कुर्था–जयनगर रेल र सोलु करिडोरको संयुक्त उद्घाटन

चार समझदारीमा हस्ताक्षर



काठमाडौं ।

नेपाल र भारतबीच कुर्था–जयनगर यात्रुवाहक रेल सेवा आइतबारदेखि नियमित सञ्चालन हुने भएको छ भने अबदेखि नेपालमा भारतको ‘रूपे डिजिटल कार्ड’ प्रचलनमा आउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा शनिबार प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री नरेन्द्रदास मोदीले कुर्था–जयनगर यात्रुवाहक रेल सेवालाई झन्डा देखाएर शुभारम्भ गर्नुभएको थियो भने नेपालमा प्रयोगका लागि भारतको ‘रूपे डिजिटल कार्ड’ पनि संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो ।

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल्वे खण्ड चल्ने रेल सेवाको हैदराबाद हाउसबाट भर्चुअलमार्फत संयुक्तरूपमा रेल सेवाको उद्घाटन गरेपछि दिउँसो ३ बजेतिर रेल जनकपुर पुगेको थियो । दुवै देशका प्रधानमन्त्रीले हरियो झन्डा देखाएर रेल सेवा शुभारम्भ गरेपछि रेल जयनगरबाट कुर्थाका लागि छुटेको थियो । डिजेल इलेक्ट्रिक मल्टिपल युनिटबाट चल्ने यो डेमु रेल वि.सं. २०७७ असोज २ गते भारतीय कोकंण रेल्वे कम्पनीसँग ८४ करोड ६५ लाख रुपियाँमा खरिद गरिएको हो । दुई सेट इन्जिनसहित १० वटा बोगी रहेको यो रेलको अगाडि एउटा र पछाडि अर्को इन्जिन जोडिएको हो । दुवै बोगीले करिब एक हजार ५०० यात्रु बोक्न सक्ने बताइएको छ । यसको गति रेलको लिक डिजाइनअनुसार १०० किलोमिटर प्रतिघन्टा रहे पनि जयनगर–कुर्था रेल स्टेसनको दूरी छोटो हुने भएकाले ७० देखि ८० किलोमिटर प्रतिघन्टासम्मको गति मात्रै चल्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

त्यसै गरी नयाँदिल्लीस्थित हैदराबाद हाउसमा आयोजित समारोहमा दुवै देशका प्रधानमन्त्रीले सोलु करिडोर १३२ किलोभोल्ट प्रसारण लाइनको पनि संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो । उक्त प्रसारण लाइन भारत सरकारको ३ अर्ब २० करोड रुपियाँ ऋण सहयोगमा र भारत सरकारको सहयोगमा नेपालमा निर्माण भएको हो । गत महिना मात्रै निर्माण सम्पन्न भएको सोलु करिडोर प्रसारण लाइन उद्घाटनपछि सोलु करिडोरमा निर्माण सम्पन्न भएका र निर्माणका क्रममा रहेका आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोड्न सहज भएको छ ।

शनिबार नै प्रधानमन्त्री देउवा र उहाँका भारतीय समकक्षी मोदी नेतृत्वको प्रतिनिधिमण्डलबीच हैदरावाद हाउसमा भएको वार्तापछि नेपाल र भारतबीच ऊर्जा, इन्धन, रेल सेवा सञ्जाल विस्तारलगायत पारस्परिक सहयोग एवं सहकार्य गर्नेसम्बन्धी चारवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । अन्तर्राष्ट्रिय सौर्य ऊर्जा साझेदारीमा नेपाल औपचारिक रूपमा सामेल हुने, नेपालको रेल्वे क्षेत्रमा भारतीय प्राविधिक सहयोग, पेट्रोलियम क्षेत्रमा सहयोग र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच विशेषज्ञ आदानप्रदान गर्नेसम्बन्धी सझदारीपत्रमा हस्ताक्षर भएको हो ।

भारतको तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार भारत जानुभएका प्रधानमन्त्री देउवाको सम्मानमा भारतीय प्रधानमन्त्री मोदीले शनिबार हैदरावाद हाउसमा दिवा भोजको आयोजना गर्नुभयो । दिवाभोजमा प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादव, मुख्यसचिव शंकरदास बैरागी, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानबहादुर देउवा, परराष्ट्र सचिव भरतराज पौड्यालगायत सहभागी हुनुभभएको थियो ।

सीमा समस्या समाधानका लागि आग्रह गरेको छु : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले समकक्षी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्थापित संयन्त्रमार्फत सीमा समस्या समाधानका लागि आग्रह गरेको बताउनुभएको छ । शनिबार हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो जानकारी दिनुभएको हो । उहाँले भन्नुभयो – ‘हामीले सीमासम्बन्धी विषयमा पनि कुरा गर्यौं र मैले भारतीय प्रधानमन्त्री मोदीलाई स्थापित संयन्त्रमार्फत सीमा समस्या समाधान गर्न आग्रह गरें ।’

