पोखरामा विज्ञापन करको आतंक



कास्की (नेस) ।

पोखरामा रहेका व्यावसायिक प्रतिष्ठानहरू अहिले एउटा सूचनाले त्रसित र आक्रोशित बनेका छन् । त्यो हो विज्ञापन करको लागि थमाइएको पत्र । पत्रमा हरेक पसलहरूले टाँसेको १० वर्ग फुटभन्दा माथिको शुल्क लाग्ने उल्लेख गरिएको छ । पोखरा महानगरसँग होर्डिङ बोर्डको ठेक्का लिएको साइन हव प्रालिले पठाएको पत्रबाट व्यवसायीहरू आक्रोशित बनेका छन् ।

राज्यका निकाय र महानगरपालिकालाई व्यवसायसहित अन्य कर तिरेर सञ्चालन गरिरहेको व्यवसायको प्रचार गर्न पाउनुपर्ने उनीहरूको जिकिर छ । तर, आर्थिक वर्ष २०७८/०८९ को लागि १ करोड ५ लाखमा विज्ञापन करको ठेक्का लिएको सो कम्पनीले दावी छाडेको छैन । व्यवसायीहरूलाई कर तिर्न ताकेता गरिएपछि छाता संस्था पोखरा उद्योग वाणिज्य संघले आपत्ति जनाएको छ । संघले महानगरको सहमतिमा भएको यो ज्यादतिलाई ‘स्वेत आतंक’को संज्ञा दिएको छ ।

पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छेले विज्ञापन करको नाममा मच्चाइएको आतंक बन्द गर्नुपर्ने बताउनुभएको छ । ‘व्यवसायीहरूले व्यवसाय चिनारीको लागि राखिने बोर्डहरू विज्ञापन हैनन् । नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भई, दर्ता शुल्क, आयकर,व्यवसाय करसहितका सबै कर तथा मूल्य अभिवृद्धि कर संकलन गर्दै राज्यलाई भुक्तान गर्दै आएका व्यवसायीहरूको सार्वभौम अधिकार हो’, संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ – ‘कानूनले दोहोरो कर बर्जित गरेको छ ।’

व्यवसाय कर पनि तिर्ने र त्यही व्यवसायको चिनारीको खातिर राखिएको बोर्डको कर पनि तिर्नुपर्छ भन्नु कानुनको उलंघनमात्रै हैन, व्यवसायीहरूको सार्वभौम अधिकारमाथिको आक्रमण एवं स्वतन्त्रतापूर्वक व्यवसाय गर्न पाउने संवैधानिक अधिकारमाथिको धावा भएको संघले उल्लेख गरेको छ । संघको विज्ञप्तिमा पोखरा नगरमा थुप्रिएको फोहरको तत्काल व्यवस्थापन गर्न महानगरको ध्यानकर्षण गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्