तीन दिने इस्ट टार्वल मार्ट सम्पन्न



धरान (नेस) ।

प्रदेश नं. १ का पर्यटन व्यवसायीहरूको व्यावसायिक विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत–बजारका टुर अपरेटरहरूसँग व्यावसायिक सम्बन्ध स्थापित गर्न नेपाल पर्यटन बोर्ड र धरान उपमहानगरपालिकाको आयोजनामा इस्ट टुरिजम मार्ट सम्पन्न भयो ।

राष्ट्रिय पर्यटनको पुनरुत्थानका लागि स्थानीय तथा प्रदेशस्तरमा पनि पर्यटन पुनरुत्थानको सम्भावना र प्रयासलाई अझ टेवा पुगोस् भन्ने उदेश्यले यी मार्टहरू आयोजना गरिएको हो । सन् २०१८ देखि नै धरानमा सफलतापूर्वक आयोजना गर्दै आइरहेको इस्ट टुरिजम मार्ट २०२२ यसको तेस्रो संस्करण हो । मुख्यमन्त्री राजेन्द्र कुमार राईले उक्त मार्टको उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन समारोहमा धरान उपमहानरपालिकाका मेयर तिलक राईले धरान र यस वरपरका क्षेत्रहरूको पर्यटन प्रवद्र्धनका लागि मार्टको आयोजना गरिएको र यस मार्टले प्रदेश नं. १ लाई आतिथ्यताको क्षेत्रमा थप स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालका लागि भारत सबैभन्दा ठूलो बजार भएकोले बोर्डले भारतीय सीमावर्ती शहरहरूलाई लक्षित गरी त्यहाँका टुर अपरेटहरूलाई मार्टमा आमन्त्रण गरेको बताउनुभयो ।

मार्टमा सहभागी हुन् भारतीय साइकल एसोसिएसनका करिब १५ जना साइकल यात्रीहरू विहारको पूर्णियाबाट धरानसम्म साइकल यात्रा गरी मार्टमा सहभागी भएका थिए ।पूर्वी नेपाल क्षेत्रको पर्यटन प्रवद्र्धन गरी भारतीय बजारमा बजारीकरण गर्न भारतीय सीमावर्ती शहर सिलिगुढी, सिक्किम, आसाम, पूर्णिया, दरभङ्गा, जोगबनीबाट करिब १ सय जना टुर अपरेटर र सञ्चारकर्मीहरूलाई मार्टमा सहभागी गराई स्थानीय टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरू बीच व्यावसायिक छलफल गराइएको थियो ।

आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सातै प्रदेशका पर्यटकीय आकर्षणहरू समावेश गरी स्टलहरू निर्माण गरिएका थिए भने स्थानीय टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरूले समेत स्टलमा सहभागी भई प्याकेजहरूको प्रवद्र्धन गरेका थिए । यसै गरी प्रदेश नं. १ का १४ वटै जिल्लाहरूको उक्त स्टलमा सहभागिता रहेको थियो ।
मार्टमा सहभागी भारतका टुर अपरेटर तथा मिडियाकर्मीहरूलाई मार्टको दोस्रो दिन धरान वरपरका धार्मिक गन्तव्यहरू अवलोकन गराइएको थियो । सोही दिन सेलर मार्ट कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

मार्टमा सहभागी पर्यटन व्यवसायीहरूबीच व्यवसायको प्रवद्र्धन तथा विस्तारको सम्बन्धमा अन्तरक्रिया तथा छलफल गराइएको थियो । उक्त कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले भारतीय टुर अपरेटहरूको परिचयात्मक भ्रमणबाट प्राप्त अनुभवको आधारमा भारतीय बजारमा यस क्षेत्रको भ्रमण प्याकेजहरू बिक्री गर्न सहज हुने धारणा राख्नुभएको थियो ।
उहाँले स्थानीय टुर अपरेटहरूले भारत लक्षित टुर प्याकेजहरू बनाई भारतीय अपरेटरहरूमार्फत् पर्यटकहरूलाई नेपाल भ्रमणमा ल्याउन पहल गर्नुपर्ने बताउनुभयो ।

साथै, भारतबाट सहभागी भएका टुर अपरेटरहरू र स्थानीय पर्यटन व्यवसायीहरू बीच व्यावसायिक अन्तरक्रिया गराई यस क्षेत्रका टुर प्याकेजहरूको बिक्री प्रवद्र्धन गरिएको थियो । आठ हजारमाथिका १४ हिम शिखरहरूको सफल आरोहण गर्न सफल हिमाल आरोही श्री मिङ्गमा शेर्पाले कार्यक्रमको दास्रो दिन आफ्ना अनुभव बताउनुभएको थियो ।मार्टको आयोजनाले कोभिडपछि शिथिल बनेको पर्यटन क्षेत्र तथा व्यवसायमा सकारात्मक ऊर्जा प्रवाह गराउँदै स्थानीय पर्यटकीय गन्तव्य तथा गतिविधिहरूको प्रचार प्रचार हुन गई यस क्षेत्रमा पर्यटक आगमन संख्या बढ्न जाने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्