देश बचाउने कि नेता ?



‘चिन्ताले कहिल्यै हिजोको दुःख लुट्दैन । उसले त आजको आनन्द समाप्त गरिदिन्छ ।’ वैचारिक महान् व्यक्ति लियो बुस्कागलियाको यो भनाइबाट चिन्ता गर्नु नहुने र यसले हरेक मानिसको वर्तमानको आनन्दलाई समाप्त गर्छ भन्ने बुझिन्छ ।

दक्षिण पूर्वी एसियामा अहिले श्रीलङ्कापछि नेपालको आर्थिक स्थिति डामाडोल भएको बारे चिन्ता र चासो बढिरहेको छ । लैबरी पाराका लहडी नेताहरू, विनायोजनाका आम्दानीभन्दा खर्च बढी हुने कामहरू र अस्थिर मनस्थिति बोकेका जनताका कारण देश यतिखेर आर्थिक भासको दलदलमा भासिएको पक्कै देखियो । यही अवस्था रहिरहेमा कुनै पनि बेला देश टाट पल्टन सक्ने चेतावनी अर्थ क्षेत्रका जानकारहरूले दिएका छन् ।

पञ्चहरू के खान्थे कुन्नि ? टावरै नचढी, परै–परैसम्म देख्थे ! अचेल त बारीमा घाँस बढ्यो कि बढेन भनेर पनि भ्यु–टावर नचढी नहुने स्थिति आइपुग्यो । राज्यका तीनवटै तहले विकास भनेको गाउँघरमा सिजन र बेसिजनका तरकारी उत्पादन बढाउने देखेन, दूध, माछा, मासु, अण्डा, चिया, अलैँची, अदुवा, फलफूल, कन्दमूल, दलहन, तेलहन, मकै, गहुँ, कोदो, फापर र चामल बढाउने देखेन । शक्ति हातमा हुने स्थानीय राज्यले देख्यो मेयर–उपमेयरहरूसँग साइज–साइजका क्रसर उद्योगहरू छन् । वडा अध्यक्षहरूसँग जेसिबी र टिफरहरू छन् । वडा सदस्यहरूका आफन्तहरू ड्राइभर र लेबरहरू छन् ।

मौका यही हो दशैँ–तिहारमा चोक–चोकमा आफ्ना भाडाका मान्छेसाथ लिएर गाउँबाट ल्याएका खसी बेचेको पैसा लुट्नका लागि चालिएको लङ्गुरबुर्जा खेलको चालजस्तो भयो अहिलेको समग्र नेपालको विकास । यही मानेमा भ्यु–टावरप्रति विरोधका बोली आएका हुन् । जिब्रो नचपाई भन्दा काठमाडौँको भीमसेन धरहराबाहेक देशका कुनै भ्यु–टावरहरूले पनि तिनको लागत उठाउन सक्दैनन् । एकजना अर्थ राजनीतिका जानकार काठमाडौँमा केही दिनअघि गोष्ठीमा भन्दै थिए– ‘नेपाली नेतामध्ये करिब ९० प्रतिशत नेताहरूलाई अर्थ राजनीतिबारे शून्य पनि थाहा छैन । जो जानकार छन्, ती पार्टी र समूहमा पछि पारिएका छन् । उनीहरूको बोली मधुरो छ । जसको बोली चर्को छ तिनीहरूका भिजनमा कुनै तुक छैनन् ।’

