मेगा बैंकको इक्यालेन्डर सावर्जनिक, छात्रालाई प्राथमिकता



काठमाडौं (नेस) ।

मेगा बैंक नेपाल लिमिटेडले विक्रम संवत् २०७९ सालका लागि इक्यालेन्डर सार्वजनिक गरेको छ । यस वर्षको क्यालेन्डरमा मेगा बैंकले आर्थिक अवस्था कमजोर र विपन्न परिवारका छात्राहरूलाई मुख्य प्राथमिकता दिएको छ । आर्थिक अवस्था कमजोर भएका विपन्नवर्ग परिवारका छोरीहरूको उज्जवल भविष्यलाई सुनिश्चित गर्ने प्रयासस्वरूप मेगा बैंकले ‘शिक्षा नै ज्योति अभियान’ अन्तर्गत देशभरका प्रत्येक शाखाबाट २–२ जना छात्राहरूलाई आर्थिक सहयोगको व्यवस्था गरेको छ ।

शिक्षामा बालिकाहरूको पहुँचलाई स्थापित गर्दै महिला सशक्तिकरणमा टेवा पुर्याउन र मेगा बैंकमै रोजगारीको अवसर सृजना गर्न बैंकले ‘एक शाखा दुई छोरी’ कार्यक्रम ल्याएको थियो । सामुदायिक विद्यालयहरूमा कक्षा १ देखि १२ सम्म अध्ययनरत सयौं छात्राहरूलाई अहिले मेगा बैंकले छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । यो छात्रवृत्तिले शाखा सञ्चालित वडा–पालिकामा मेगा बैंकलाई जनताको बैंकको रूपमा स्थापित गरेको छ भने मेगा बैंकले ‘बैंक अफ दि इयर २०१९’ नामक अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दा प्रमुख आधारशिला बनेको थियो ।

यसका साथै, सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत विपन्न वर्गका छात्राहरूलाई पढाउनेलगायतका सामाजिक कार्य गरेकै कारण मेगा बैंकले गत साता ‘बेस्ट सीएसआर कमर्सियल बैंक नेपाल अवार्ड २०२२’ र मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले ‘वुमन बैंकिङ सीईओ अफ दि एयर अवार्ड, २०२२’ समेत जित्नुभएको थियो ।

यसपालिको क्यालेन्डरमा बैंकले छात्रवृत्ति दिइरहेका छात्राहरूको तस्वीर सार्वजनिक गरी उनीहरूलाई प्रोत्साहन गरिएको मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले बताउनुभयो । ‘विपन्न परिवारका यिनै छोरीहरूलाई हामीले भविष्यमा मेगा स्टारका रूपमा हेर्न चाहन्छौं, सोहीकारण उनीहरूलाई यसपालिको क्यालेन्डरमा प्राथमिकता दिएर प्रोत्साहन गरेका हौं’– उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्