वैदेशिक रोजगारीमा जाने व्यक्तिको अभिमुखीकरण तालिममा कडाइ गरिने



काठमाडौं।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने व्यक्तिको अभिमुखीकरण तालिमलाई कडाइ गरिने बताउनुभएको छ ।

वैदेशिक रोजगार बोर्डको सचिवालयले आइतबार आयोजना गरेको परिमार्जित पूर्व प्रस्थान अभिमुखीकरण तालिम कार्यान्वयनको अवस्थाबारे सरोकारवालाहरूसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले अनिवार्यरूपमा लिनुपर्ने अभिमुखीकरण तालिम नलिई तालिमको प्रमाणपत्र मात्र लिने र दिने गरिएको पाइए कडा कारबाही गरिने बताउनुभयो ।

मन्त्री श्रेष्ठले सेवाग्राहीहरूलाई प्रदान गरेको सूचना र जानकारीले वैदेशिक रोजगारी सुरक्षित र उपलब्धीमूलक हुने भएकोले पूर्व प्रस्थान अभिमुखीकरण तालिमलाई प्रभावकारी र समयानूकुल बनाइने बताउनुभयो । अभिमुखीकरण तालिम प्रदायक संस्थालाई मर्ज गरेर स्तरीय सेवा प्रवाहको सुनिश्चितता गरिने मन्त्री श्रेष्ठको भनाइ छ ।

मन्त्रालयका सचिव एकनारायण अर्यालले प्रस्थान पूर्व अभिमुखीकरण तालिमको अभावले वैदेशिक रोजगारीका क्रममा जोखिम बढाउने भन्दै यसलाई औपचारिकतामा मात्र सिमित गर्न नहुने बताउनुभयो ।वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूको वैदेशिक रोजगारको यात्रालाई सुरक्षित, मर्यादित र उपलब्धिमूलक बनाउन विषयगत तालिमलाई पनि प्रभावकारी बनाउनुपर्ने सचिव अर्यालले बताउनुभयो ।

मन्त्रालयका सल्लाहकार डा.केशव बस्यालले पूर्व प्रस्थान अभिमुखिकरण तालिममा गन्तव्य मुलुक सम्बन्धी जानकारी, वैदेशिक रोजगार सम्बन्धी कानुन, सुरक्षित रोजगारी तथा अन्य हक अधिकारका विषयमा जानकारी दिनुपर्नेमा जोड दिनुभयो । उहाँले पूर्व प्रस्थान अभिमुखीकरण तालिम अहिले प्रभावकारी हुन नसकेको बताउनुभयो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूलाई गन्तव्य मुलुकसँग सम्बन्धित महत्वपूर्ण जानकारी, विद्यमान कानुन, धर्म, संस्कृति, रीतिरिवाज साथै केही समस्या परेमा कानुनी उपचारका लागि उपलब्ध सेवा तथा प्रक्रियाहरूको बारेमा जानकारी दिनुपर्ने बताउनुभयो ।

वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले पूर्व प्रस्थान अभिमुखिकरण तालिमको पाठ्यक्रम परिमार्जन गरी देशगत म्यानुअल तयार गरिएको बताउनुभयो ।अभिमुखीकरण प्रदान गर्ने संस्थाका प्रतिनिधिहरूले न्यून शुल्कमा गुणस्तरीय तालिम प्रदान गर्न कठिनाइ रहेको भन्दै आफूहरूको समस्या पनि सम्वोधन गरिनुपर्ने बताएका थिए ।

नेपाल सरकारबाट अनुमति प्राप्त अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूवाट पूर्व प्रस्थान अभिमुखीकरण तालिम सञ्चालन हुँदै आएको छ । वैदेशिक रोजगार ऐन, २०६४ को दफा २७ र वैदेशिक रोजगार नियमावली, २०६४ को उपनियम २० मा वैदेशिक रोजगारीमा जाने कामदारले अनिवार्य रूपमा वैदेशिक रोजगारमा जानु पूर्व तोकिएबमोजिमको अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्