फाइदा र आफू पपुलर हुनेबाहेक कुनै कामहरू गरिएका छैनन् । अर्थमन्त्रीहरू आफ्नो र पार्टीको अधिक मात्र राजनीतिक फाइदाहरू हेर्न नियुक्त गरिँदा देश झन्–झन् अधोगतितर्फ लाग्यो ।जापानको कोबे विश्वविद्यालयमा ‘दक्षिण एसियाको अर्थशास्त्र’ अध्यापन गराउने भिजिटिङ प्रोफेसर दीपेश घिमिरे भन्छन्– ‘सवाल त्यो पनि होइन । अर्थमन्त्री अर्थशास्त्री हुनै पर्छ भन्ने कहीँ छैन, तर के हो भने अर्थमन्त्रीले सपनाचाहिँ देख्नुपर्छ । उनले आफ्नो मन्त्रालयमा अर्थतन्त्र जानेबुझेका व्यक्तिहरूको कोर टिम राखेर टिममै काम गर्नुपर्छ । यो हुन सक्यो भने मात्र अर्थतन्त्रका ‘लुपोल’हरू पत्ता लगाएर काम गर्न सकिन्छ ।

अहिले दुःखको कुरा, अर्थमन्त्री माओवादी केन्द्रका जनार्दन शर्मा छन् । राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारी एमालेका हुन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल कांग्रेसका हुन् । यिनीहरूका बीच बोलचाल बन्द भएको महिनौं भइसक्यो । जब आर्थिकरूपमा लगाम लिने यी तीन निकायका मुख्य मुखियाबीच बोलिचाली नै हुँदैन भने देशको अर्थ पोलिसी कसरी तय भएको होला, सहजै अनुमान गर्न सकिन्छ ।’ यही परिस्थितिलाई हेरेर पुर्खाले भनेका हुन सक्छन्– ‘तैँ रानी मैँ रानी को भर्ने कुवाको पानी ?’
पूर्वप्रधानमन्त्री तथा जसपा अध्यक्ष डा. बाबुराम भट्टराई भन्छन्– ‘घर–परिवारको र देशको अर्थतन्त्रको नियम उही हो– आम्दानी सुको खर्च रूपियाँ । बेच्ने मूला अनि किन्ने गाडी ! उसले घोडा चढ्यो भने आफू धुरी ! छोराछोरीभन्दा बाबुआमा फजुल खर्ची ! अनि टाट पल्टिन्न देश ? यति महँगा र धेरै गाडी किन ? अघिपछि गाडी-सुरक्षाकर्मीका लस्कर किन ? यत्रो भोजभतेर-गरगहना किन ? बचत र लगानी खै ? सबैले ममः भनौं ।’

अहिले देशमा भएको के भने, सरकारले मुख्य विकासको फेजको लक्ष्य किटान गर्न नसक्नु हो । बासी अनुहारका उही नेताहरू जसरी पनि चुनाव जित्छन् । जनतालाई फ्रेस र नयाँ अनुहार छान्ने अवसर नै हुँदैन अनि घुमिफिरि रुम्जाटार भनेझैँ तिनै थोत्रा र असफल नेतालाई देश, प्रदेश र स्थानीय तहको लगाम जिम्मा दिनुको विकल्प हुँदैन । नयाँ–नयाँ उम्मेदवार उठे पो विकल्पमा नयाँहरू छान्न पाइन्छन्, त्यो छैन । यति भएपछि सबै खराबहरूबाट मात्रै छान्ने विकल्पमा छानिएको नेतासमेत खराबमध्येको राम्रो हुन्छ । नेपालमा भइरहेको यही छ ।रमाइलो कुरा, बेपारका लागि चाइनिजले के बिक्छ संसारभर खोज्दै हिँड्छ, नेपालीचाहिँ चाइनिजले जे बेच्छ आवश्यक नभए पनि त्यही किन्छ । यहीँबाट हाम्रा प्राथमिकताका सूचकहरू तय हुन्छन् ।

