पराजुलीसहित पाँच पत्रकार पुरस्कृत



हेटौंडा । 

स्टेट भिजन प्रालिले पाँचौं वार्षिकोत्सवका अवसरमा पाँच जना पत्रकार र एक छापाखानामा कार्यरत प्राविधिकलाई पुरस्कृत गरेको छ । शनिबार हेटौंडामा आयोजित कार्यक्रममा नेपाल समाचारपत्रका मकवानपुर संवाददाता रोशन पराजुलीसहित अन्य पुरस्कृत भएका हुन् ।

कार्यक्रममा अन्नपूर्ण पोस्ट दैनिकका सम्पादक अखण्ड भण्डारी, राजधानीडेली डटकमका सम्पादक ध्रुव लम्साल, रेडियो मकवानपुरका समाचार प्रमुख राजन दाहाल ‘खुसराज’, धादिङ पोस्ट डट कमका सम्पादक नारायण सिलवाल र विभिन्न छापाखानामा पत्रपत्रिका छपाइ गर्दै आउनुभएका सोमबहादुर विष्टलाई नगदसहित पुरस्कृत गरिएको हो ।

स्टेट भिजन प्रालिले पाँचौं वार्षिकोत्सवका अवसरमा पराजुलीलाई नगद १० हजार १ राशिसहितको ‘जागरण तुखबर समकालीन पत्रकार पुरस्कार–२०७८’ पत्रकारिता पुरस्कार प्रदान गरेको थियो । नेपाल समाचारपत्रमा २०५२ सालदेखि पराजुली आबद्ध हुनुहुन्छ । पुरस्कार प्रदान गर्दै वागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सञ्चारमाध्यमले नागरिकको सुसूचीत हुने अधिकार प्रवद्र्धन गरिरहेको बताउँदै आगामी दिनमा थप सशक्त र जनताप्रति जवाफदेहीपूर्ण ढंगबाट सञ्चारक्षेत्र अघि बढ्नुपर्ने सुझाव दिनुभएको थियो ।

कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका अतिरिक्त देश र जनतालाई अदम्य साहस भएको स्वाभिमानयुक्त पत्रकारिता आवश्यक भएको उहाँको कथन छ । पत्रकारिता क्षेत्रले समाजमा विद्यमान, कुरीति, कुसँस्कृति, अन्धविश्वास र राजनीतिक क्षेत्रमा रहेका यथास्थितिवादीको विपक्षमा उभिएर जनताको हक र हितको पक्षमा इमानदार भएर काम गर्नुपर्ने शर्माको भनाइ छ ।

कार्यक्रममा तुखबरले वार्षिकोत्सवको अवसरमा प्रकाशन गरेको तुखबर स्मारिकाको पाँचौं संस्करण विमोचन गरिएको थियो । प्रदेश प्रमुख शर्मा, वागमती प्रदेश भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्त प्रजा, नेकपा (एकीकृत समाजवादी) वागमती प्रदेश संसदीय दल मुख्य सचेतक मुनु सिग्देललगायतले पुस्तक विमोचन गर्नुभएको थियो ।

तुखबरका सम्पादक गिरिजा अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, मकवानपुर जागरण अभियान अध्यक्ष कृष्णराज कोइराला, नेपाल पत्रकार महासंघ वागमती प्रदेश उपाध्यक्ष रूपेश दुलाल, नेपाल पत्रकार मञ्च महासचिव विमल थापा, नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, नेकपा एमाले अध्यक्ष एकलाल श्रेष्ठ, नेकपा माओवादी केन्द्र मकवानपुर सचिव भीम पाख्रिन, पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम, पूर्वअध्यक्षहरुलगायत सञ्चारकर्मीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्