेल एन्ड सुमन कोइरालालगायतका प्रस्तुतिहरू रहनेछन् ।

महोत्सवमा शारीरिक रूपमा भिन्न क्षमता भएका उद्यमीले उत्पादन गरेका हस्तकलाका वस्तुहरू पनि प्रदर्शनीमा राखिने छन् । त्यसै गरी महोत्सवमा महिला उद्यमीसहित हस्तकला उद्यमीहरूबाट उत्पादित वस्तुहरूका उत्पादन पनि प्रर्दशनीमा रहने छन् । महोत्सव स्थलमा ६० वटा स्टल रहनेछन् ।दरबारमार्गको दक्षिण क्षेत्रको महेन्द्र शालिकसम्म र उत्तरतर्पm नारायणहिटी संग्रहालयको गेटको ट्राफिक पोलसम्मको क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ । साथै सातै प्रदेशबाट विभिन्न जात जातिका सांस्कृतिक नृत्यहरू दरबारमार्ग आसपासका सडकमा प्रस्तुति गरिने छन् ।विश्वभर महामारीको रूपमा फैलिएको कोभिडबाट शिथिल भएको व्यापार व्यवसायमा अति प्रभावित क्षेत्रमा साना मझौला उद्यम तथा पर्यटन उद्योग छ । हाल ९० प्रतिशत बढी जनसंख्याले कोभिड विरुद्धको खोप लगाइसकेको र जनजीवन सामान्य हुँदै गएको अवस्थामा आर्थिक क्रियाकलापलाई महोत्सवले जागरुक बनाउने विश्वास आयोजकले लिएको छ ।

महोत्सवको सह–प्रायोजकमा गोरखा व्रुअरी र रोयल स्ट्याग रहेका छन् । महोत्सवको बैकिङ पार्टनरमा एनआईसी एसिया बैंक, इन्सुरेन्स पाटर्नरमा नेसनल लाइफ इन्सुरेन्स, विभरेज पाटर्नरमा डावर नेपाल, अन्य सहयोगी पाटर्नरमा नेपाल पर्यटन बोर्ड, काठमाडौं महानगरपालिका, मनकामना केवलकार, केएफसी, पिजा हट, फोन पे, एनडीज आइसक्रिम, नेपाल डेरी रहेका छन् । कोभिडले थलिएको उद्योग व्यवसाय, अर्थतन्त्र, पर्यटन व्यवसायलाई कसरी चाँडोभन्दा चाँडो पुनरूत्थान, नव उत्थानमा लैजान सकिन्छ भनी निरन्तर काम भइरहेको सन्दर्भमा महोत्सवले यो प्रयासमा निकै ठूलो सहयोग गर्ने विश्वास आयोजकको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्