बीबी एयरवेजले पुनः उडान भर्ने



काठमाडौं (नेस) ।

लाइसेन्स लिएर एक दशकदेखि निष्क्रिय रहेको बीबी एयरवेजले जहाज ल्याएर पुनः उडान भर्ने भएको छ । डेढ अर्ब रुपियाँ लगानी थपेर सात महिनाभित्र पुनः उडान शुरू गर्ने योजना कम्पनीले बनाएको छ । उक्त योजनाअन्र्तगत कम्पनीले पाँच वर्षपछि लाइसेन्ससमेत नवीकरण गरेको छ ।

कम्पनीका अध्यक्ष भवन भट्टले सात महिनाभित्रै दुईवटा एयरबस–३२० जहाज लिजमा लिएर उडान शुरू गर्ने योजनामा आफू रहेको जानकारी दिनुभएको छ । कम्पनीले एक सातायता आवश्यक जनशक्ति लिने काम शुरू गरेको छ । नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक हरिभक्त श्रेष्ठ सीईओ नियुक्त हुनुभएको छ भने श्रीष शर्मालाई प्रशासन प्रमुखमा नियुक्त गरिएको छ ।

भट्टले एयरलाइन्समा थप लगानीका लागि आफ्नो समूहअन्तर्गत रहेको धुलिखेल माउन्टेन रिर्सोट (डीएमआर) बिक्री गर्न लागेको समेत जानकारी दिनुभएको छ ‘डीएमआर बिक्री प्रक्रिया अगाडि बढिरहेको छ । त्यो बेचेर पनि एयरलाइन्समा हाल्नेछु,’ भट्टले भन्नुभयो– ‘म अब एयरलाइन्स र जलविद्युत्मा मात्रै केन्द्रित हुन खोज्दैछु ।’ भट्टले योबाहेक हेटौंडामा रहेको स्टार बियर उत्पादन गर्ने नेपाल ब्रअरी पनि बिक्री गर्ने योजनामा रहेको बताउनुभयो ।

कम्पनीलाई थप विस्तार गर्नका लागि नयाँ लगानीकर्तासँग छलफल भएको बताउँदै उहाँले भन्नुभयो– ‘अहिले तत्काल साझेदार भित्र्याइसकेका छैनौं । हामी आफ्नो क्षमता विस्तारका लागि तत्पर छौं । भट्टले बजार माग बढे निकट भविष्यमा थप तीनवटा जहाज संख्या विस्तार गर्ने योजनामा रहेको बताउनुभयो ।

सन् २०१२ मा लाइसेन्स पाएको कम्पनीले काठमाडौं–मलेसिया उडान गरेको थियो । आफ्नो जहाजै नहुनु र कर्मचारी पनि सीमित मात्रै राखेर चलिरहेको कम्पनीमा बिस्तारै सक्रियता देखिएको छ । बीबीको लाइसेन्स गत फागुन २९ मा नवीकरण भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्