नेपाली आवश्यक नै नभए पनि लु ल्याइहाल्यो किनिदिऊँ न त भन्ने मानसिकताका छन् । हाम्रो लक्ष्य के ? गन्तव्य कहाँ ? हामीले यी पाँच–दश वर्षमा के कुरा गर्नै पर्ने ? आधारभूत विकास भनेको के ? के–के आधारभूत विकास गरेपछि अनि हामी सेकेन्डरी विकासमा जान सक्छौं ? त्यो केही विश्लेषण गर्दैनौं ।अर्थ राजनीतिका एकजना प्रबुद्ध व्यक्ति नाम नभन्ने सर्तमा भन्दै थिए– ‘अघिल्लो नेकपाको बहुमतको सरकार गठन हुनुभन्दा अघि ७ खर्ब ऋण देशको थाप्लामा थियो भने केपी ओलीको सरकारले साढे ३ वर्षमा ८ खर्ब ऋण थपेर उसले देउवाको कम्फर्ट सरकारलाई सत्ता हस्तान्तरण गर्ने बेलामा १५ खर्ब ऋण देशलाई बोकायो । यो भनेको सरकारले गरेको वित्तीय अपराध हो । देशले तय गरेका विकासभन्दा पनि पार्टी प्रचारका कार्यलाई प्राथमिकता हुने गरी विकासे हौवा पिटाइयो । अहिले भएको यही हो ।’

सारा देशमा भ्यु–टावरबारे सामाजिक सञ्जालमा विरोधका स्वरहरू गुन्जायमान हुँदै रहँदा नेकपाका अध्यक्ष केपी ओली मात्र ‘भ्यु–टावरको कन्सेप्ट एमालेको हो, एमालेले गरेको देश विकास अरू पार्टीहरूले देखी नसहेका हुन्’ भन्दै थिए । यस्ता नेता भएका देशमा जनताले सही सूचना कसरी पाऊन् र देशले आर्थिक फ्ड्को कसरी मारोस् ? नेपालीमा एउटा उखान छ– ‘मुखलाई मही छैन, पिँधलाई घिउ ।’गठबन्धनबारे एकजना कवि यसरी व्यङ्ग्यवाण हिर्काउँछन्– ‘चुनाव जित्छ एमालेले, समाजवादी हार्दैन । बहुमत ल्याउँछ माओवादीले, कांग्रेस पछि पर्दैन ।’ यही तालले देश अघि जाँदा पाँच–दश वर्षमा मटियामेट हुन बेर लाग्दैन । यही छेकोमा राष्ट्र बैंकको बोली फुटेको छ– ‘विलासिताका वस्तु, तयारी कृषि उत्पादन जस्तै– दाल, तरकारी, यातायातका साधन, केही वर्ष कपडाजन्य सामग्री आयातमा लागू पदार्थमा झैँ कडा रोक लगाउनुपर्छ ।’

‘चुनावको मुद्दा शिक्षा, स्वास्थ्य, आवास र रोजगारीलाई बनाऊँ । सबै सार्वजनिक सेवाका गुणस्तर, भौतिक पूर्वाधार विकास, सुशासन प्रत्याभूतिको उपाय, अर्थतन्त्रको स्थिति र उद्यमशीलताका मोडेलबारे बहस गरौं । सत्तोसराप गर्न छाडौं र रचनात्मक विमर्श गरौं । यो लिखा, चम्कना, ढाडी र जुम्राको कुरा पछि गरे हुन्छ, फुर्सदमा आलु खाँदै बार्दलीमा बसेर’, राजनीतिक विश्लेषक डम्बर खतिवडा भन्छन् ।नेपाली राजनीति विकासको लागि नभई विकासमा राजनीति भयो । विकास महँगो र राजनीति सस्तो भयो । अहिले भएको त्यही हो । अर्थशास्त्रीहरू विभाजित भए । नेता र कार्यकर्ता सबका सब विभाजित भए । कोही देशको पक्ष लिएर खम्भीर सत्य ओकल्न चाहँदैनन्, किनकि सत्य बोल्यो भने आफैँलाई पोल्ने स्थिति छ अहिले ।

