डिप बोरिङ तथा रिजर्भायर ट्याङ्कीका लागि ऋण सम्झौता



काठमाडौं (नेस) ।

नगर विकास कोषको खानेपानी तथा सरसफाई कार्यक्रमअन्तर्गत धनकुटा नगरपालिकामा डिप बोरिङ तथा रिजर्भायर ट्याङ्की आयोजनाका लागि ऋण सम्झौता सम्पन्न भएको छ ।

कोषको खानेपानी तथा सरसफाई कार्यक्रमअन्तर्गत धनकुटा नगरपालिकामा डिप बोरिङ तथा रिजर्भायर ट्याङ्की निर्माण, सञ्चालन तथा व्यवस्थापनका लागि धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ्ग र नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाबीच तीन करोड आठ लाख ५६ हजार रुपियाँको ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

आयोजना निर्माणको कुल अनुमानित लागत तीन करोड ४२ लाख ८५ हजारको ९० प्रतिशत रकम कोषको तर्फबाट ऋण र १० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिने बताइएको छ । ऋण सम्झौता कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापा, प्रशासन, योजना तथा अनुगमन अधिकृत सीताराम शर्मा र आर्थिक विकास अधिकृत विकास अधिकारीको पनि उपस्थिति रहेको थियो ।

दोस्रो खानेपानी तथा सरसफाई आयोजनाअन्तर्गत निर्माण सम्पन्न हाल सञ्चालनमा रहेको धनकुटा खानेपानी तथा ससरसफाई आयोजनाको सेवा प्रवाहमा सुधार गर्ने उद्देश्यले धनकुटा नगरपालिका– १, ३, ४ र ६ मा डिप बोरिङ र वडा नं. १ मा रिजर्भायर ट्याङ्कीको निर्माण तथा व्यवस्थापनका लागि नगरपालिकाबाट कोषको ऋणस्वरूप स्रोत व्यवस्थापन गरिएको छ भने कोषको यस वित्तीय सहयोगबाट आयोजनाको सेवा प्रवाहमा सुधार भई कोषको ऋण असुलीमा समेत सकरात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा नगरप्रमुख तामाङले धनकुटा खानेपानी तथा ससरसफाई आयोजनालाई दिगो रूपमा सञ्चालन गराउने नगरपालिकाको समेत जिम्मेवारी भएकोले नगपालिकाले डिप बोरिङका सम्बन्धमा विस्तृत अध्ययनसहित आयोजनालाई अगाडि बढाइएको जनाउँदै आयोजना समयमा गुणस्तरीय रूपमा सम्पन्न भइ सम्बन्धित आयोजना क्षेत्रका उपभोक्ताहरूलाई सहज ढंगबाट खानेपानी सेवा प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो ।

कोषका कार्यकारी निर्देशक सापकोटाले नगरपालिकाले आयोजना निर्माणको क्रममा प्राविधिकलगायतका पक्षहरूमा ध्यान दिनुपर्ने कुरामा जोड दिँदै आयोजनाको दिगो सञ्चालन र व्यवस्थापनका लागि नगर विकास कोषबाट निरन्तर प्राविधिक तथा व्यवस्थापकीय सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्