एलसीको असर : चोरी बाटो रोज्दै व्यापारी



बाँके ।

राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरूले प्रतितपत्र (एलसी) नखोलिदिएपछि भारतका विभिन्न शहरबाट ल्याइएका सामान सीमावर्ती भारतीय बजारमै अलपत्र परेका छन् । आफ्ना सामान भित्र्याउनका लागि व्यापारीको दौडधुप बढेको छ । बिलासिताका सहित ४७ प्रकारका सामानमा एलसी अनिवार्य गरिएको थियो । अहिले आएर बैंकले एलसी नै बन्द गरेका छन् ।

नेपालगन्जका सेराज राई नेपालगन्ज भन्सार कार्यालयमा भन्सार अधिकृतसँग सामान भित्र्याउन के गर्न सकिन्छ भन्दै अनुनय गरिरहेका थिए । राईले भारतको पञ्जाबबाट मगाएको ४८ लाखको सामान सीमावर्ती भारतीय रूपैडिहा बजारमा थन्किएको छ । ‘बैंकले एलसी हुँदैन भन्छ । एलसी नभएपछि भन्सारले आउन दिदैन । किनेको ठाउँमा सामान फिर्ता हुँदैन भन्छ, राईले भन्नुभयो, मेरो ४८ लाखको सामान एक हप्तादेखि रूपैडिहामा थन्किएको छ ।’

राईले अब रूपैडिहाकै व्यापारीलाई सस्तोमा बेच्नुको विकल्प नभएको बताउनुभयो । राईको ह्यान्ड टुल्सहरू रेन्ची, पिलास, स्क्रुड्राइभर, कपडालगायतका सामान छन् । रूपैडिहाबाट यस्ता सामान नेपालगन्जमा कुनै न कुनै बाटोबाट सहजै आइपुग्ने गर्दछन् । भारतबाट सामान मगाउने र भन्सार आइपुगेपछि मात्रै एलसी खोज्ने व्यापारी ठूलो मारमा परेका छन् । व्यापारी राईले एलसीले गर्दा काम गर्न धेरै गाह्रो भएको र व्यापार नै डुबेको बताउनुभयो ।

सुर्खेतका एक होटल सञ्चालक भन्सारमै पहिला नै मगाएको सामान अलपत्र परेकाले राजश्व तिरेर ल्याउन दिन अनुरोध गरिरहेका थिए । भन्सार अधिकृत प्रवीण सुब्बा लिम्बुले पहिले नै टीटी गएको छ भने बैंकलाई भनेर सहजीकरण गर्न सकिने आश्वासन दिइरहनु भएको थियो । आलु, माछा, केरादेखि फलफूलमा समेत एलसी लगाइएपछि नेपालगन्जमा राजश्व असुली खस्किने र चोरबाटोको कारोबार बढ्ने देखिएको छ । भारतका विभिन्न शहरबाट सीमावर्ती रूपैडिहासम्म आइपुगेको सामान छोटी नाकाबाट नेपालगन्ज भित्रिने गर्दछन् ।

एकजना भन्सार कर्मचारी भन्दै थिए, ‘तीन महिनादेखि जुत्ता ल्याउन रोकिएको छ । नेपालगन्ज बजारमा गएर हेर्ने हो भने सबै पसलमा जुत्ता टनाटन छन् । नेपालगन्जमा सीधाभन्दा छोटी नाकाबाट धेरै सामान भित्रिन्छन् ।’ एलसी अनिवार्य गरेर बिलासिताको सामान भित्र्याउन रोक लगाइएसँगै बाँकेका छोटी नाकाहरूमा कडाई गर्न जरुरी देखिन्छ । चोरी तस्करी बढ्न थालिसकेको छ ।

जमुनाहा प्रहरीले बुधबार नै ६ थान सोफासेट बरामद गरेको छ । पाँच दिनअघि सीमावर्ती गाउँ परसपुरबाट ठूलो मात्रामा चिनी बरामद गरिएको थियो । एलसीले गर्दा भन्सारको राजश्व असुलीमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ । भन्सार अधिकृत सुब्बाले सामान आउन नै कमी भएपछि स्वतः राजश्व असुलीमा प्रभाव पार्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्