स्टार्टअप एन्ड आइडिया फेस्ट हुने



काठमाडौं (नेस) ।

लिभिङ विथ आईसीटीले सातै प्रदेशमा इबिमाले मुख्य प्रायोजन गरेको ‘स्टार्टअप एन्ड आइडिया फेस्ट २०२२’ कार्यक्रम आयोजना गर्ने भएको छ । डिजिटल क्षेत्रमा क्रियाशील स्थानीय नवप्रवर्धकहरूलाई प्रवद्र्र्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउने उद्देश्यले सातै प्रदेशमा कार्यक्रम आयोजना गर्न लागेको छ । चैत १८ गते गण्डकी प्रदेशबाट शुरू हुने कार्यक्रम जेठ दास्रो साता वागमती प्रदेशमा समापन हुनेछ ।

पहिलो चरणमा पोखरापश्चात् चैत २३ गते बुटवल, चैत २७ गते वीरगन्ज र वैशाख २ गते विराटनगरमा कार्यक्रम आयोजना हुनेछ । दोस्रो चरणमा सुदूपश्चिम, कर्णाली र वागमतीमा कार्यक्रम आयोजना हुनेछ । कार्यक्रममा स्थानीय स्टार्टअप तथा विद्यार्थीहरूका इन्नोभेटिभ आइडिया तथा प्रोजेक्टहरूलाई प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ ।

सहभागिहरूले आफ्नो आइडिया वा प्रोजेक्टको बारेमा विज्ञ छनौट समितिको सहभागितामा प्रस्तुति दिनेछन् । यसै गरी उनिहरूले आईटी क्षेत्रका सफल स्थानीय तथा केन्द्रका उद्यमीहरूबाट मेन्टरिङ सेसनमा पनि सहभागी हुने अवसर प्राप्त गर्नेछन् । आयोजकले हरेक प्रदेशबाट उत्कृष्ट ५ स्टार्टअप तथा आइडिया छनौट गरी काठमाडौंमा विजनेस इन्क्युवेसनमा सहभागी गराउने जनाएको छ ।

छनौट भएका स्टार्टहरूले बैंकले उपलब्ध गराउने सहुलियतपूर्ण ऋण सुविधा र लगानीका लागि अवसर प्राप्त गर्नेछन् । स्टार्टअपहरूले आवश्यक प्रविधि, कानुनी सहायता र व्यपार प्रवद्र्धनको लागि निःशुल्क परामर्श तथा विभिन्न अवसरहरू प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । हरेक प्रदेशका उत्कृष्ट १ लाई आईसीटी अवार्ड २०२२ को ग्रान्ड फिनालेमा सम्मान पनि गरिने आयोजकले जनाएको छ ।

हरेक प्रदेशको कार्यक्रममा कम्तीमा ३० बढी स्टार्टअपहरूको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा प्रदेश सरकार, स्थानीय सरकार, निजी क्षेत्र र सरोकारवालाको उपस्थितिमा डिजिटल रूपान्तरणमा प्रदेश विषयमा विशेष अन्तक्रिया तथा डिजिटल संवाद कार्यक्रम पनि आयोजना हुनेछ । बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म विभिन्न सेसन र प्रदर्शनी कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ ।

स्टार्टअपहरूले निःशुल्क सहभागी हुने अवसर प्राप्त गर्नेछन् भने कार्यक्रममा अवलोकन तथा सहभागिताको लागि पनि प्रवेश निःशुल्क गरिएको छ । कार्यक्रममा इबिमा, राष्ट्रिय वाणिज्य बैंक, निमा एकेडेमी, सफ्टवेरिका कलेज, एसीसीए, ब्रोडवे इन्फोसिस, सीएसआइटी एसोसिएसनलगायतको सहकार्य तथा सहयोग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्