गिरीचौकामा पाँच करोड बढीको ‘सौर्य मिनिग्रिड आयोजना’ लागू



डोटी । 

भौगोलिकरूपमा विकट क्षेत्र डोटीको आदर्श गाउँपालिका वडा नं. ६ गिरीचौकामा पाँच करोडभन्दा बढीको सौर्य मिनिग्रिड आयोजना लागू हुने भएको छ ।

ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र आदर्श गाउँपालिकाको साझेदारीमा पाँच करोड १ लाख ४१ हजार ८ सय ८८ रुपैँया ६४ पैंसाको लागतमा सौर्य मिनिग्रिड आयोजना लागु हुन लागेको गाउँपालिकाले जनाएको छ ।जसका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र आदर्श गाउँपालिकाबिच गएको फागुन २० गते सम्झौता भईसकेको जनाएको छ । जस अनुसार ९० प्रतिशत रकम वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट रकम भुक्तानी हुनेछ भने १० प्रतिशत रकम आदर्श गाउँपालिकाले व्यहोर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

आयोजना कार्यान्वयनका लागि आदर्श गाउँपालिकाले हाल ३० लाख रकम विनियोजन गरिसकेको जनाएको छ ।उक्त गिरीचौका सौर्य मिनी ग्रिड ८० किलोवाट पिक क्षमताको रहने र त्यसबाट गिरीचौकाका ३ सय ११ घरधुरी प्रत्यक्ष लाभान्वित हुनुका साथै थप घरधुरीहरूमा समेत सौर्य बत्ती वितरण गर्न सकिने जनाईएको छ ।

उक्त कार्यका लागि टेन्डर प्रक्रियाका लागि सूचना प्रकाशन भईसकेको आदर्श गाउँपालिका वडा नं. ६ का वडाअध्यक्ष लालबहादुर खडायतले जानकारी दिनुभयो । नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन विस्तार हुन नसकेको सो क्षेत्रमा सौर्य मिनी ग्रिड आयोजनाबाट घर–घरमा बत्ती बल्ने भएपछि गिरीचौकाका स्थानीय बासिन्दा निकै हर्षित भएका स्थानीयवासी गणेशबहादुर विष्टले बताउनुभयो ।

विकट बस्ती गिरीचौकामा उज्यालो पु-याउन वैकल्पिक ऊर्जाले आयोजना क्षेत्र छनौट गरेकोमा स्थानीयवासी खुसी भएका हुन् । उक्त सौर्य मिनी ग्रिड आयोजनाको कार्यान्वयन समयावधि आगामी २०७९ फागुन मसान्तसम्म रहेको र आवश्यकताका आधारमा थप गर्न सकिने सम्झौतामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्