विन्ध्यवासिनी आध्यात्मिक प्रतिष्ठानले शुरू गर्‍यो नवाह

मूर्तिको प्राण प्रतिष्ठा सहित गुरुकुल स्थापनाको तयारी



काभ्रे ।

विन्ध्यवासिनी आध्यात्मिक प्रतिष्ठानले शनिबार देखि चैत्र २७ गते आइतबारसम्म श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ सहित विन्ध्यवासिनी मूर्तिको प्राण प्रतिष्ठाको कार्य प्रारम्भ गरेको छ । राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सिनाले नवाह ज्ञान महायज्ञको समुद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष तिमल्सिनाले धर्म, संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि राज्य सँगै समुदाय सक्रिय हुनु पर्ने बताउनु भयो । स्थानीय स्तरबाट निर्माण भएको विन्ध्यवासिनी मन्दिरको प्राण प्रतिष्ठा तथा गुरुकुल निर्माणका लागि भएको प्रयासको सहना गर्दै अध्यक्ष तिमल्सिनाले आध्यात्मिक ज्ञानको अभाव हुँदै गएको बताउनु भयो । कार्यक्रममा विन्ध्यवासिनी पोखरा तथा शिव शक्ति विद्यापीठ कैलालीका पीठाधिश्वर आचार्य स्वामी नि–शेषतनजी महाराजको संरक्षकत्व रहेको छ ।

देवी भागवत नवाह ज्ञान महायज्ञको भास्कर ब्रम्चारी नारायण देवकोटाले कथा बाचन गर्नु हुनेछ । नौ दिनसम्म हुने ज्ञान महायज्ञमा ब्रम्हाणद्वारा वैदिक विधि अनुसार रुद्राभिषेक, श्रीमद्भागवत पाठ पारायण, प्रवचन, वेद पाठ, चण्डी पाठ, ग्रहशान्ति, गायत्री होम, कोटि दीप प्रज्वलन, तुला दान, भूमि दान अत्र दान र सहिद उद्धारका निमित्त होम, पितृ उद्धारका निमित्त विशेष अनुष्ठान, व्रतबन्ध लगायतका अनुष्ठानहरू हुने आयोजक समितिका अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाले बताउनु भयो ।

संस्थाको माध्यमबाट वैदिक सनातन धर्म संस्कृतिको रक्षा, आध्यात्मिक जागरण एवं संस्कृत शिक्षाको प्रचारका साथै विश्वशान्ति, मानव कल्याण एवं धार्मिक, आध्यात्मिक चेतनाको विकास गरी समाजलाई नैतिक एवं अनुशासित बनाउनु यस ज्ञान महायज्ञको प्रमुख उद्देश्य रहेको सचिव हरिकृष्ण तिमल्सिनाले बताउनु भयो । प्रतिष्ठानका लागि श्रीखण्डपुरमा खरिद गरिएको १२ आना जग्गामा विन्ध्यवासिनी मंगलाशैनी मन्दिर, यज्ञ मण्डप निर्माण, गुरुकुल सञ्चालनका साथै भवन र छात्रावास निर्माण, बहु–उद्देश्यीय योग साधना सामुदायिक भवन, सन्त निवास आदि निर्माण कार्यमा महायज्ञबाट आर्थिक सहयोगमा टेवा पुग्ने विश्वास ब्यक्त गरिएको अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाले बताउनु भयो ।

नौ दिनसम्म हुने ज्ञान महायज्ञमा ब्राह्मणहरूद्वारा वैदिक विधि अनुसार रुद्राभिषेक, श्रीमद्भागवत पाठ पारायण, प्रवचन, वेद पाठ, चण्डी पाठ, ग्रहशान्ति, गायत्री होम, कोटि दीप प्रज्वलन, तुला दान, भूमि दान, अत्र दान र सहिद उद्धारका निमित्त होम, पितृ उद्धारका निमित्त विशेष अनुष्ठान लगायतका विभिन्न अनुष्ठानहरू सम्पन्न गरिने छन् । महायज्ञको शुभारम्भका अवसरमा बाजागाजा र कलश सहित शोभा यात्रा भएको छ ।

महायज्ञको मूल यजमान, विशेष कर्ता, भोजन खर्च, जलपान खर्च र यज्ञानुष्ठानका विभिन्न कार्यहरू गर्न गराउन चाहने लगायतका कुनै कार्यमा सहभागी हुनका लागि नगद वा जिन्सी सहयोग उपलब्ध गराउन सकिने छ । महायज्ञ आयोजक मूल समितिको खातामा रकम जम्मा गरेर वा सिधै समितिको कार्यालयमा रकम जम्मा गरी रसिद लिएर दान गर्न सकिनेछ ।

जिन्सी दानको लागि भूमि दान, अत्र दान, तुला दानको व्यवस्था गरिएको छ । धान्याञ्चलका लागि धान, गहुँ, मास, चामल, चिनी आदि साथै हवनका लागि जौ, तिल, घ्यू, समिधा आदि तथा पूजाका लागि चन्दन, फूल माला, शृङ्गार सामाग्री, धूप–बत्ती जस्ता सामाग्रीहरू उपलब्ध गराई सहयोग पुर्‍याउन सकिनेछ ।

महायज्ञ सम्पन्न गरिसकेपछि बचेको यज्ञ शेषबाट विन्ध्यावासिनीमंगलशैनी मन्दिर निमार्ण गर्दा भएको सम्पूर्ण हिसाबहरूलाई मिलान गर्ने र विन्ध्यवासिनी  गुरुकुल सञ्चालन सोको भवन र छात्रावास निर्माण, बहु–उद्देश्यीय सामुदायिक भवन, सत्सङ्ग भवन, सन्त निवास आदि निर्माण कार्यहरू सम्पन्न गरिनेछन् ।

पत्रकार सम्मेलनमा रामप्रसाद तिमल्सिना, उद्धवप्रसाद तिमल्सिना, हरिकृष्ण तिमल्सिना, कृष्णप्रसाद तिमल्सिना, भोला केसी लगायतले मन्तब्य राख्नु भएको थियो । उद्घाटन कार्यक्रममा समावेशी आयोगका सदस्य पुष्पराज तिमल्सिना, शिव शक्ति विद्या पिठका बद्रि लम्साल, तिमल्सिना समाजका अध्यक्ष केन्द्रीय विपुल तिमल्सिना, पूर्व अध्यक्षहरू, विन्ध्यवासिनी प्रतिष्ठानका सदस्य भोला केसी लगायतको सहभागिता रहेको थियो ।

सबै तस्बिर : मोतीराम तिमल्सिना

प्रतिक्रिया दिनुहोस्