गुमाएपछि मात्र थाहा हुन्छ– समय, व्यक्ति र सम्बन्ध कति अनमोल थिए भन्ने । अहिले नेपालको गणतन्त्र र स्वतन्त्रता यही भैरहेको छ । नेपाली उखानजस्तो– ‘भाङ्ग्राको टोपीलाई गुयेँलाको फूल ।’ हिन्दी भाषामा यसैलाई भन्छन्– ‘छुचुन्दर के केश मै चमेली के तेल !’देश अर्थतन्त्रको क्रोनिक रोगी भएको छ । अहिले विदेशी मुद्रा सञ्चिती डरलाग्दो गरी कमी भएको छ । भनिन्छ– ‘६ महिनाका लागि मात्र आयात धान्न सक्ने विदेशी मुद्रा देशमा सञ्चित छ । कुनै पनि बेला देश श्रीलङ्काजस्तो हुन बेर लाग्दैन । सर्वसाधारण जनतालाई यसबारे कुनै मतलब छैन । मतलब राख्नुपर्ने नेताहरू बेखबर छन् ।

अर्थमन्त्रीको अर्थ राजनीतिक पकड लैबरी भएर देश यस्तो भएको हो भन्ने आरोप विपक्षी एमालेहरूले लगाउने नै भए । एमालेलाई सत्ताबाट हटाएर देशको अर्थतन्त्र डामाडोल भयो भनिरहेका छन् । अर्का थरीहरू एमालेले साढे तीन वर्षमा अनेक नचाहिने र विकासे ढार्रामा ८ खर्ब विदेशी ऋण सोहोरेर लिँदा यतिखेर १५ खर्ब ऋणको भारी बोकाएको हो भन्छन् । यो देखेर युवाहरूचाहिँ ३२ पेजे राहदानीको किताब पढ्दै विदेश गैरहेका छन् ।दक्ष, अर्धदक्ष र अदक्ष तीन थरीमध्ये नेपालले विदेशमा वैदेशिक रोजगारीका लागि पठाउने सबैभन्दा धेरै श्रमिकहरू अदक्ष र अर्धदक्ष नै हुन् । बरा-विचरा तिनीहरूले नै खुन–पसिना एकत्रित गरी पठाएको रेमिट्यान्सले नै देश चलिरहेको छ । फजुल खर्चका बाटाहरू केही दिन मात्र बन्द गरेर हुँदैनन्, सधैँका लागि रोक्नै पर्छ ।

यतिखेर राष्ट्र बैंकले गाडी र विलासिताका सामग्रीहरूको आयातमा एलसी खोल्ने कार्यका लागि रोकावट ल्यायो । देशमा उत्पादन हुने कृषिका पचासौं प्रकृतिका बालिनाली, फलफूल, माछामासु, कन्दमूल, दूध, अण्डा, च्याउ, मौरी, चिया, अलैँची, कुखुरा, जडीबुटी, दाल, तेल, चामल, मकै, कोदो, गहुँ र कोसेबालीमा मात्र देश आत्मनिर्भर हुन सकेर देशबाहिर यी सामग्री निर्यात गर्ने हो भने देशको मुहार फेरिन दशकाैं लाग्दैन । यो कुरा नेपालका सबै पार्टीका नेताहरूलाई थाहा छ तर सबै बुझ पचाएर नबुझेझैँ गर्दछन् ।यस्तो स्थितिमा ‘देश बचाउने कि नेता’ भन्दै एकको छनोट गर्ने बेला देशवासीमा आएको छ ।खर्बौंको फजुल खर्च गर्दै हामीले यी बैठकै बस्न नसक्ने प्रदेश किन जोगाएका होलाऊँ ।

केन्द्र र स्थानीय तहले प्रभावकारी काम गर्न सक्छन् भन्ने कुरा कोरोना महामारीमा देखिइसक्यो । किन हामी मरिहत्ते गरेर यी निष्क्रिय प्रदेशमार्फत नेता जोगाउन लागिरहेका छौं ? अब खुलेर भन्नुपर्छ– देश जोगाउने कि नेता ? यो काममा जति ढिला भयो उति देशलाई घाटा छ । सबैमा चेतना भया ।

प्रतिक्रिया दिनुहोस्