यसअघिको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेपछि भारतले उक्त क्षेत्रलाई विवादित क्षेत्र भनेर विरोध जनाएको थियो । तर, भारत आफैंले भने त्यसपछि पनि लिपुलेक जोड्ने सडक विस्तार भइरहेको सार्वजनिक गरेपछि नेपालमा भारतको उक्त कार्यको विरोध भइरहेको छ । नेपालले पटकपटक सीमा विवाद समाधानका लागि उच्चस्तरीय बैठक बस्न आग्रह गरे तापनि भारतले आलटाल गर्दै आएको छ ।

सम्बोधनको क्रममा प्रधानमन्त्री देउवाले भारतसँग आफूले नेपाललाई नयाँ हवाई रुट दिने विषयमा पनि छलफल गरेको बताउनुभयो । उहाँले सम्बोधनकै क्रममा कोभिड–१९ को महामारी नियन्त्रणका लागि भारतले गरेको प्रभावकारी व्यवस्थापनको सराहना गर्दै कोभिड महामारीविरुद्धको नेपालको लडाइँमा भारतबाट पहिलो खोप सहायताका साथै औषधि, चिकित्सा उपकरण उपलब्ध गराएकामा भारतप्रति हार्दिक आभार व्यक्त गर्नुभएको थियो । उहाँले आजदेखि प्रचलनमा आएको रूपेबाट नेपालको वित्तीय क्षेत्रमा नयाँ अध्याय थपिएको बताउनुभयो ।

पञ्चेश्वर परियोजना तीव्र गतिमा अघि बढाउछौं : भारतका प्रधानमन्त्री मोदी
भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले दुई दशकभन्दा लामो समयदेखि गतिहीन बनेको पञ्चेश्वर बहुद्देश्यीय परियोजनालाई द्रुतगतिमा अघि बढाउने प्रतिबद्धता दोहो¥याउनुभएको छ । द्विपक्षीय वार्तापछि शनिबार हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले पञ्चेश्वर बहुद्देश्यीय परियोजनालाई द्रुतगतिमा अघि बढाउने प्रतिबद्धता दोहोर्याउनुभएको हो ।

पञ्चेश्वर परियोजना यो क्षेत्रको विकासका लागि गेम चेन्जर बन्ने धारणा व्यक्त गर्दै भारतीय प्रधानमन्त्री मोदीले भन्नुभयो– ‘पञ्चेश्वर परियोजनामा हामीले तीव्र गतिमा अघि बढ्ने प्रक्रियामा जोड दिएका छौं । यो परियोजना यो क्षेत्रको विकासका लागि गेम चेन्जर बन्ने छ ।’

नेपालमा उत्पादित विद्युत् भारतले खरिद गर्ने, स्वच्छ ऊर्जा प्रवद्र्धनमा भारतले सघाउने, नेपालले झेल्नु परेका व्यापार घाटा कम गर्न आवश्यक प्रयास गरिने बताउँदै उहाँले जयनगर–कुर्था रेल सेवाले दुई देशका जनताबीचको सम्पर्क र सम्बन्धलाई अझ सघन तुल्याउने विश्वास व्यक्त गर्नुभयो । भारत र नेपालबीचको खुला सिमानाको दुरूपयोग नहोस् भन्नेतर्फ आफूहरू सचेत रहेको तथा त्यस सम्बन्धमा पनि आफूहरूले छलफल गरेको जानकारी दिँदै मोदीले धार्मिक पर्यटन प्रवद्र्धनका लागि रामायण परिपथको विकास, नेपालगन्जमा एकीकृत जाँच चौकी निर्माण, नेपाल प्रहरीलाई समयानुकूल तालिम दिने प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माणमा भारत–नेपाल साझेदारी हुने बताउनुभयो । काठमाडौंको पशुपतिनाथ र वाराणसीको काशीविश्वनाथका कारण दुई देशबीचको सम्बन्ध अनादिकालदेखि विशेष रहेको प्रसङ्ग जोड्दै उहाँले प्रधानमन्त्री देउवाले भोलि गर्नुहुने काशीविश्वनाथको यात्रा फलदायी रहोस् भन्ने कामना पनि गर्नुभयो ।

सम्बोधनमा उहाँले भारत–नेपाल सम्बन्ध विश्वमै अनुपम उदाहरणका रूपमा विकास भइरहेको जिकिर गर्दै भन्नुभयो–‘भारत र नेपालको सभ्यता, संस्कृति र पारस्परिक सम्बन्ध आदानप्रदानको डोरी प्राचीनकालदेखि जोडिएको छ । अनादिकालदेखि हामी एकअर्काका सुखदुःखका साथी हौं ।’

प्रतिक्रिया दिनुहोस्