मेगा बैंकले जित्यो एकैसाथ दुई अन्तर्राष्ट्रिय अवार्ड



काठमाडौं (नेस) ।

मेगा बैंक नेपाल लिमिटेडले एकैसाथ दुई वटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । मेगा बैंकले ‘बेस्ट सीएसआर कमर्सियल बैंक नेपाल अवार्ड २०२२’ र मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले ‘वुमन बैंकिङ सीईओ अफ दि एयर अवार्ड, २०२२’ जित्नु भएको हो । सिंगापुरस्थित वर्ल्ड बिजनेस आउटलुकका अनुसार, सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत नेपालको विभिन्न सामाजिक क्षेत्रमा मेगा बैंकले उत्कृष्ट योगदान गरेबापत ‘बेस्ट सीएसआर कमर्सियल बैंक नेपाल अवार्ड, २०२२’ प्रदान गरिएको हो ।

स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्व वहनलाई समुदायमा बैंक र यसको सोचलाई स्थापित गराउँदै आएको मेगा बैंकले गत आर्थिक वर्ष १ करोड ३५ लाख कोभिडको रोकथाम तथा उपचारका निमित्त राष्ट्रिय तथा प्रादेशिक कोषहरूमा उपलब्ध गराएको थियो भने यस वर्ष संघीय, प्रादेशिक वा पालिकास्तरीय अस्पतालहरूको आकस्मिक कक्ष तथा बालकक्षको सुधार उपचारार्थ खर्च गर्ने नीति लिएको छ ।

शिक्षामा बालिकाहरूको पहँुचलाई स्थापित गर्दै महिला सशक्तिकरणमा टेवा पुर्याउन र मेगा बैंकमै रोजगारीको अवसर सिर्जना गर्न बैंकले ‘एक शाखा दुई छोरी’ कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयहरूमा कक्षा १ देखि १२ सम्म अध्ययनरत ३९० जना छात्राहरूलाई वार्षिक रूपमा ४३ लाख रकम बराबरको छात्रवृति उपलब्ध गराएको छ ।
यो छात्रवृतिले शाखा सञ्चालित वडा–पालिकामा मेगा बैंकलाई जनताको बैंकको रूपमा स्थापित गरेको छ भने मेगा बैंकले ‘बैंक अफ दि इयर २०१९’ नामक अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दा प्रमुख आधारशिला बनेको थियो ।

यसै गरी, नेपालको ‘क’ वर्गको वाणिज्य बैंकको प्रथम महिला सीईओको इतिहास बनाउनुभएकी सीईओ अनुपमा खुञ्जेलीलाई मेगा बैंकको सफल नेतृत्व गरी नेपालको बैंकिङ क्षेत्रमा अतुलनीय योगदान गरेबापत ‘वुमन बैंकिङ सीईओ अफ दि एयर अवार्ड, २०२२’ प्रदान गरिएको वल्र्ड बिजनेस आउटलुकले जनाएको छ ।

नेपालबाट यो अवार्ड जित्ने मेगा बैंक र सीईओ खुञ्जेली मात्रै हुनुहुन्छ । सीईओ खुञ्जेलीले यसैवर्ष ‘बेस्ट फिमेल अवार्ड २०२१’ पनि प्राप्त गर्नुभएको थियो । उहाँकै नेतृत्वमा मेगा बैंकले प्रतिष्ठित ‘बैंक अफ दि एयर अवार्ड २०१९’ समेत प्राप्त गर्न सफल भएको थियो । उहाँ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत हुनुहुन्छ । सन् १९९१ मा तत्कालीन ग्रिनलेज बैंक अर्थात् अहिलेको स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट करिअर गर्नुभएकी खुञ्जेलीसँग ३० वर्षको बैंकिङ क्षेत्रको अनुभव छ ।

अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेपछि सीईओ खुञ्जेलीले गौरवान्वित महसुस गरेको बताउनुभयो । यसको श्रेय मेगा बैंकका संस्थापक, सर्वसाधारण सेयरधनी, ग्राहकवर्गहरू, कर्मचारी एवं समस्त सरोकारवालाहरूमा जाने सीईओ खुञ्जेलीले बताउनुभयो । २०४ वटा शाखा सञ्जाल रहेको मेगा बैंक स्थापनाको एक दशकमै नेपालको स्थापित बैंकको रूपमा अग्रपंक्तिमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्